हटाउनै पर्ने केही भ्रमहरु

शोभाकर पराजुली, प्रकाशित मिति : २०७४ पौष १७ सोमबार , २,४२७ पटक हेरिएको

काठमाडौं । मानव समाज केही अपवाद बाहेक वा समग्र रूपमा भन्नुपर्दा हर क्षण विकसित, सुसंस्कृत र परिष्कृत हुँदै गएको छ । मानव जातिको विकास क्रममा भएका सकारात्मक अनुभवहरूको अनुकरण र अनुशरण तथा संस्कृतिकरण र अनुपयोगी क्रियाकलापको छोडाईले नै मानव समाजलाई विकासको यो चरणमा ल्याउन सकेको हो ।

मानिसहरू समाजवादको विकास कहिले भयो ? भन्ने विषयमा र तिथि मिति तथा अभियन्ताको बारेमा बहस गर्ने गर्छन् । यो बहसलाई सापेक्षिक रूपमा महत्वपूर्ण मान्न सकिन्छ । मानव विकासको क्रममा एकले अर्कोलाई सहयोग गर्ने अवस्था क्रमिक रूपमा विकसित र परिष्कृत हुँदै गएको हो । एउटा बथानको वन मान्छेले शिकार भेट्टाउँदा आफूले अघाईञ्जेल खाएर बाँकी रहेको मात्र उसका समूहका मानिसहरूलाई ल्याइदिन्थ्यो भने पछि आफूले नखाई समूहमा नै ल्याएर बाँडी खाने प्रवृत्ति बढ्यो । त्यसलाई पनि समाजवादको विकास नै मान्नुपर्छ । समाजवादलाई विभिन्न व्यक्तिहरूले विभिन्न किसिमले परिभाषित गरे पनि आफू मात्र होइन अरु पनि आफू जस्तै हुन् भन्ने चेतनाको क्रमिक विकास भन्नु नै मानव विकासको क्रम हो र समाजवादको पनि विकास क्रम हो । मानव, मानव विकासक्रम, मानवता, समाज र सामाजिकता तथा समाजवाद एक अर्कामा पुरक हुन्, फरक विषय वस्तु होइनन् ।
 
समाजवादलाई साम्यवादभन्दा पहिलाको चरण, समाजलाई ध्यान दिएर गरिनु पर्ने क्रियाकलापको नाम आदि रूपमा परिभाषित गरिएको पाइन्छ । ती परिभाषाहरूले आ–आफ्नो समयका विकास क्रमका विचारको र सामाजिक परिस्थितिको आधारमा आफ्नै तर्कले एक प्रकारको निष्कर्ष दिने प्रयास गरेका छन् । ती विचारहरू मानव समाजका अमूल्य निधि हुन् तर समाजको हित र मानवीय समानताको प्रयास मानव जातिको विकास सँगसँगै भएको हो । समाजवादको नाउँसम्म कसले दियो ? क–कसले परिभाषा दिए ? ती सबै विचारहरू समाज विकास क्रममा प्राप्त भएका अनुभव, संस्कार, संस्कृति, सम्पर्क र आफ्ना अनुभवका आधारमा गरिएका निष्कर्ष नै हुन् । ती निष्कर्षहरूको महत्व छ तर अन्तिम भने होइन । तसर्थ समाज विकासको क्रममा निष्कर्षहरू बदलिनु अस्वभाविक हुँदैन ।

आदिम साम्यवादबाट दासयुग, सामन्तवाद युग, पूँजीवाद, समाजवाद, साम्यवाद आदिका व्याख्या गरिए पनि मानव समाजमा अहिले पनि जंगलमा बस्ने जाति छ । दासता अहिले पनि कतिपय ठाउँमा कायम छन् । सामन्ति युग त अविकसित देशहरूमा स्पष्ट नै देख्न सकिन्छ । रुस कथित समाजवादमा विकसित भै साम्यवादलाई छुनै लागेको भनिएको समय पुनः पूँजीवादको मध्यम चरण देखिएको छ । चीन साम्यवादबाट पूँजीवादमा फर्केको छ । यसप्रकार समाजलाई समयको अवधि बनाएर परिभाषित गर्नु अत्यन्तै कठिन कार्य र अस्वभाविक कार्य पनि हो ।

 समाज विकासक्रममा जुन प्रकारका विचार र दर्शनहरू आए ती कहींबाट झरेर आएका मानवहरूका विचार थिएनन् । बरु मानव समाजकै विकास क्रमबाट त्यस समयसम्म खारिएका, अनुभव प्राप्त भएका र अनुभवका आधारमा प्रकटित प्रतिक्रियासम्म मात्र हुन् । यसको अर्थ समाज विकास क्रममा योगदान दिने व्यक्तित्वहरूको योगदानको महत्व छैन भन्न खोजिएको पनि होइन । बरु स्वभाविक रूपमा त्यसलाई स्वीकार गरेर समय अनुसार परिष्कारको लागि तयार हुनुपर्छ भन्न खोजिएको हो ।

आर्थिक सन्दर्भमा हेर्दा समाजवादको परिभाषामा पनि बारम्बार द्धिविधा देखिने गरेको पाइन्छ । समाजवाद मिश्रित अर्थतन्त्रमा आधारित आर्थिक प्रणालीको नाउँ हो, समाजवाद भनेको पूँजीवादको विकासपछिको अवस्था हो आदि भन्ने गरेको पाइन्छ । समाजवादका यी परिभाषाहरू अझै आर्थिक प्रणालीमा केन्द्रित भएको देखिन्छ । समाजवादको परिभाषा मूलभूत रूपमा मानवहितलाई केन्द्रित बनाएर गरिनुपर्छ ।

त्यस्तै, मानिसहरू समाजवाद र समाजवादी देशको संख्या गणना सम्बन्धमा पनि बारम्बार भ्रम पाल्न पुगेको देखिन्छन् । केही राजनीतिज्ञहरूको भनाईमा कम्युनिष्ट देश भएको हुँदा चीन उत्तर कोरिया, क्युबा आदि देशहरू स्वतः समाजवादी भए चाहे ती देशका धनी र गरीबबीचको फरक जापान आदि देशका भन्दा पनि बढी नै किन नहोस् । समाजवादको परिभाषा साइनबोर्डमुखी परिभाषामा केन्द्रित हुनु हुँदैन ।

अंग्रेजी उखानले संकेत गरे जस्तै किताबको गातोले किताबभित्र रहेको विचारको मूल्याङ्कन गरिनु हुँदैन भन्ने भनाई यस सन्दर्भमा मननीय हुनुपर्छ । श्रीलंकाले संविधानमा नै समाजवादी देश भन्ने उल्लेख गरेको छ । कतिपय पश्चिमी राष्ट्रहरूले आफूलाई समाजवादी राष्ट्र घोषणा नगरे पनि धनी र गरीब बीचको अन्तरलाई समाजवादी घोषणा गरेका राष्ट्रले भन्दा धेरै कम बनाएका छन् । अब प्रश्न उठ्छ– समाजवाद नाउँ र घोषणाको कुरा हो कि व्यवहारको विषय हो ? तसर्थ समाजवाद शब्द आफैंमा त्यति महत्वपूर्ण होइन जति समाजमा समानता हुनु महत्वपूर्ण कुरा हो ।
व्यवहारिक कसीमा कुन देश कुन पार्टी समाजवादी हो भन्ने छुट्याउन सक्ने हेराई आवश्यकता छ । त्यसका लागि केही निश्चित आधारहरूको पहिचान हुन जरुरी छ ।

पूर्ण समानता दुनियाँमा सम्भव छैन भन्ने गरिन्छ तापनी राजतीतिज्ञहरूले यसमा विश्वास गर्नु स्वभाविक हुँदैन । हजारौं वर्षपछि नै किन नहोस् मानिसको जेनेटिककै अध्ययन गरेर पूर्ण स्वस्थ बच्चा जन्माउन सक्ने वैज्ञानिक प्रगति हासिल हुन सक्यो भने जन्मजात असमानलाई कसरी पूर्ण समान बनाउने ? भन्ने प्रश्नलाई पनि अनुसन्धानको माध्यमबाट वैज्ञानिकहरूले गर्ने खोजलाई राजनीतिज्ञहरूले समाजमा लागू गरेर उत्तर दिनेछन् भन्नेसम्म पनि सोच्नुपर्छ । पृथ्वीमा पूर्ण समानता सम्भव छ । त्यसलाई व्यवहारमा लागू गर्ने भनेको राजनीतिज्ञहरूले नै हुन् । यो कुनै पुस्ताका राजनीतिज्ञले पूरा गर्लान् । हाम्रो पुस्ताले वर्तमान अवस्थामा सम्भव भएसम्मका समानता दिनुपर्छ । त्यसका लागि प्रयासरत् रहनुपर्छ । एक समाजवादीको सोच यही हुनुपर्छ ।

समाजवाद सस्तो लोकप्रियताको कुरा पनि होइन । यो त समाज विकासको लागि समाज विकासकै क्रममा मानवीय आवश्यता हो । राजनैतिक दलहरू एकतर्फी रूपमा आम्दानीका स्रोतहरू नबढाइकन वितरणका सस्ता नाराहरू दिएर जनतालाई गुमराहपूर्ण रूपमा खुशी बनाई सत्तामा जाने मार्ग प्रशस्त गर्छन् । विकास विनाको समानता कुरूप समानता हो । इमान्दारीपूर्वक भन्ने हो र त्यसलाई व्यवहारमा सकारात्मक रूपले लैजाने हो भने मट्टितेलमा जनतालाई सब्सीडी दिनुभन्दा विद्युत् उत्पादनमा खर्च बढाएर सस्तो विद्युत् दिनु उपयुक्त हुन्छ ।

गरीबका बच्चालाई निःशुल्क दूध वितरण गर्नुभन्दा विना व्याजमा वा सस्तो ब्याजमा गाई किनिदिनु उपयुक्त हुन्छ, गाई पाल्ने आधुनिक प्रविधि समेत सिकाउनु उत्तम हुन्छ । किनभने यसले उत्पादन बढाउँछ । मानिसलाई परिश्रमी बनाउँछ । उपल्लो किसिमका वितरणका समानता र आत्मनिर्भरताको उदाहरण यहींबाट शुरु हुन सक्छ । यसरी समाजवाद भनेको विकास र उत्पादनको अधिकतालाई महत्व दिँदै वितरणको समानताको तालमेलको अवस्था हो भन्दा अत्युक्ति हुने छैन ।
 
समाजवादलाई आर्थिक रूपमा परिभाषित गरिए पनि यसका सांस्कृतिक, सामाजिक, धार्मिक, राजनीतिक समेतका पक्षहरू पनि महत्वपूर्ण छन् । यद्यपि आर्थिक विकास समाजवादको लागि प्रमुख मेरुदण्ड हो । यसले अन्य समानताका आधारहरू लोकतन्त्रको सदुपयोगको माध्यमबाट प्रशस्त गर्छ । हुनत आर्थिक सम्पन्नतामा आधारित समानताबाट जनता आफैं पनि अन्य पक्षको विकास गर्न सक्छन् । तैपनि राज्यले आफ्नै प्रकारको भूमिका निभाउनु पर्ने हुन्छ ।

मानिसले आफूलाई ऐतिहासिक रूपमा, संरचनात्मक रूपमा तथा आवश्यकताको आधारमा समेत एक अर्काका पुरक भएको तथा समान भएको एवं मानवहरू एक हुन् भन्ने भावना विकसित भएको सोच्न सक्ने बन्नु समाजवादको अर्को महत्वपूर्ण खुट्किला हो । मानव विकासको शुरुमा एउटै झुण्ड विकसित हुँदै अफ्रिकाबाट विश्वका अन्य भागमा छरिँदै गएको तथ्य वैज्ञानिकहरूले अगाडि ल्याइरहेका छन् । एउटै पुर्खाबाट विकसित भएको मानव जाति विभिन्न जलवायु, भूमि, खानपिन, रहनसहन र परिस्थितिले अलग अलग ठाउँमा अझ विकसित हुँदै गयो ।

 विज्ञानको विकास नभएको हुँदा संचार हुन सकेन । त्यसकारण अलग अलग भाषा, संस्कृति तथा आवश्यकता र प्राप्यताको आधारमा खानपान, भेषभुषा र परम्पराको विकास भयो । अहिलेको जस्तो शुरुमै संचार समेतका वैज्ञानिक उपलब्धिहरूको प्राचुर्यता भैदिएको भए दु्नियाँमा अलग भाषा, संस्कृति र परम्परा हुने नै थिएन । संभवतः धार्मिक विविधता समेत धेरै हदसम्म कम हुने थियो । तसर्थ हाम्रा कतिपय विविधता अविकसित अवस्थाका परिणाम हुन् । हामी मावन एउटै हौं भन्ने भावनाको विकास हुनैपर्छ ।

संयोगको कुरा नै भनौं– मानिसका लागि सबैभन्दा महत्वपूर्ण शब्द आमा, माँ, मदर वा त्यस्तै शब्द अहिलेसम्म पनि प्राय सबै भाषिक समूहले बुझ्ने गरी कुनै न कुनै प्रकारले कायम छन् । यस्ता अरु पनि थुप्रै उदाहरणले मानव जातिको विकास एकै ठाउँबाट भएको हो भन्ने देखिएको छ । एकै ठाउँमा विकास भएर पछि विविधता हुन पुगेको प्रमाणित भैसकेपछि र यो यथार्थ बुझिसकेपछि एक जातले अर्को जात, परम्परा, भाषा भएकोलाई आफ्नो मान्नु नपर्ने कारण मानसिक र शारिरीक रूपमा समेत छँदैछैन ।

 अविकसित अवस्थामा भएको विविधतालाई विकसित भैसकेपछि भ्रमको रूपमा लिनुभन्दा स्वभाविक मान्दै सबै संस्कृति, परम्परा, भाषा आदि हामी मानव जातिकै हुन् । सबै आफ्नै हुन् । उपयुक्तलाई समावेशीकरण गर्दै जानुपर्छ । अनुपयुक्तलाई हटाउँदै जानुपर्छ । मानव जातिमा एकताको विन्दुहरू खोज्दै जानका लागि यो एक उदाहरण हो । एकताका विन्दूले मानसिक रूपमा मानिसलाई विश्व मानवको बाटोतिर लग्छ । यो समाजवादको अन्तिम लक्ष्य हो र शुरुवात पनि हो । जसले गर्दा मानिसमा शुरुदेखि नै मानवीयताको संस्कार अगाडि बढ्छ ।

समाजवादीहरू राष्ट्रवादी पनि हुन् । उनीहरू एक राष्ट्रले अर्को राष्ट्रलाई थिचोमिचो गरेको, असमान व्यवहार गरेको जस्ता कार्यलाई स्वीकार गर्दैनन् । किनभने यो व्यवहारले अन्ततोगत्वा एक मानवले अर्को मानवप्रति राजनैतिक, भाषिक, सामाजिक, आर्थिक समेत कुनै न कुनै रूपमा अन्याय गरेकै हुन्छ । अर्को राष्ट्रले गरेको र गर्ने नकारात्मक व्यवहारका विरुद्धमा समाजवादीहरू घोर राष्ट्रवादी हुन् भने मानवीय समानता, एकता, भाइचाराको लागि विश्व मानवको भावना बोकेका सचेत र क्रियाशील समूह हुन् ।

समाजवादीहरूले आफ्ना मूलभूत धारणाहरूमा स्पष्ट ऐक्यवद्धता कायम गर्नैपर्छ । समाजवाद जसरी एक आर्थिक प्रणालीको नाउँ होइन बरु आर्थिक समेतका सुझबुझपूर्ण समानताको नाउँ हो, त्यसैगरी यो कुनै एक राजनैतिक प्रणालीको नाउँ पनि होइन बरु कुनै पनि राजनीतिक प्रणाली यो विचारको सहयोगी बन्छ भने समाजवादको सहयात्री हो । कुनै पनि राजनीतिक प्रणालीले तार्किक र व्यवहारिक रूपमा मानव समाजको उच्चतम् हितको प्रत्याभूति गर्न सक्छ र त्यसलाई सुरक्षित बनाउन सक्छ भने यो राजनैतिक प्रणाली समाजवादीहरूका लागि स्वभाविक हुन जान्छ ।
 
समाजवाद कुनै राजनैतिक दलको लक्ष्य तथा आदर्श हुन सक्छ । त्यही देशमा त्यस्ता समाजवादी दल धेरै हुन सक्छन् । लेनिनले भने जस्तै एक देशमा एउटा मात्र सच्चा कम्युनिष्ट पार्टी हुन्छ भन्ने मान्यता उपयुक्त छैन । प्रतिस्पर्धाले जसरी खेलमा खेलाडीलाई अझ बढी जागरुक र प्रतिष्पर्धी बनाउँछ त्यसरी नै एकै देशमा धेरै समाजवादी दलहरू भएमा विवेकपूर्ण जनहितकारी समानतापूर्ण व्यवहारका लागि, उत्पादन बढाएर वितरण बढाउनका लागि, विकासबाट सकेसम्म बढी जनसुविधा दिनका लागि, कल्याणकारी कामहरूका लागि तथा व्यवहारिक इमान्दारिताका लागि हुने प्रतिष्पर्धाले समाजवादलाई अझ बढी प्रभावकारी रूपमा अगाडि बढाउन सहयोग पुग्छ । एकदलीय व्यवस्थामा समाजवाद छ भन्नु खसी पसलको साइनबोर्ड लगाएर कुकुरको मासु बेच्नु जस्तै हो ।

रुसका कम्युनिष्ट मित्रहरूका बारेमा बारम्बार भन्ने गरिन्छ– अमेरिकी सि.आई.ए.ले त्यहाँको कम्युनिष्ट पार्टी र के.जी.बी.लाई किन्यो । अमेरिकाबाट सुरक्षित गर्न नसक्ने वा त्यस्तो सुरक्षा दिन नसक्ने संयन्त्रवाला व्यवस्था कस्तो हो ? त्यस्तै त्यसपछिको चुनावमा शतप्रतिशत कम्युनिष्टहरू भएको देशमा असी प्रतिशतले मात्र कम्युनिष्ट पार्टीलाई मत दिनुबाट के अमेरिकाले किन्नैपर्छ र ? भन्ने देखाएको छ । लाग्छ– कम्युनिष्ट व्यवस्था आउनुभन्दा पहिला लेनिनको समयमा जति कम्युनिष्टहरू थिए त्यति प्रतिशत कम्युनिष्टहरू गोर्वाचोभका पालामा बाँकी रहेनछन् ।

 कम्युनिष्टहरू सस्ता र लोकप्रिय नारा दिएर, अधिकांश जनतालाई भ्रममा पारेर सत्तामा जान्छन् । सत्तामा पुगेपछि जनतालाई दास र आफूलाई मालिकको रूपमा स्थापित गर्छन् । मानिस स्वार्थी हुन्छ र उसको विरोध गर्ने वातावरण नभएपछि आफ्नै स्वार्थमा सत्ता टिकाउन सिद्धान्तका कथित नारा दिएर लिप्त रहिरहन्छन् । चाउचेस्कु, पोलपोट आदि कम्युनिष्ट नेताहरू तथा दादा इदी अमिन, बोकासो, सद्दाम हुसेन आदि त्यसैका उदाहरणहरू हुन् । अचम्म लाग्छ– अमिन, बोकासो र सद्दाम हुसैनहरूले आफ्नो पार्टीको नाउँमा ‘कम्युनिष्ट’ शब्द किन जोडेनन् होला ?
सँगै एउटा सत्य स्वीकार गर्नैपर्छ– त्यो हो, लोकतान्त्रिक परिपाटीमा राम्रो काम गर्न सकिएन भने सस्ता नारा दिनेहरूप्रति जनताको झुकाव बढ्न सक्छ ।

 लोकतन्त्रमा नेताले बेइमानी गर्नु भनेको मैदानमा बस्नेले सिसाको घरभित्र बस्नेलाई ढुंगाले हाने जस्तै हो, जसले गर्दा सिसाको घरभित्र बस्नेले झन सजिलैसँग मैदानमा बस्नेलाई सजाय गर्न सक्छ । लोकतान्त्रिक परिपाटीमा भएका नितान्त ठूला गल्तिहरूले इमान्दारहरूलाई पनि लोकतान्त्रिक संस्कृतिको गहन अध्ययन नहुँदा व्यवस्था नै खराब हो कि भन्ने भ्रम हुन सक्छ र उनीहरू अन्ततोगत्वा विध्वंसको बाटोमा पनि जान सक्छन् ।

सबै प्रकारका इमान्दारहरूले बुझ्नैपर्छ– लोकतन्त्रमा भएको बेइमानी लोकतान्त्रिक चरित्रको उपज होइन । बेइमानी गर्न त लोकतन्त्रमा भन्दा एकदलीय तानाशाही व्यवस्थामा धेरै सजिलो हुन्छ । प्रजातान्तिक परिपाटीलाई प्रणालीको रूपमा स्वीकारसम्म गरेका वास्तवमा अप्रजातान्तिक चरित्र भएका व्यक्तिहरू मात्रै भ्रष्ट, बेइमान र पदलोलुप हुन्छन् ।

सम्बन्धित समाचार

नयाँ