arrow

‘पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्ट’

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
MRP-Nepali-Passport.jpg.jpeg

काठमाडौँ । राहदानी विभागले पासपोर्ट दुरुपयोग रोक्न ई–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालेको छ । नक्कली नागरिकता बनाएर त्यसकै आधारमा पासपोर्ट बनाउने गरिएको गुनासो आउने गरेकाले दूरुपयोगको आशंकामा इ–पासपोर्टमा जानुपर्ने निष्कर्ष निकालिएको हो ।


खासगरी नेपाल बाहिरबाट आउने आबेदनमा दुरुपयोग वा गलत भएको आशंका हुने गरेको छ । एमआरपीबाट मात्रै दूरुपयोग रोक्न सम्भव नभएको विभागले जनाएको छ । 

विभिन्न १० मुलुक र राहदानी विभागमा लाइभ इनरोलमेन्ट (आफैं उपस्थित भएर अनलाइनमा फर्म भर्ने) चलाएको भए पनि त्यो उत्साहजनक उपयोगमा नआएको विभागका अधिकारीले बताए ।

एमआरपीलाई ई–पासपोर्टमा लैजाने तयारीस्वरुप सरकारले दुई बर्षअघि नै लाइभ इनरोलमेन्ट प्रक्रिया अघि बढाएको हो । सहजताका लागि अझै पनि आवेदन फारम बुझ्ने गरिएको छ । 

जनताको सुविधा हेरिएको बताइए पनि यो जिम्मेवारीबाट पन्छिने कार्य भैरहेको एक अधिकारीले बताए । एमआरपी छपाई गरिरहेको फ्रान्सेली कम्पनी ओभरथरले नै लाइभ इनरोलमेन्टका लागि प्रविधि उपलब्ध गराएको छ । 

ई–पासपोर्टको संरचना हुने गरि त्यो प्रक्रिया मिलाइएको भए पनि अहिले त्यो उत्साहजनक भने हुन नसकेको अधिकारीहरु नै बताउछन् । हस्तलिखित राहदानीलाई पूर्ण रुपमा विस्थापित गरिसकेको राहदानी विभाग पासपोर्टको चापमा छैन । 

अव यस्तै सुरक्षाका विशेषता थप्दै आफ्नो मुलुकको पासपोर्टलाई बलियो र गर्विलो बनाउने तर्फ लाग्नुपर्ने सुझाव परराष्ट्रका अधिकारीहरुको छ । 

दैनिक सात हजारसम्म पासपोर्ट छापेको विभागले अहिले दैनिक बढिमा दुई हजार सात सयमात्र छाप्ने गरेको छ । यो छपाई कहिलेकाहीं निकै घटेको तथ्यांक पनि छ ।

वैदेशिक रोजगारीमा गएका केही नेपालीसँग अझै पनि हस्तलिखित पासपोर्ट भए पनि फर्कने क्रममा उनीहरुले एमआरपी बनाएका हुन्छन् । मलेसिया, साउदी अरबको रियाद र जेद्दा, युनाईटेट अरब इमिरेट्स, कुवेत, कतार, हङकङ, अमेरिका (डिसी र न्युयोर्क), बेलायतमा ‘लाइभ–इनरोलमेन्ट’ छ । 

तर, ती दूतावासहरुले लाइभ इनरोलमेन्टभन्दा बाहिरबाट पनि फारम पठाइरहेका छन् । दुरी र असुविधाको कारण देखाएर त्यसरी राहदानी बनाउदा गलत ब्यक्तिले पनि त्यस्तो राहदानी लगेको हुनसक्ने आशंका राहदानी बिभागको छ ।

 ‘राहदानीका लागि आवेदन फारम सम्वन्धित ब्यक्तिले नै बुझाउन आउनुपर्छ । हुलाकबाट पठाउदा गलत ब्यक्तिले पठाउन सक्ने सम्भावना रहन्छ । 

यसमा दूतावास सचेत हुन जरुरी छ । टाढा रहेका छन भने सूचना जारी गरेर विभिन्न स्थानमा मोवाइल पासपोर्ट आवेदनको लाइभ इनरोलमेन्ट समेत राख्न सक्ने उपकरण हरेक दूतावासलाई उपलब्ध गराइएको छ ।

कतिपय राहदानीको आवेदन एउटै नागरिकताबाट दोहोरिएर आएकाले त्यसबारे अध्ययनसमेत भइरहेको एक अधिकारीले बताए । पासपोर्ट बनेर पुगिसकेको अवस्थामा यस्ता अध्ययनको कुनै अर्थ नराख्ने भन्दै आगामी दिनका लागि सतर्कताका लागि सुझाउने बाहेकको काम हुन सकेको छैन ।

 ‘हो, पासपोर्टलाई साच्चै विश्वासिलो बनाउने हो भने लाइभ इनरोलमेन्ट नै काफी छ । तर सत प्रतिशत लाइभ इनरोलमेन्ट नहुदा आशंका पनि ब्याप्त छ,’ ती अधिकारीले भने । ‘लाइभ इनरोलमेन्ट भएका स्थानबाट अन्य तवरबाट आउने आबेदनलाई थप ‘भेरीफाई’ गरिरका छौं, तर, पनि हाम्रो आधार आवेदन र नागरिकता नै हो,’ राहदानी विभागका महानिर्देशक रामकाजी खडकाले भने, ‘हामी ई–पासपोर्टमा गयौं भने अनिवार्य लाइभ इनरोलमेन्ट र रेटिना रहन्छ । 

जसले गर्दा ब्यक्ति उपस्थित हुनैपर्छ ।’ राहदानी विभागले ई–पासपोर्टका लागि गृहकार्य गरिरहेको उल्लेख गर्दै उनले भने, ‘ई–पासपोर्ट भएपछि यस्ता आशंका मेटिनेछन् ।’ उनले ई–पासपोर्टमा गए पासपोर्ट दुरुपयोग शुन्यमा झर्ने पनि दाबी गरे ।

अन्तराष्ट्रिय नागरिक उड्यान संगठन आइकाओ ले हस्तलिखित राहदानी अस्विकार गरे पनि ई–पासपोर्ट अनिबार्य गरेको छैन । इ–पासपोर्ट हुनेहरुका लागि अन्तराष्ट्रिय विमानस्थलमा छुट्टै प्रवेशद्वारहरु राखिएका हुन्छन् । 

ई–पासपोर्टमा आँखाको रेटिनाको संकेतलगायतका सुरक्षा फिचर हुने भएकाले यसको प्रयोग फरक ब्यक्तिले गर्ने संभावना न्यून हुन्छ । यसका लागि सुरक्षायूक्त चिप्स राखिएको हुन्छ । यसप्रकारको राहदानीको एक पृष्ठ बैंकमा प्रयोग हुने एटिएम कार्डजस्तै हुन्छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ