arrow

गणेश थापाले हराउन खोजेका केसी बने फुटबल संघको अध्यक्ष

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष १८ मंगलबार
ganesh.png

बुटवल।  रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी (कुमार) विजयी भएका छन् । उनले अर्का प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गरे । रुपन्देहीका २० मध्ये १९ क्लबले चुनावमा भाग लिएका थिए । खसेको १९ मध्ये १४ मत प्राप्त गरी केसी दोश्रो कार्यकालका लागि अध्यक्षमा विजयी भएका हुन् ।

भ्रष्टाचारको आरोपमा अन्तर्रा्ष्ट्रिय फुटबल महासंघ फिफाबाट प्रतिबन्धमा परेका एन्फाका पूर्व अध्यक्ष गणेश थापा केसीलाई हराउने अभियानमा थिए । तर उनको आग्रहलाई अस्वीकार गर्दै रुपन्देहीका क्लबहरुले केसीलाई नै अध्यक्षमा जिताएका हुन्  । फुटबलमा प्रतिबन्धमा परे पनि आफ्नो पक्षमा लबिङ थालेको भन्दै फुटबल क्षेत्रकै व्यक्तिहरु थापाप्रति आक्रोशित थिए ।

थापाले एन्फामा रहँदा आर्थिक हिनामिन गरेको भन्दै एन्फाका पूर्वउपध्यक्ष कर्मा्छिरिङ शेर्पाले सुरु गरेको शुद्धीकरण अभियानलाई साथ दिएका कारण थापा केसीलाई हराउने योजनामा थिए । एन्फाले माघ ५ गतेसम्म चुनाव गर्न ४५ वटा जिल्लाका संघलाई निर्देशन दिएको थियो । जस अनुसार चुनाव भएको रुपन्देही नवौं जिल्ला हो । जिल्ला अधिवेशन सकिएपछि चैत १४ गते एन्फाको चुनाव हुनेछ ।

सोमबार राती भएको चुनावबाट संघको उपाध्यक्षमा भुपेन्द्रबहादुर क्षेत्री (हरि ) मुकेह कुँवर र खेमराज गुरुङ विजयी भए । सदस्यहरुमा होम गलामी, सोमबहादुर थापा (सुरज), पदमबहादुर थापा (अशोक), जुक्तबहादुर थापा, मनोजकुमार थापा, इसान भण्डारी, शंकर मल्लाह र प्रेम राना विजयी भए । । संघको पहिलो बैठकले महासचिव, सचिव र कोषाध्यक्ष मनोनित गर्ने छ ।

यसअघि साधारणसभाको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बुटवललाई खेलग्रामको रुपमा विकास गर्ने उपमहानगरको योजना रहेको बताए । एन्फाका केन्द्रीय वरिष्ठ उपाध्यक्ष मणि कुँवरले रुपन्देही जिल्ला फुटवलमा संभावना बोकेको क्षेत्र भएको भन्दै सहयोगका लागि एन्फा तयार रहेको बताए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ