arrow

६० बर्षदेखि किसानी पेशामा भण्डारी

तरकारी बाजेले परिचित

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७४ पुष १८ मंगलबार
tarkari-baje.JPG

स्याङ्जा । “नजिकै कालीगंगा, उत्तरमा हिमालको छायाँ
किसानले धेरै गर्छन्, पृथ्वीलाई माया
रोजगारी कर्मचारी भत्ता समेत पाउछन्
किसानले मरी मरी लामो बाटो धाउछन्”
यस्तै यस्तै श्लोक हालेर किसानको परिचय दिने गर्छन् उदयराज भण्डारी । उमेरले लगभग डाँडो काटेका ८२ बर्षिय भण्डारी अहिले पनि तरकारी उत्पादनमा सक्रिय छन् । २०१४ सालबाट उँखु खेतीबाट किसानी पेशामा हाम फालेका भण्डारी करिव ६० बर्ष पृथ्वीसँगै खेलेका व्यक्ति हुन् ।

दुई श्रीमतिका श्रीमान समेत रहेका भण्डारीका दुवै तर्फ छोरा र छोरी रहेका छन् । दुई छोराले समेत बाबुको पेशालाई अगालेका छन् । मौसमी तथा बेमौसमी तरकारी खेती गरेर भण्डारीले ६० रोपनी जग्गा समेत खरिद गरेका छन् । चापाकोट नगरपालिका वडा नं. १० निवासी भण्डारीलाई तरकारी बाजेका रुपमा आफ्नो परिचय बनाएका छन् । चापाकोट नगरपालिकालाई व्यवसायीक कृषि खेती तर्फ उनैले सिकाएका हुन् । उनको सिको गर्दै अहिले तरकारी उत्पादन गर्ने किसान बढ्न समेत थालेका छन् ।

युवा अवस्थामा अत्यन्तै स्मार्टआकर्षक देखिने भण्डारीलाई सिंगापुरमा भर्तीका लागि अवसर पनि पाएका थिए । तर आफ्नै देशमा केही गर्नुपर्छ भन्ने उदेश्यले उनले कृषि पेशामा हात हाले । उनलाई सिंगापुर पुलिसमा भर्ति हुन नपाएको कुनै पछुतो छैन । तर उनको गुनासो भने नेपाल सरकार सगँ धेरै छ । जिल्लाकै पहिलो किसानको रुपमा परिचय बनाएका भण्डारी अगुवा किसान पनि हुन् । कृषिमा सरकारले धेरै लगानी गरे पनि अहिलेसम्म राज्यकोषबाट एक रुपैयाँ पनि नपाएको गुनासो गर्छन् ।

 कागतजात मिलाएर राज्यको रकम दोहन गरेको प्रति चिन्ता व्यक्त गर्दै भण्डारीले भने,“किसानलाई आएको रकम सबै बाटोघाटोमा खर्च भएको छ ।” सक्कली किसानले भन्दा नक्कली किसान राज्यको पैसा दोहन गरेको उनको गुनासो छ । करिव २० रोपनी जमिनमा उँखु, काउली, बन्दा, वोडी, आलु, घिरौला, तितोकरेला, केरा लगायतका तरकारी उत्पादन गर्दै आएका छन् । उत्पादन भएको तरकारीलाई चापाकोट नगरपालिका र अन्य आसपासका बजारहरुमा बिक्रि गर्दै आएको भण्डारी बताउछन् । हरेक बर्ष उनले तरकारी बाट मात्रै ३ लाख देखि ४ लाख सम्म कमाउने गरेका छन् ।
 
कुनै खेतालो नराखेर आफ्नो कृषि पेशामा अडिग रहदै आएका भण्डारी कृषिमा भर परेर जिवन बिताएको बताउछन् । मल बोक्ने, जोत्ने, पानी हाल्ने र उत्पादन भएको तरकारीलाई लाई बजारमा लगेर बिक्रि गर्ने काम भण्डारी आफैले गर्छन् । नयाँ प्रविधिको प्रयो नगरेर पुरानै शैलिबाट तरकारी उत्पादन गर्दै आएको भण्डारी बताउछन् । शुरु शुरुमा तरकारीको बजार नहुँदा अत्यन्तै दुःख झेलेका भण्डारी पछिल्लो समय तरकारी खेतीमा राम्रो आम्दानी रहेको बताउछन् ।

 कृषि पेशाबाट उनले ८ जना नातीनातीना काठमाडौंमा पढाएका छन् । गर्न सके आफ्नै भुमिमा पैसा छ भण्डारी भन्छन्,“ मेहनत गर्नुपर्छ, मन स्थिर बनाउनु पर्छ, विदेश जानु पर्दैन ।” छोराहरुलाई जागिरे नवनाएपनि नातीनातीनालाई भने सरकारी जागिरे खुवाउने धोको यही पेशाले गर्ने छु उनले भने । विहान उठे देखि खेतवारीमा समय विताउदै आएका भण्डारी खाना खाने समय बाहेक बेलुकासम्म खेतवारीमा रमाउने गर्छन् ।

 ६० बर्षसम्म कृषि पेशामा लागेका भण्डारीलाई अहिलेसम्म सरकारी निकायले समेत कुनै तालिम, विउ विजन नदिएको उनको भनाई छ । तालिम, गोष्ठि, सेमिनारका लागि आएका बजेटमा भण्डारीले जस्ता किसान नपर्नु पनि खोजीको विषय बनेको छ । यस्ता किसानहरुलाई राज्यले पनि खोजी गरि उनको अनुभव लिएर अन्य किसानलाई सिकाउन सकेमा साच्चै कृषि क्षेत्र मौलाउन सक्ने स्थानीयहरु बताउछन् ।

भण्डारीका छिमेकीहरु पनि उनको मेहनत देखेर छक्क पर्ने गरेको बताउछन् । उमेर बुढो भएपनि मन बुढो नभएकाले अव केही बर्ष मात्रै यो पेशा गर्ने उनको इच्छा रहेको बताउछन् । सामान्य रोग देखिएपनि अहिलेसम्म कुनै ठुलो रोग नलागेको र औषधी समेत सेवन नगरेको भण्डारीले बताए । मन भए इच्छा जाग्छ भन्ने उखान जस्तै भण्डारीले जस्तो मेहनत गर्ने हो भने बाँजो रहेको खेतवारीमा पैसा उमार्ने सकिने उदाहरण देखिएको छ ।

 ६० बर्ष पुगेका कर्मचारीलाई राज्य पेन्सनको व्यवस्था गरेपनि उही समय कृषिमा लागेका भण्डारी भने आफुले उत्पादन गरेको तरकारी नै पेन्सन हुने देखिन्छ । त्यसैले यस्ता किसानहरुको खोजी गरि जमिनलाई बाँजो नराख्ने र आर्यश्रोत बनाउनेलाई राज्यले सम्मान गर्नुपर्ने देखिन्छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ