arrow

भेरी बबई डाइभर्सन निर्माणले लियो गति

logo
रमेश लम्साल,
प्रकाशित २०७४ पुष १८ मंगलबार
bheri-babai.jpg

काठमाडौँ । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ शुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ ।

आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार सो आयोजनामा पहिलो पटक ‘टनेल बोरिङ मेशिन’ टिबिएम प्रयोग गरिएको छ । अमेरिकी प्रविधिमा चीनमा निर्माण भएको टिबिएम मेशिनको सफलतापूर्वक परीक्षण सम्पन्न भएको र हालसम्म एक हजार ५० मिटर सुरुङ खनि सकिएको छ ।

प्रमुख बस्नेतले टिबिएमको सफल परीक्षणपछि नेपालमा सुरुङ निर्माणका लागि अब परम्परागत प्रविधि प्रयोग गर्नु नपर्ने भएको छ । परम्परागत तवरले सुरुङ खन्दा विस्फोट गराउने गरिन्छ ।

“मेशिनको प्रयोगपछि अब नेपालमा सुरुङ निर्माणका लागि टिबिएम युग शुरु भएको छ”, आयोजना प्रमुख बस्नेतले भने, “मेशिनको प्रयोग सफल भएको छ ।”

भेरी बबई परियोजनालाई बहुउद्देश्यीय आयोजनाका रुपमा अगाडि बढाइएको छ । सो आयोजनाबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाह्रै महिना बर्दिया र बाँकेमा सिँचाइ सुविधा उपलब्ध गराउने लक्ष्य राखिएको छ । आयोजनाको सुरुङ खन्ने काम गत कात्तिक २९ गतेदेखि शुरु भएको हो ।

कूल १२ किलोमिटर लामो सुरुङ खन्ने अवधि २४ महिना राखिएको छ । आयोजनाका सिनियर डिभिजनल इन्जिनियर रुक्माङ्गत खनालले दैनिक २० मिटरका दरले सुरुङ खन्ने कार्य अगाडि बढेको जानकारी दिए ।

“अब हामी सुरुङ खन्ने कार्यलाई थप गति दिन्छौँ । तोकिएको समयभन्दा अगावै सुरुङ निर्माण कार्य सम्पन्न हुने छ”, उनले भने।

प्रदेश नं ५ र प्रदेश नं ६ को आर्थिक समृद्धिसँग जोडिएको सो आयोजनालाई तोकिएको समयभन्दा पहिले सम्पन्न गराउने गरी आफूहरु क्रियाशील रहेको जानकारी दिँदै खनालले हालसम्म आयोजनाको भौतिक प्रगति २० प्रतिशत र वित्तीय प्रगतिसमेत २० प्रतिशत नै रहेको बताए ।

आयोजनाको कूल लागत  १६ अर्ब ४५ करोड रहेको छ । सुरुङ निर्माणका लागि मात्रै १० अर्ब ५५ करोड बजेट विनियोजन गरिएको छ । सुरुङ निर्माण अगाडि बढेपछि विद्युत् गृह निर्माणको कामसमेत शुरु हुनेछ । भेरीको पानीलाई बबई नदीमा झारेर सिँचाई तथा विद्युत् उत्पादन गर्ने सो नेपालको पहिलो बहुउद्देश्यीय आयोजना हो । सिँचाइ विभाग र चीनको चाइना ओभरसिज इन्जिनियरिङ ग्रुप लिमिटेड (कोभेक) बीच आयोजना निर्माणका लागि २०७१ साल माघमा ठेक्का सम्झौता भएको थियो ।

हाल आयोजनामा दैनिक तीन सयभन्दा बढी नेपाली तथा चिनियाँ कामदार कार्यरत छन् । सुर्खेतको चिप्लेस्थित भेरी नदीमा १५ मिटर अग्लो बाँध बनाएर सुरुङमार्फत प्रतिसेकेण्ड ४० घनमिटर पानी बबई नदीमा खसालिनेछ । बबईमा खसालिएको पानीबाट ४८ मेगावाट विद्युत् उत्पादन गर्ने र बाँके तथा बर्दियामा सिँचाइ सुविधा उपलब्ध गराउने आयोजनाको लक्ष्य छ । पहिलो चरणमा सुरुङ निर्माण र दोस्रो चरणमा विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोड्ने लक्ष्य राखिएको छ ।

हालसम्मको प्रगति सन्तोषजनक एवम् उत्साहप्रद भएको टिप्पणी गर्नुहुँदै आयोजना प्रमुख बस्नेत राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई आयोजनालाई नमूना बनाउने विश्वास व्यक्त गरे।

सो आयोजनामा टिबिएम प्रयोग सफल भएपछि नेपालमा निजी क्षेत्रका ऊर्जा उद्यमीसमेत टिबिएम ल्याउने तयारीमा लागेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इपान)ले यही पुस २१ गतेदेखि आयोजना गरेको हिमालयन हाइड्रो एक्पो र २०१८ मा समेत टिबिएम मेशिन प्रदर्शनीमा राखिनेछ । इपानका अध्यक्ष शैलेन्द्र गुरागार्इंले टिबिएम मेशिनका बारेमा चासो राख्दै केही उद्यमी चीन पुगेको जानकारी दिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ