arrow

'ओलीलाई प्रधानमन्त्री बन्न नदिने षड्यन्त्र सुरु भैसक्यो'

जबज छोडेर माओवादी केन्द्रसँग एकता गरिँदैन् : महासेठ

logo
प्रकाशित २०७४ पुष १८ मंगलबार
K.P.-Oli.jpg.jpeg

काठमाडौं। नेकपा एमालेका नेता रघुवीर महासेठले आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बन्न नदिन देशी तथा विदेशीहरुको षड्यन्त्र सुरु भएको आरोप लगाएका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता महासेठले भने,‘हाम्रो पार्टीका श्रद्धय अध्यक्ष कमरेड ओलीलाई प्रधानमन्त्री हुनबाट रोक्नको लागि षड्यन्त्र भैरहेको छ, तर जनताले हामीलाई म्याण्डेट दिएका छन्, जनताको चाहना केपी ओली नै मुलुकको नेतृत्व गर्नुपर्छ भन्ने हो।’

उनले जनताको पहिलो रोजाईमा ओली नै परेको जिकिर गरे । उनले भने,‘जनताले त ओलीकै नाममा वाम गठबन्धनलाई बहुमत दिएका हुन्, तर अहिले उहाँलाई रोक्नको लागि विभिन्न खाले षड्यन्त्रहरु सुरु भएका छन्।’ निर्वाचन सम्पन्न भएपछि मुलुक स्थिरत राजनीतिको यात्रामा अघि बढ्ला भनेर आफूहरुले सोचेको भएपनि मतपरिणाम सार्वजनिक भएसँगै चलखेल सुरु भएको उनको आरोप थियो ।

धनुषा ४ बाट निर्वाचित सांसद एवम् पूर्वमन्त्री समेत रहेका नेता महासेठले अहिले देशी तथा विदेशी शक्तिहरुले ओलीको नेतृत्वमा सरकार बन्नुहुँदैन भनेर षड्यन्त्र सुरु गरेको गम्भिर आरोप लगाए । षड्यन्त्रको प्रमुख गोटी भने निर्वाचन आयोग बनेको उनको आरोप थियो ।

महासेठले भने,‘अहिले प्रत्यक्ष रुपमा निर्वाचन आयोगको भूमिका देखियो, आयोग गोटी बनेको छ, यो कुरा छर्लङ् भैसक्यो, प्रधानमन्त्रीको चयन र समानुपातिकको नतिजा प्रकाशनको लागि राष्ट्रिय सभाको गठन आवश्यक छैन, तर आयोगले संविधानको नै अपव्याख्या गरिरहेको छ।’ उनले संविधानको धारा ७६ मा सबै कुरा स्पष्टसँग लेखिएको भन्दै उक्त धारलाई गलत रुपमा व्याख्या नगर्न आयोगको ध्यानाकार्षण समेत गराए ।

त्यस्तै उनले प्रत्येक प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनेर तयारी गरिएकोप्रति टिप्पणी गर्दै भने,‘२५ गते चुनाव गर्ने अनि सबै प्रदेशमा छुट्टाछुट्टै दिन निर्वाचन गर्ने भनिएको छ, यो पनि समय लम्ब्याउने खेल हो।’ उनले आयोगले देखादेख संविधानको धज्जी उडाएको समेत आरोप लगाए । उनले भने,‘देउवाले दुई चार महिना अझै सत्ता लम्ब्याउने खेल खेले, वाम गठबन्धन टुटाउन सकिन्छ कि भनेर खेल सुरु भएको छ, तर यो खेल सफल हुन दिँदैनौं।’

महासेठले आयोग प्रधानमन्त्री देउवाको मात्रै गोटी नबनेर कतै नेपालको प्रगति हेर्न नचाहाने विदेशी शक्तिहरुको गोटी त बनेको छैन भनेर अहिले प्रश्न उब्जिएको समेत स्पष्ट पारे । उनले निर्वाचन आयोग र प्रधानमन्त्री मात्रै नभएर मधेशवादी दलका नेताहरुपनि गोटी बनेको गम्भिर आरोप लगाए । उनले थपे,‘उहाँहरुको बोली एकथरी हुन्छ अनि व्यवहार अर्कोथरी देखिएको छ, उहाँहरुको हेडक्वार्टर कहाँ छ ? यो आश्चर्य लागेको छ।’

त्यस्तै उनले २ नम्बर प्रदेशमा मधेशवादी दलहरुले आपसी समझदारीमा मिलेर सरकार बनाएर राम्रो हुनेथियो भन्ने धारणा राखे । यद्धपी उनले आफूहरुले त्यस्तो संभावना नदेखेको जिकिर गरे । उनले भने,‘यदि आवश्यक पर्यो भने हामी बाहिरै बसेर भएपनि सरकार बनाउन सहयोग गर्छौं।’

उनले उनले मधेशको समग्र समस्याको समाधान नेकपा एमालेबाहेक अरु कसैले पनि गर्न नसक्ने धारणा राखे । एमालेको नेतृत्वमा सरकार बनेको ६ महिनादेखि एक वर्षभित्रै सम्पूर्ण समस्या समाधान गर्ने उनको विश्वास थियो ।
त्यस्तै उनले एमाले सचिव योगेश भट्टराईले त अब ओली र प्रचण्ड दुवै नेताले विश्राम लिएर युवा नेताहरुलाई नेतृत्व सुम्पिनुपर्छ भन्नुभएको छ नि भनेर सोधिएको एक प्रश्नमा उनले भने,‘उहाँ हाम्रो पार्टीको सचिव हुनुहुन्छ, मलाई लाग्दैन कि उहाँले यस्तो सस्तो कुरा गर्नुभयो भनेर, तर यदि साँच्चिकै भन्नुभएको हो भने त्यो गलत हो, यो मुलुक र जनतालाई ओली र प्रचण्डको आवश्यकत्ता अझै दश वर्ष छ, उहाँहरुले पनि अहिले नै सन्यास लिन चाहनुभएको छैन्।’

एमाले–माओवादी केन्द्रवीचको एकता अब कसैले चाहेरपनि नरोकिने उनको जिकिर थियो । उनले थपे,‘एकता हुन्छ, तर जनताको बहुदलीय जनवादको आधारमा नै हुन्छ, हामी जवज छोडेर एकता गर्ने पक्षमा छैनौं, माओवादी केन्द्रका नेताहरुले पनि जवजको लाईन आत्मसात् गरिसक्नुभएको छ।’ उनले प्रचण्ड प्रधानमन्त्री बनेपनि आफूहरुलाई कुनै आपत्ति नहुने धारणा राखे ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ