arrow

नवराज सिलवालविरूद्ध पक्राउ पुर्जी तर सिलवाल मलेसियामा

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
navaraj-silwal.jpg

काठमाडौं । नवनिर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडिआइजी नवराज सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरी परिसरले पक्राउ पुर्जी जारी गरेको छ ।

आइजिपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको पुष्टि भएपछि उनी विरुद्ध पक्राउ पुर्जी जारी भएको हो । सर्वोच्च अदालतले केही साताअघि आइजिपी बढुवासम्बन्धी मुद्दामा कार्यसम्पादन मूल्यांकन किर्ते गरेको ठहर गर्दै अनुसन्धान अघि बढाउन आदेश दिएको थियो । उनी ललितपुर क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट निर्वाचित भएका हुन् ।

सोही फैसलाका आधारमा प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । सिलवाललाई पक्राउ गर्न काठमाडौं प्रहरीले ललितपुर प्रहरीलाई पत्राचार गरिसकेको महानगरी प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले जानकारी दिए ।

सिलवालविरुद्ध गत ५ पुसमा महानगरीय प्रहरी परिसर काठमाडौंमा किर्ते मुद्दाको जाहेरी दर्ता भएको थियो ।  डिआइजीको कार्यसम्पादन मूल्यांकन कीर्ते गरेको भन्दै किर्ते गर्नेहरूलाई कारबाहीको आदेश दिएको सर्वोच्चको फैसलाको पूर्णपाठसहितको पत्र गएपछि सिलवालविरुद्ध जाहेरी दर्ता भएको थियो।

सिलवाल क्वालालम्पुरमा
पक्राउ पुर्जी जारी हुँदा सांसद सिलवाल भने काठमाडौंमा छैनन् । उनी मलेसियाको क्वालालम्पुरमा  छन् । पूर्व निर्धारित कार्यक्रममा भाग लिन आइतबार उनी क्वालालम्पुर गएको पारिवारिक स्रोतको भनाइ छ ।

सिलवाल मलेसियामा एसियन इन्ष्टिच्यूट अफ टेक्नोलोजीले गरेको ‘इष्ट एशियन इनिसियटिभ्स इन द कम्युनिटी डेभलपमेन्ट विथ स्पेसियल फोकस टु वुमन’ विषयक कार्यक्रममा भाग लिन गएको पारिवारिक स्रोतको भनाइ छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ