arrow

प्रदेश ३ को मुख्यमन्त्रीमा अष्ट्रलक्ष्मी नभए मै हुन्छु –पशुपति चौलागाई

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
pashupati-chaulagai.jpg

काठमाडौं । प्रदेश नं ३ मा मुख्यमन्त्री को होला ? निर्विकल्प रुपमा नेकपा एमाले मध्येकै कोही प्रदेश सांसद हुन्छन् । 

तर आकांक्षी बढी भएपछि अहिले आरोप प्रत्यारोपमात्र चलेको छैन म बाहेक कोही हुन्न भन्ने पनि देखिन थालेका छन् । 

प्रमुख दावेदारका रुपमा भने भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्य रहेकी छिन् । पदीय हिसाबले पनि उनी अग्रस्थानमा रहनु स्वभाविकै हो । 

त्यसबाहेक राजेन्द्रप्रसाद पाण्डे (धादिङ) र केसव स्थापित (काठमाडौं) सानुकुमार श्रेष्ठ (काठमाडौं) को नाम बाहिर आएको छ । 

पोलिटव्यूरो सदस्य अरु पनि लाइनमा छन् । पोलिटव्युरो सदस्य अरुण नेपाल र अर्का पोलिटव्यूरो सदस्य  पशुपति चौलागाई (दोलखा)  को नाम पनि सुनिएको छ । 

यसमा कतिपयका लागि अध्यक्ष केपी शर्मा ओलीदेखि पार्टी नेता माधवकुमार नेपालसम्मले आश्वासन पनि दिएका होलान् । 

दाबेदार पशुपति चौलागाईं भने आफू नै योग्य रहेको ठोकुवा गर्छन् । 

उनी भन्छन्, ‘अष्टलक्ष्मी शाक्य पार्टीको उपाध्यक्ष, महिला र काठमाडौंको स्थानीय नेवार भएको हिसाबले छोड्न सकिन्छ, उहाँले इच्छा देखाए म पछि फर्किन्छु, होइन भने म नै हुने हो मुख्यमन्त्री ।’

चौलागाईंले अरु दाबेदारहरु नामका लागि मात्र प्रचारमा आएको उनको ठम्याइ छ । उनी भन्छन्, ‘अरु नामका लागिमात्र आएका हुन् ।’

चौलागाईं मुख्य मन्त्री बन्ने आधार के छन् त ? 
उनी भन्छन्, ‘सबैभन्दा पहिले त यो क्षेत्र बुझ्नु पर्यो । प्रदेशबाट के लिन सकिन्छ र कसरी उन्नति र समृद्धिका लागि काम गर्न सकिन्छ भनेर बुझ्नु पर्यो । मुद्धा र एजेन्डालाई बुझ्न सक्ने हुनुपर्यो ।’

चौलागाईं थप्छन्, ‘नाम मात्र दिएर भएर सिंगो प्रदेश चलाउन सक्नुपर्यो । फेरि यो प्रदेशमात्र होइन यो त सिंगो देशको केन्द्र हो ।’

जिम्मेवारी बुझेको बताउँदै चलागाईंले भने, ‘अहिले मुख्यमन्त्रीका सबैभन्दा धेरै चुनौती छन् । त्यसको सामना गर्न सक्नुपर्छ । अहिलेको राजनीतिक परिवर्तनलाई साकार पार्ने र आथिक समृद्धिका मुद्धा साकार पार्नुपर्नेछ ।’

उनले, ‘प्राकृतिक, सांस्कृतिक एवं ठूलाठूला वित्तीय र मानवीय स्रोत साधनले धनी प्रदेश ३ धेरै स्रोतको खानी हो । यसको प्रयोग गर्न जान्नुपर्छ । यो सबै काम म गर्न सक्छु ।’ भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ