arrow

शेखर, रामचन्द्र र देउवा जी आत्तिनु पर्दैन, पाँच वर्ष धैर्य गर्नुस् रोग लाग्ला : नेपाल

वाम गठबन्धन फुटाउने सपना नदेख्न कांग्रेसलाई चेतावनी

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
madhab-nepal-news-aaja.jpeg

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधबकुमार नेपालले एमाले र माओवादीबिच पार्टी एकता भएरै छाड्ने दाबी गरेका छन् । बुधबार रिपोर्टस क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता नेपालले आवश्यकताअनुसार सबै नेताको व्यवस्थापन गरेर पार्टी एकता गरिने बताए ।

नेपालले सानो प्रभावकारी र चुस्त सांगठनिक संरचना बनाएर पार्टी एकता गर्नुपर्ने विषयमा गृहकार्य भइरहेको जानकारी दिए । ८ करोड सदस्य भएको चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रिय सदस्य २ सय जना, पोलिटव्यूरो सदस्य २१ भएको उदाहरण दिदै उनले नेपालमा पनि सानो कमिटि बनाएर ठूलो काम गर्न सक्ने गरी अघि बढ्नुपर्ने बताए ।
भियतनामको कम्युनिष्ट पार्टीकोसमेत उदाहरण दिदै नेपालले  भने “पदका लागि मारामार गर्ने होइन । संगठनात्मक संरचना बनाएर नेता व्यवस्थापन गर्नुपर्छ । त्यसपछि महाधिवेशनको मिति तोकेर नयाँ नेतृत्व चयन गर्नुपर्छ ।”  
 
नेकपा एमालेमा त्यागको भावना रहेको बताउँदै उनले पदीय भागबण्डाका आधारमा एकता प्रभावित नहुने दाबी गरे । “हामी पद छोड्न र दिन तयार छौँ ।” जनताको जनादेश अनुसार जति सक्दो चाँडो एकता गरेर विकास र समृद्धिको यात्रामा लाग्नुपर्ने उनको तर्क थियो ।  “सरकारको नेतृत्वको विषयमा पनि विवाद नहुने उनको दाबी थियो । प्रधानमन्त्रीका लागि मारामार तानातान होला भन्ने लागेको होला । त्यस्तो हुँदैन ।”

एमाले र माओवादीबिच लडाई होला र फाइदा उठाउँला भनेर कांग्रेस दाउ हेरेर बसेको बताउँदै नेपालले आफूहरु परिपक्व भएकाले त्यस्तो दाउ नहेर्न सुझाब दिए ।  चुनावबाट एमाले ठूलो पार्टी बनेकाले माओवादीले त्यही अनुसार सोचेको उनको भनाई थियो । “अनावश्यक प्रचार र दबाब सृजना गरेर केही हुँदैन । प्रधानमन्त्रीका लागि कुनै समस्या छैन ।” नेपालले भने । दाहाल, ओली, खनाल, बामदेव, नारायणकाजी, बादल सबैको उचित र न्यायसंगत व्यवस्थापन हुन्छ ।”

प्रधानमन्त्रीका लागि एमाले अध्यक्ष केपी ओली नै हुन सक्ने सम्भावना बढि रहेको नेपालको भनाई थियो । तर माओवादीसँग पनि छलफल हुने उनले बताए ।  नेपालले आफू संगठन विस्तारमा लाग्ने र पार्टीलाई बलियो बनाउन अभियानमा लाग्ने बताए ।  नेपालले माओवादी अध्यक्ष प्रचण्डको पनि उचित व्यवस्थापन गरिने बताए ।

संस्थागत निर्णय गर्न कम्युनिष्टहरु सिपालु हुने भन्दै नेता नेपालले संगठन परिचालन र जनचेतना विस्तारका लागि कसैले सिकाउनु नपर्ने बताए । संगठनको खाका बनाउने विषयमा छलफल भइरहेको उनले बताएका छन् ।
पार्टी एकता भए पनि जनताको बहुदलीय जनवाद नछोडिने उनले स्पष्ट पारेका छन् । “जबजको सान्दर्भिकता अझै बढ्दै गएको छ । कतिपय कुरा समयअनुसार फेरेका छौँ । माओवादीले पनि २१ शताब्दीको जनवाद भनिसकेको छ । संविधानमा उल्लेख गरेअनुसार समाजवादउन्मुख अर्थतन्त्र नै हाम्रो यात्रा हो ।”

सरकार निर्माण गरेर पार्टी एकता गर्ने तयारी भए पनि अब सरकार गठनको समय धकेलिने अवस्था देखेकाले पहिला पार्टी एकता गरेरै जाने उनले बताए । नेताहरुको व्यस्तताले पनि धकेलिन पुगेको उनका भनाई थियो ।
तर हतार नगर्न उनले माओवादीलाई आग्रह गरेका छन् । “मिठो खानका लागि भात, तरकारी, दाल, माछा, मासु सबै पाक्नुपर्छ । हतार गरेर हुँदैन ।” नेपालले भने ।

चुनाव हारिसकेपछि पनि नेपालले सरकार छोड्न नचाहेको भन्दै उनले आपत्ति जनाएका छन् । “कांग्रेस जहिले पनि कुर्सी छोडन आलटाल गर्छ । नानीदेखि लागेको बानी अझै हटेको छैन । यो अत्यन्तै गलत सोच हो ।” नेपालले भने । “शेखर, रामचन्द्र र देउवा आत्तिनु पर्दैन । रोग लाग्ला । कम्तिमा अब पाँच वर्ष धैर्य गरेर बस्नुस् । रचनात्मक प्रतिपक्षमा बस्नुस् ।”

वाम गठबन्धन फुटाएर आफू सरकारमा जाने कुरा दिवा सपना भएको उनको भनाई थियो ।  नेता नेपालले वाम गठबन्धनको सरकारले भारत र चिन दुवै छिमेकी मुलुकसँग निकटताको सम्बन्ध स्थापित गर्ने बताएका छन् । “आन्तरिक मामलामा हात नहालुन भन्ने मात्रै हाम्रो चाहना हो । हाम्रो निर्णय गर्ने अधिकारमाथि हस्तक्षप गरे सैह्य हुँदैन ।”

चीनको पक्षमा गठबन्धनको सरकार जाला भनेर आशंका नगर्न उनले आग्रहसमेत गरे । सबै देशसँग आवश्यकता अनुसार आर्थिक, कुटनीतिक  सम्बन्ध स्थापित गर्ने उनको भनाई थियो ।
कार्यक्रममा रिपोर्टस क्बलका अध्यक्ष ऋषि धमलाले चुनाव जितेकोमा नेपाललाई सम्मान गरेका थिए । त्यसक्रममा धमलाले देशलाई विकास र समृद्धिको यात्रामा लैजानका लागि दलहरु जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ