arrow

‘एमाले एमाले रहन्न, माओवादी माओवादी रहन्न’, पहिले हामी नारायणी बनाउँछौँ : रिमाल

बहसमा एकता

logo
प्रकाशित २०७४ पुष १९ बुधबार
bishnu_rimal.JPG

काठमाडौं । लामो समयदेखि बस्ने भनिएको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठक अझै अनिश्चित छ । ओली अस्वस्थ भएर बालकोटमै आराम गरिरहेको जानकारी आएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एक दुई दिनमै पार्टी एकता संयोजन समितिको बैठक बस्ने बताएका छन् ।

पार्टी एकता संयोजन समितिको बैठक बस्न नसकेपछि विभिन्न शंकाहरु गर्न थालिएका छन् । पार्टी अध्यक्ष वा प्रधानमन्त्री मध्ये एक पद नदिए माओवादीले पार्टी एकता नगर्नेसम्मका चर्चाहरु भएका छन् । शीर्ष दुई नेताबीच पार्टी एकताको विषयमा छलफल हुन नसकेको बताइँदै छ । दोस्रो तहका नेताहरु निरन्तर छलफलमा छन् । दोस्रो तहकै नेताहरुबाट विभिन्न क्रिया प्रतिक्रियाहरु आइरहेका छन् ।

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले ‘हामी एमालेमा विलय हुन लागेको तवरले बुझ्ने काम भयो, हामी एकीकरण हुन लागेको हो, एकीकरण हुँदा एक पार्टीले अर्काको अस्तित्व स्वीकार्नु पर्छ र जनमतको हिसावले एमाले अध्यक्ष ओली यसमा बढी जिम्मेवार भएकाले बोल्ड डिसिजन दिनु पर्छ’ –भनेका छन् ।

चर्चा अरु पनि भएका छन् । ‘एकताकै सन्दर्भमा आएका विभिन्न क्रिया–प्रतिक्रियाले पार्टी नेतृत्व वा प्रधानमन्त्री पदमध्ये एउटा ओलीको हातबाट खोस्न खोजिएको छ, ताकि चीनसंग बढ्न सक्ने भनिएको नेपालको सम्बन्धमा लगाम लगाउने यौटा आधार नभत्कियोस्’ राजनीतिक विश्लेषक भरत दाहालले भनेका छन् ।

उनले अगाडि भनेका छन्, ‘पुष्पकमलको वार्गेनिङ प्रधानमन्त्रीमा ‘आलोपालो’ देखि पार्टीमा ‘आधा–आधा’ हिस्सेदारिसम्म आईपुगेको छ । एमालेभित्रमा माधव, झलनाथ, बामदेवका ग्याङहरू यसका पक्षमा उभिएर पुष्पकमललाई उकासिरहेका छन् ।’ एमाले–एमाओवादीको एकता एमालेभित्रको ध्रुविकरणसँग मात्र सम्बन्धित छैन, यो एकता एमाले विभाजन गर्ने योजनासँग पनि जोडिएको छ ।

पहिले हामी नारायणी बनाउँछौँ : रिमाल
केपी ओली प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार बनेका विष्णु रिमालले ओलीकै भनाई सापटी लिँदै भनेका छन्, ‘अहिले हामी के गर्छौँ भने, माओवादी माओवादी रहँदैन । एमाले एमाले रहँदैन । जसरी मर्स्याङ्दी र त्रिशुली मिसिएर  नारायणी बन्छ । त्यसरी हामी पहिले नारायणी बनाउँछौँ । अनि ढुंगा कसले र गिट्टी कसले खोज्ने भन्ने टुंगो लगाउँछौँ ।’ उनले पार्टी एकता भएरै छाड्ने बताए ।

माओवादी अध्यक्ष दाहालले बैठकमा नगरेका कुरा सञ्चारमाध्यममा आएको भन्दै उनले थपे, ‘पार्टी एकताबारे उब्जिएका शंका प्रचण्डले मेटाउनु भएको छ । उहाँले म ओलीलाई पर्खिरहेको छुँ भन्नु भएको छ । पार्टी एकता संयोजन समितिको बैठक कुरिरहेको कुरा उहाँले सुनाउनु भएको छ ।’ रिमालले आफुहरु छलफलमै रहेको बताए । उनले भने, ‘शनिबारसम्म धेरै कुरा थाहा भइसक्छ ।’ रिमालले पदीय बाँडफाँडको विषय बाहिर आएजस्तो पेचिलो नभएको पनि बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ