arrow

एकताले नै अहिले हाम्रोमा भुइँचालो ल्याइरहेको छ : विष्णु रिमाल (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ पुष २० बिहिबार
bishnu_rimal.JPG

एमाले र माओवादीको पार्टी एकताबारे विभिन्न तहमा छलफल भइरहेको भनिएका बेला एमाले नेता विष्णु रिमालले भने छलफल प्रारम्भ नै नभएको बताएका छन् । शीर्ष दुई नेताबीचको छलफल भने अब तत्काल हुने उनले जानकारी दिए । तर, अलमल के मा हो ? हामीले अलमलकै विषय केन्द्रीत भएर नेता रिमालसँग संक्षिप्त कुराकानी गरेका छौँ ।

० तपाईहरु के मा अलमलिएकाे ?
–अलमल भइरहेको भनेको, मूलभूत रुपमा हाम्रो अध्यक्ष र माओवादी केन्द्रको अध्यक्षको उपयुक्त टाइम मिलाउन सकिरहेका छैनौँ हामीले । एउटा तालिका नै बनाइएको थियो । प्रदेशको समानुपातिकको उम्मेदवारहरुको नाम पठाउनु भन्दा अगाडि हाम्रो पार्टीले तयार गरेको एउटा विधि भनेको, सबै भन्दा पहिले दुई शीर्ष नेता बस्ने र छलफलको तयारीको विषय तथा विवाद हुनसक्ने, मिलाउनु पर्ने विषयको श्रृंखला तयार गरेर आ–आफ्नो पार्टीमा ब्रिफिङ गर्ने । पार्टीमा ब्रिफिङ गरिसकेपछि केन्द्रीय एकता संयोजन समितिको बैठकमा लिएर विषयलाई अघि बढाउने भन्ने थियो । यो बीचमा हाम्रो अध्यक्षको स्वास्थ्यमा केही खराबी आयो । तातो र हतारोमा ढिलाई किन पनि हुन गयो भने, अध्यादेश जारी भएपछि प्रतिनिधिसभाको सबै परिणाम बाहिर आउँछ र परिणाम आएपछि सरकार निर्माण,  पार्टी एकताका कुरालाई तदारुकताका साथ दौडाउने भन्नेमा हामी थियौँ । तर, सरकार र निर्वाचन आयोगले ढिलो गरिदियो । त्यसैले फुर्सदले समय लिऔँ भन्ने हिसाबले गइएको हो ।

० पहिले तपाईको अध्यक्षले प्रचण्डलाई कुर्नु भो, अहिले तपाईको अध्यक्षलाई प्रचण्डले कुर्नु परेको छ, के भइरहेको हो खास ?
–कसैले कसैलाई कुरीरहेका छैनौँ । त्यो मिल्ने कुरा हो । मिलाउने कुरा हो । त्यति धेरै हतारोको हिसाबले सोच्नु पनि भएन । फटाफट काम गरेर सिध्याऔँ भन्ने सबैलाई लाग्छ । सबैको सुभेक्षा पनि छ । मिडिया र बाहिरबाट यो काम चाँडै होस् भन्ने आग्रह आइरहेको देख्छु । तर, धेरै कुरा मिलाएर जानु पर्ने हुन्छ । पार्टी एकताको कुरा ख्याल ख्याल पनि होइन । त्यसमा पनि एमाले र माओवादी नेपालको ठूला दुई कम्युनिष्ट पार्टी हुन् र अहिले संसदमा पहिलो र तेस्रो पार्टीको रुपमा आएका छन् । यो दुईटाबीचको एकता भनेको सामान्य होइन । एकताले नै अहिले हाम्रो यहाँ भुँइचालो जस्तो ल्याइरहेको छ । एकतापछि सृर्जना हुने शक्ति पनि आफ्नो ठाउँमा छ । हतारिनु हुँदैन । 

० दुई नेताबीचमा लामो समय सम्वाद हुन नसक्नु र दुवै पार्टीका दोस्रो तहका नेताहरु क्रिया–प्रतिक्रियामा उत्रिनुले शंका पर्याप्त बोकेको छै हैन ?
–शंका गर्नलाई ठाउँ त दिने नै भइहाल्यो । दोस्रो, तेस्रो जुन तहका नेताहरुले भए पनि क्रिया–पतिक्रिया दिने काम चै नराम्रो हो । केही साथीहरुलाई अलिक हतारो लाग्छ, प्रतिक्रिया दिइहाल्नको लागि । हाम्रो एमालेमा त पहिले एउटा चलन थियो । आठ–दश वर्ष अगाडि कुनै विवादका विषय आए, कुनै अल्झेका विषय आए भने हामी एमालेहरु नै भटाभट विभिन्न विकल्पहरु दिन्थ्यौँ १, २, ३, ४, ५, ६ भनेर । त्यसपछि मान्छेलाई स्वाद परेको एउटा विकल्प बोकेर हिँड्थे । हामीहरु जे विकल्प जले बोक्यो त्यो लिकल्प लिएर हिड्थ्यौँ, त्यो मेरो विकल्प भन्थ्यौँ । वास्तवमा पार्टीको विकल्प भन्दा पनि हामी अर्काको विकल्पमा लतारेर जाने थियो विगतको हाम्रो परम्परा । कहिले काँही त्यस्तो हुने पनि गर्छ हामीहरुबाट । अहिले पनि कता–कता त्यो छछल्किन खोजेको हो कि जस्तो लाग्छ । अरु विषय छ जस्तो लाग्दैन ।

० अब घनिभूत संवाद कहीले हुन्छ ?  
–अबको एक दुई दिनमा दुईटा अध्यक्षकोबीचमा कुरा कानी हुन्छ । धेरै पर जाँदैन । मैले अघि नै भने हाम्रो अध्यक्ष ज्यूको स्वास्थ्यमा अलिकति समस्या आएको थियो । समस्या धेरै ठूलो पनि होइन । दुई जना बिचमा सल्ला नै भएर तनावपूर्ण अवस्थामा किन गर्ने र ? समय लिऔँ भनेरै संवाद नभएको हो ।

० अध्यक्षको अवस्था सामान्य भन्नु भो, उहाँले भेटघाट गरिरहनु भा छ ?
–छैन । किन भेट्ने ? आराम गर्ने भएपछि आरामै गर्नु पर्ने हुन्छ नि ! भेटघाट छैनको अर्थ के बुझ्नु पर्ने हुन्छ भने, पहिले जस्तो बधाई दिन आउनेहरु, कामको विषय लिएर आउनेहरुको ठूलो भीड हुन्थ्यो । मेला लागेजस्तै लाइन हुन्थ्यो । त्यो मेला अहिले छैन । आवश्यक साथीहरुसँग कुराकानी गर्ने र सल्ला गर्न रोक्नु भएको छैन ।

० प्रचण्डलाई कार्यकारी पद दिने कुरा औपचारिकता दिन मात्रै बाँकी हो ?
–एमाले र माओवादी केन्द्रका मान्छेले यो गठबन्धनमा भोट मागेर यस अनुसार जनता समस्या हल गर्छु भनिसकेपछि क्षणिक लाभको लागि दायाँ बाँया लाग्न खोज्ने कुरा आत्मघाती काम हो । अर्को पाटो हामी दुवै नेताहरुको कार्यकारी भूमिका रहन्छ भन्ने शब्द ठीक हो । यसमा पनि दायाँ–सोच्न परेन । किन भने जे पदमा रहेपनि उहाँ कार्यकारी नै रहनु हुन्छ । हामीले दुईटा बाहेक तीनटा पद सोच्दै सोच्दैनौँ । प्रधानमन्त्री सोच्छौँ, अध्यक्ष सोच्छौँ त्यस आधारले अन्दाज लगाइएको होला ।       

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ