- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली काँग्रेसले प्रदेशसभातर्फ समानुपातिकको नाम सच्याएर पठाएको छ । नियमअनुसार नपठाएका कारण निर्वाचन आयोगले पत्राचार गरेपछि काँग्रेसले चार जनाको नाम सच्याएर पठाएको हो ।
नाम सच्याएपछि सांसद भएँ भनेर ढुक्क परेका चार जना निराश भएका छन् । नाम थपिएका भने खुशी भएका छन् ।
को को हुन् हटाइएका र थपिएका ?
प्रदेश नम्बर १, २ र ५ का चार जनाको नाम संशोधन गरेर निर्वाचन आयोगमा नामावली पठाएको कांग्रेसले जनाएको छ ।
प्रदेश १ मा सीतादेवी पौडेललाई हटाएर शान्ता पौडेलको नाम पेश गरिएको छ । क्रम संख्यामा शान्ता एक नम्बरमा भए पनि तीन नम्बरमा रहेकी सीतादेवीको नाम पठाएको थियो ।
प्रदेश १ मै टेकचन्द्र विश्वासको नाम हटाएर कल्पनाकुमारी सरदारको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको छ ।
यसैगरी प्रदेश नम्बर २ मा सलमा खातुनको नाम हटाएर आदिवासी जनजाति कोटाबाट शोभा लामाको नाम बुझाइएको छ ।
यस्तै प्रदेश ५ मा सूर्यमती उपाध्यायको सट्टा शान्तिदेवी वर्मा सोनारलाई दलित कोटामा पठाइएको छ ।
नेपाली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले गलत नाम पठाइएका कारण सच्याइएको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘प्रदेश ५ मा आदिवासी जनजाति राख्नुपर्नेमा उपाध्याय परेकाले नाम कटाइएको हो । अन्त पहिले पठाएको लिष्टको नम्बर तलमाथि परेपछि रोलक्रमअनुसार सच्याउनु परेको हो ।’
उनले भने, ‘हामीले गरेको गल्ती निर्वाचन आयोगले देखेर सच्याउन पत्र पठायो, हामीले निर्वाचन आयोगले खोजे अनुसार नै नाम पठायौं ।’
पौडेलले काँग्रेसलाई बदनाम गर्न केही अनलाइनमा समाचार आएजस्तो सत्यता नभएको पनि बताए ।