arrow

धुरुधुरु रुन्छन् निजामती कर्मचारी !

logo
प्रकाशित २०७४ पुष २१ शुक्रबार
Singhadurbar-hamrakura-1.jpg.jpeg

काठमाडौं। गत सोमबार आपूर्ती विभागमा पुग्दा अनुगमन शाखाका कर्मचारीहरु धमाधम आफ्नो काममा व्यस्त देखिन्थे। कागजी काम तयार पारिरहेको उनीसँग हाम्रो जिज्ञासा नेपाल ग्यासको बालाजु स्थित प्लान्ट विस्तारमा कसरी स्वीकृति दिईयो भन्ने थियो। सौहार्दपूर्ण रुपमा कुरकानी भयो। सम्मानपूर्वक चिया पनि खुवाए। अरु सबै कुराकानी भयो। 

तर, नेपाल ग्यासको नाम मात्रै लिएपछि ती कर्मचारी एकाएक पड्किए। पटकपटकको अनुगमनको क्रममा कमजोरी भेटिएको, मन्त्रालयले पनि यसलाई क्षमता विस्तार गर्न अयोग्य भनेर औल्याएको तथा स्थानीयको विरोध हुँदाहुँदै नेपाल आयल निगमले स्वीकृति दिएको प्रति उनी पनि असन्तुष्ट रहेछन्। उनले यस विषयमा केही समय अघि कुनैपत्रकारलाई जानकारी दिँदा उनी मन्त्रालय र सिधै मन्त्री समेतको कारबाहीमा समेत परिसकेका रहेछन्।

त्यस्तै, राष्ट्रिय सतर्कता केन्द्रमा पुग्दा बिहीबार अनुगमन शाखा कै दुई कर्मचारीहरु घाम तापेर बसिरहेका थिए। सबै समसामयिक राजनीतिक कुराकानी पछि सतर्कता केन्द्रको पछिल्लो कार्यअवस्थाको बारेमा कुराकानी गर्नै खोज्दा ती कर्मचारी एकाएक भावुक बन्न थाले। उनीभित्र रहेको वर्षौंदेखि गुम्सिएको रोदन उनले एकै क्षणको भेटमा पोखेझै गुनासो गरे।

स्वास्थ्य सेवा विभागमा कार्यरत एक अधिकृतले आफ्ना छोराछोरीलाई सरकारी जागिरमा आवेदन भर्नै दिएनन्। सरकारी जागिरमा अहिले यति धेरै मोह हुँदा पनि उनका छोरा छोरी नेपाल मै भएपनि सरकारी जागिरमा काम नगर्ने भएका छन् कारण यही हो यहाँ 'राम्रो' काम गर्न पाईँदैन। मात्रै 'हाम्रो' काम गर्न पाईन्छ। आफूले राम्रोसँग निजामती सेवा बुझेकाले आफ्नो छोराछोरीलाई भ्रष्ट मानसिकताबाट बचाउनको लागि आफूले सरकारी जागिर खान नदिएको उनले स्पष्ट पारे।

उनीहरु अघिल्लो वर्ष एउटा उजुरी परेर काठमाडौंकै एक सरकारी अड्डामा अनुगमनको लागि गएका रहेछन्। त्यो अड्डामा घुस नदिने कर्मचारीको कामै सुस्त हुने जस्ता समस्या भेटेपछि उनीहरुले सबै विवरण हेर्दा समयमा कर्मचारी कार्यालयमा पनि नबस्ने, धेरै कर्मचारीहरु कार्यालय समयमा नै राजनीतिक कार्यक्रममा जाने जस्ता कैयौं कमजोरी भेटियो। यस विषयमा उनीहरुले प्रतिवेदन लेखेर कार्यान्वयनको लागि सम्बन्धित ठाउँमा पठाए। त्यहाँबाट कुनैपनि कार्यान्वयन भएन। बरु उनीहरुलाई भोलिपल्टदेखि त्यसरी अनुगमन गर्ने अधिकार नै खोसियो। त्यसैले उनीहरु अहिले नागरिक वडापत्र कार्यालयमा छ कि छैन भनेर मात्रै हेरेर फर्किने गरेका छन्।

निजामती क्षेत्रमा पनि यस्ता केही कर्मचारीहरु छन् जो आफ्नो कर्तव्य र मुलुकको समृद्धि प्रति सचेत छन्। उनीहरु विहान बेलुका साग र भात मात्रै खाएर पनि राज्यबाट अकूत सम्पत्ति कमाउन चाहँदैनन्। त्यस्ता कर्मचारीहरुलाई अहिले काम नहुने शाखाहरु पुस्तकालय, स्टोर जस्ता शाखामा व्यवस्थापन गरिदिने गरेका छन्। ताकि आफूले गरेका नराम्रा कामको सूचना उनीहरु मार्फत् बाहिर नपुगोस्। अझ समस्या त के छ भने कसैकसैले त उनीहरुलाई राम्रै शाखामा पनि राख्ने गरेकका छन्। विभागका ती अधिकारीले हाम्राकुरासँग भने 'हामीले कुनैपनि संस्था वा कम्पनीको सबै कमजोरी र बदमासीको प्रमाण सहित पेश गरेपनि त्यो कारबाहीको साँटो रद्दिको टोकरीमा पुग्दा भने निकै दुख लाग्छ।' 

'कार्यकर्ता कर्मचारी'को अबैध धन्दाको संरक्षण गर्न सतर्कता केन्द्रको चीर हरण !

उनी आफैंले उपभोक्ता ठग्ने कति संस्थाहरुको अनुगमन गरे। दर्जनौं प्रतिवेदनहरु पनि पेश गरे। तर, उनले पेश गरेको प्रतिवेदन अहिले पनि कुन् टोकरीमा सडेर बसेको छ कसैले भेट्दैन। 'कसैलाई कारबाही गर्न थाल्यो भने सिधै सचिवदेखि मन्त्री हुँदै उस्तै परे प्रधानमन्त्री कार्यालयबाट समेत धम्की आउन थाल्छ अनि कसरी काम गर्नु ?' ती कर्मचारी भन्छन् 'ती सबै देख्दा र आफ्नो नियती सम्झिँदा त धुरुधुरु रुन मन लाग्छ।' 

'कर्मचारीहरुमाथि सधैं आरोप लगाउने र घूस मागेर हैरान भएका कोही सेवाग्राही छन् भने त छिछि र दुरदुर समेत गर्छन् निजामती कर्मचारीलाई। आपूर्ति विभागका ती अधिकारी भन्छन् नेपाल ग्यासको सवाल पनि त्यस्तै हो। यसले उपत्यका बासीको सुरक्षामा समस्या ल्याउँछ भनेर मन्त्रालयले प्रतिवेदन बुझायो। हाम्रो डिजी सावको नेतृत्वमा समिति बनेको हो। तर, त्यो अहिले कहाँ बेपत्ता पारियो त्यो थाहा छैन। अनि यस्तो ठाउँमा तपाईँ सुशासनको कुरा गर्नु हुन्छ ?' ती कर्मचारीले भने।  

'यहाँ राम्रा र नराम्रा हैन पैसाको खेलमा कसले कति लगानी गर्न सक्छ भन्नेहरुबीच प्रतिस्पर्धा हुन्छ। न त एक दुई कर्मचारीको चरित्र राम्रो भएर यो सुध्रिन्छ न त एक दुई जना पत्रकारले लेखेर यो सुध्रिन्छ।' ती कर्मचारी भन्छन् 'पशुपति नाथको कृपा रहेसम्म चल्छ त्यसपछि यो देश त्यस्तै होला।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ