arrow

किन हुन्छ व्यक्ति हत्या ?

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
Killed.jpeg

काठमाडौं। राजधानीको शान्तिनगरमा नेपाल निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचनको गोली हानी हत्या भयो। सार्पसुटरको गोली प्रहारबाट भएको गौचनको हत्या भारतीय आपराधिक समूहबाट भएको आकलन धेरैले गरेका थिए। लोप्साङ लामाले प्रहरी र केही सञ्चारमाध्यममा फोन गरी घटना मनोज पुनले गराएको जानकारी दिए। त्यो सूचनालाई प्रहरी संगठनकै केही अधिकृतले चर्चामा आउन र आफूलाई स्थापित गर्न जिम्मेवारी लिएको भन्दै हाँसोमा उडाए।

घटना अनुसन्धान गर्न बनेको अनुसन्धान कार्यदल र केन्द्रीय अनुसन्धान ब्युरोले गौचनको लगानीबारे तथ्य बाहिर ल्यायो । प्रहरी इन्काउन्टरमा मारिएका गुन्डा नाइके कुमार घैंटेको साढे दुई करोड रुपैयाँ गौचनले आफ्नो डाँफे कन्ट्रक्सनमा लगानी गरेका थिए । त्योमध्ये एक करोड रुपैयाँ अर्का गुन्डा नाइके समीरमानसिंह बस्नेतले दाबी गरेको रहस्य खुलेको थियो ।

गौचनलाई पटकपटक फोनमार्फत पैसा फिर्ता गर्न वा वीरगन्जदेखि विराटनगर जोड्ने हुलाकी राजमार्गको ठेक्काको दुई प्रतिशत आफूलाई दिन समीरले पटकपटक धम्क्याए । गौचनले मानेनन् । उनको गोली हानी हत्या गरियो । गौचन र मनोज पुन एउटै ग्याङमा रहेर काम गर्दै आएका थिए ।

गौचनको हत्यामा बस्नेतसँगै पुनको पनि संलग्नता रहेको दाबी प्रहरीको छ । राज्यको सुरक्षा निकायलाई ठाडै चुनौती दिएर गराइएको यो घटनालाई कम आँक्न मिल्ने अवस्था थिएन । शुक्रबार बिहान बुटवलको देवदहमा अर्का फर्निचर व्यापारी वसन्त पौडेल बलुको गोली हानी हत्या भयो । हत्याको जिम्मेवारी पुनले लिएका छन् । पुनले एक वर्षअघि युवा संघ नेपालका रुपन्देही अध्यक्ष दुर्गा तिवारीको हत्या गरेका थिए ।

कारण थियो, पुनले थुप्रै व्यवसायीबाट चन्दा असुली गरेका थिए । तिवारीले त्यसको विरोध गरे र पुनलाई कारबाही गरे । त्यसको रिसमा पुनले तिवारीको हत्या गरे । तिवारी र शुक्रबार बिहान हत्या गरिएका बलुको सम्बन्ध घनिष्ट थियो । तिवारी हत्या मनोज पुनले नै गराएको जानकार एक मात्रै व्यक्ति थिए बलु ।

सरकारले भैरहवालाई लगानी गर्न सुरक्षित रहेको घोषणा गत वर्ष मात्रै गरेको थियो । तर, भैरहवा पछिल्लो समय धेरै असुरक्षित बन्दै आएको पछिल्ला घटनाले देखाएको छ । काठमाडौंमा गौचनको हत्या भएपछि बस्नेत र पुनले रुपन्देही र काठमाडौंका थुप्रै व्यापारीलाई धम्क्याएर पैसा असुली गरेको अनुमान प्रहरीको छ ।

नेपालमा भएका केही ठूला हत्याकाण्डमा भारतीय आपराधिक गिरोहको संलग्नता देखिए पनि पछिल्ला समय नेपालभित्रैका गुन्डा समूह भारतमा लुकीछिपी बसेर हत्याकाण्ड मच्चाइरहँदा यसले सुरक्षा निकायमा थप चुनौती देखिएको छ ।

पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी व्यक्ति हत्या खासगरी तीन प्रकारले हँुदै आएको तर्क गर्छन् । ठकुरीका अनुसार पहिलोमा क्षणिक आवेग, दोस्रोमा आफ्नो दबदबा देखाउन र तेस्रो, घटनाको जिम्मेवारी लिएर पैसा असुली गर्न हुने गरेको छ ।

उनका अनुसार अहिले रुपन्देहीको भैरहवा र बुटवलमा भएका घटना त्रासमा राखेर पैसा असुल्नकै लागि गराइएका घटना हुन् ।

हत्या गरिसकेपछि मिडिया र प्रहरीलाई फोन गरी घटना आफूले गराएको जानकारी गराउने प्रवृत्ति धेरै डरलाग्दो रहेको र यसलाई राज्यले समयमै सम्बोधन गर्न नसके परिस्थिति झन् भयावह हुने देख्छन् ठकुरी ।

उनी भन्छन्, ‘पहिले हत्याका घटना कसले गरायो पहिचान गर्न धेरै समय लाग्थ्यो । तर, अहिले पटकपटक हत्या घटनामा मुछिएका अभियुक्तले राज्यको सुरक्षा संयन्त्रलाई खुला चुनौती दिँदै घटनाको जिम्मेवारी लिइरहेको देखिन्छ, त्यस्ता अपराधी समूहलाई राज्यले कानुनी दायरामा समयमै ल्याउन नसक्दा पनि घटना दोहोरिने सम्भावना उत्तिकै रहन्छ ।’ ठकुरीका अनुसार रुपन्देही भारतीय सीमाबाट नजिक भएकाले पनि व्यक्ति हत्या गरेर भाग्न र लुक्न सजिलो भएका कारण जघन्य प्रकृतिका घटना दोहोरिएको हो ।

उनले नेपालकै गुन्डासमूह भारतमा बसेर आपराधिक सञ्जाल फिँजाई नेपाली व्यवसायी हत्या गर्नुले राज्यको सुरक्षा चुनौतीमाथि प्रश्नचिह्न खडा गरेको तर्क गर्छन् । व्यवसायीले आफूलाई आएको धम्की लुकाइदिँदा पनि यस्ता घटनाले बढोत्तरी पाइरहेको उनको धारणा छ।

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले रुपन्देहीको सुरक्षा व्यवस्था सुदृढ हुँदाहुँदै पनि घटना भएको बताए । उनले भने, ‘मनोज पुन अहिले धम्क्याएर पैसा असुल्न लागेको देखिन्छ । प्रहरीले सूचना संकलन गरिरहेको छ । ऊ अन्तर्राष्ट्रिय प्रहरीको पनि खोजी सूचीमा छ । जसरी पनि नियन्त्रणमा ल्याउँछौं।’(अन्नपूर्णपोस्ट दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ