arrow

सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने

प्रदेश प्रमुख तोकेर सातै प्रदेशका सदस्यको शपथ केन्द्रबाट गराउने तयारी

logo
प्रकाशित २०७४ पुष २२ शनिबार

काठमाडौं। सरकारले प्रदेशको अस्थायी राजधानी नतोक्ने भएको छ। प्रदेश राजधानीको माग गर्दै देशका विभिन्न ठाउँमा आन्दोलन चर्कन थालेपछि सरकारले अस्थायी राजधानी तोक्ने गृहकार्य तत्काललाई थाती राखेको हो । अब बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख मात्र नियुक्त गर्ने तयारी गरेको छ।

प्रदेश राजधानी माग्दै देशभर आन्दोलन चर्केको र एमाले–माओवादीले त्यस विषयमा सुझाबसमेत दिन नचाहेपछि अस्थायी राजधानी नतोक्ने निष्कर्षमा सरकार पुगेको कानुनमन्त्री यज्ञबहादुर थापाले बताए। सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख मात्रै नियुक्त गर्ने उनले बताए ।

वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले सरकार अस्थायी राजधानी तोकेर विवादमा पर्न नचाहेको बताए। ‘अत्यावश्यक भएकाले सोमबार प्रदेश प्रमुख तोकिन्छ, तर अस्थायी राजधानी तोक्ने पक्षमा सरकार छैन,’ उनले भने । प्रदेश प्रमुखका लागि अस्थायी कार्यालय व्यवस्थापन भने गरिने उनले बताए ।

मन्त्री विश्वकर्माका अनुसार सरकारले सातवटै प्रदेश प्रमुखहरूको अस्थायी कार्यालय काठमाडौंमै राख्ने तयारी गरेको छ । प्रदेश सभा सदस्यहरूले काठमाडौंमै शपथग्रहण गर्नेछन् । त्यसपछि बस्ने प्रदेश सभा आफैँले प्रदेशको राजधानी तोक्ने उनले बताए ।

‘प्रदेश प्रमुखहरू काठमाडौंमै हाजिर गरेर बस्नुहुन्छ, प्रदेश सभाका लागि निर्वाचित सांसदहरूलाई काठमाडौंमै शपथ खुवाउनुहुन्छ, शपथग्रहण गरेलगत्तै उहाँहरूको प्रदेश सभा काठमाडौंमै बस्छ र त्यही बैठकले प्रदेश राजधानी तोक्नेछ,’ मन्त्री विश्वकर्माले भने ।

प्रदेश प्रमुख नियुक्त गर्न कुनै विवादमा नतानिएका, सर्वस्वीकार्य र सामाजिक प्रतिष्ठा भएका व्यक्तिको छनोट गर्ने काम भइरहेको मन्त्री थापाले बताए । प्रदेशको राजधानी तोक्ने अधिकार सरकारले प्रदेश सभालाई छाड्ने उनले बताए । ‘एमाले र माओवादीले प्रदेश प्रमुख र अस्थायी राजधानीबारे सरकारलाई सुझाब नदिएकाले सरकार अप्ठेरोमा परेको छ, संविधानको व्यवस्थाअनुसार प्रदेश सभाले नै राजधानी तोक्नेछ,’ उनले भने ।

मीनबहादुर विश्वकर्मा, वाणिज्यमन्त्री

सरकार अस्थायी राजधानी तोकेर विवादमा पर्न चाहँदैन । अत्यावश्यक भएकाले सोमबार प्रदेश प्रमुख तोकिन्छन्, तर अस्थायी राजधानी तोकिँदैन ।

प्रदेश प्रमुखहरू काठमाडौंमै हाजिर गरेर बस्नुहुन्छ, प्रदेश सभाका सांसदहरूलाई काठमाडाैँमै शपथ खुवाउनुहुन्छ, शपथपछि काठमाडौंमै प्रदेश सभा बस्छ र त्यही बैठकले प्रदेश राजधानी तोक्नेछ ।

यज्ञबहादुर थापा, कानुनमन्त्री
एमाले र माओवादीले प्रदेश प्रमुख र अस्थायी राजधानीबारे सरकारलाई सुझाबसमेत नदिएपछि सरकार अप्ठेरोमा परेको छ । अब संविधानको व्यवस्थाअनुसार प्रदेश सभाले नै राजधानी तोक्नेछ ।

संविधानमा प्रदेशको राजधानी तोक्ने अधिकार प्रदेश सभालाई रहेकाले सरकारले निर्णय नगर्ने मन्त्री विश्वकर्माले बताए । तर, संविधानले प्रदेश सभाले राजधानी नतोक्दासम्म संघीय सरकारले नै अस्थायी राजधानी तोक्न सक्ने व्यवस्था छ । ‘संविधानले संघीय सरकारले अस्थायी मुकाम तोक्नेछ भनेको छैन, तोक्न सक्नेछ भनेको छ, हामी तोक्न नसक्ने भयौँ,’ उनले भने । अस्थायी राजधानी तोक्न सरकारले अन्तिम गृहकार्य गरिरहेका वेला विभिन्न ठाउँमा आन्दोलन चर्किन थालेपछि सरकार पछि हटेको हो ।

 २४ माघमा राष्ट्रिय सभा निर्वाचन 
सरकारले राष्ट्रिय सभा निर्वाचन २४ माघमा गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय सभा निर्वाचनको मिति तोकेको हो । यसअघि निर्वाचन आयोगका आयुक्तहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई २५ माघमा राष्ट्रिय सभा निर्वाचनको मिति तोक्न सुझाब दिएका थिए । बाँकी रहेको एक महिना निर्वाचन तयारीमा खर्च हुने आयोगको भनाइ छ । सरकारले आयोगकै सुझाबअनुसार निर्वाचनको मिति घोषणा गरेको जनाएको छ । बिहीबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री देउवाले राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले प्रस्ताव गरेको मितिबारे जानकारी गराएका थिए । उनले उपयुक्त मितिबारे दलहरूको सुझाब मागेका थिए । तर, एमाले र माओवादी नेताहरूले निर्वाचनका लागि ठोस सुझाब दिएनन् । दुवै दलका नेताले जतिसक्दो चाँडो राष्ट्रिय सभा निर्वाचन गर्न माग गरेका थिए ।

किन २४ माघ ?
कानुनमन्त्री यज्ञबहादुर थापाले आयोगकै सुझाबका आधारमा मिति तोकिएको बताए । ‘आयोगले २५ माघको मिति प्रस्ताव गरेको थियो, सरकारले एक दिनअघि मिति तोकेको छ,’ उनले भने । थापाले राष्ट्रिय सभा निर्वाचनको मिति घोषणासँगै राजनीतिक गतिरोध फुकेको बताए ।

एक महिनामा के–के काम हुन्छन् ?
निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा भाग लिन पुस मसान्तसम्म दल दर्ताको समय दिएको छ । त्यसपछि निर्वाचनका लागि सातवटै प्रदेशमा मतदाता नामावली संकलन गर्ने, सबै प्रदेशमा निर्वाचन कार्यालय खोल्ने, उच्च अदालतका मुख्य न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत तोक्ने आयोगले जनाएको छ । आयोगले निर्वाचनको सबै तयारी पूरा गर्न एक महिना लाग्ने बताएको छ । त्यही आधारमा एक महिनापछि राष्ट्रिय सभा निर्वाचनको मिति प्रस्ताव गरेको आयोगको भनाइ छ । आयोगले मतपत्र छपाइ, उम्मेदवारी दर्ता, दाबी–विरोध र चुनावी प्रचारसहितका तयारी यही एक महिनाभित्र हुने जनाएको छ ।

यसरी हुन्छ निर्वाचन
सातवटै प्रदेशमा निर्वाचन हुँदा त्यहाँका मतदाताले सोही प्रदेशका उम्मेदवारलाई मात्र मत दिनुपर्नेछ । प्रत्येक प्रदेशबाट आठजनाका दरले ५६ जना निर्वाचित हुन्छन्, यसमध्ये तीनजना महिला, एक दलित, एक अपांगता वा अल्पसंख्यक र तीनजना सदस्य खुलाबाट निर्वाचित हुन्छन् । जसमा तीन–तीनजना महिला र खुला सदस्य एकल संक्रमणीय विधिबाट निर्वाचित हुन्छन् । एकजना दलित, एकजना अपांगता वा अल्पसंख्यक बहुमतीय प्रणालीबाट निर्वाचित हुन्छन् । ५९ सदस्यीय राष्ट्रिय सभामा सरकारको सिफारिसमा तीनजना राष्ट्रपतिबाट मनोनीत हुन्छन् । मनोनीतमा पनि एकजना महिला हुनुपर्छ ।

मतपत्र कस्तो हुन्छ ?
महिला र खुलाका लागि छुट्टै तथा दलित र अपांगता वा अल्पसंख्यकका लागि छुट्टाछुट्टै मतपत्र हुनेछन् । मतभार छुट्याउन प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि मतपत्र पनि छुट्टाछुट्टै रङका हुन्छन् । जम्मा मतदाता २०५६ छन् । जसमा ५५० प्रदेश सभा सदस्य र १५०६ जना स्थानीय तहका प्रमुख र उपप्रमुख छन् । राष्ट्रिय सभा निर्वाचनका लागि प्रदेश सभा सदस्यको मतभार ४८ राखिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभार १८ राखिएको छ। (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ