arrow

अस्थायी राजधानीले तनावमा सरकार : बिचको बाटो खोज्दै छाैँ : कानुनमन्त्री (अन्तर्वार्ता)

logo
प्रकाशित २०७४ पुष २२ शनिबार
yaga-badur-thapa-mantri_kanun.jpg

प्रधानमन्त्री कार्यालयका प्रवक्ताले केही दिन पहिले निकालेको सूचनाले देशभर आन्दोलनको आगो फैलाइदिएको छ । पछि प्रदेशको अस्थायी मुकामको प्रस्तावबारे कुनै निर्णय नभएको भन्दै विज्ञप्ति निकालियो तर, आन्दोलन थामिएन । ती प्रवक्ताको त्यही सूचनाले जिम्मेवारी समेत हेरफेर भइसकेको छ । तर, सरकारले तोक्न लागेको ठाउँमा प्रदेशको अस्थायी राजधानी समेत हुन नसक्ने भन्दै प्रदेश ४ बाहेक सबै ठाउँमा हड्ताल, प्रदर्शन सुरु भएका छन् । यो अवस्थामा वर्तमान सरकाले अपजसबाट बच्न बिचको बाटो अपनाउने भनिरहेको छ । यही विषयमा हामीले कानुनमन्त्री यज्ञबहादुर थापासँग संक्षिप्त कुरा गरेका छौँ ।

० सरकारले अहिले प्रदेशको अस्थायी राजधानी तोक्दैन हैन ?
–नतोक्ने भन्ने भनाई होइन हाम्रो । प्रदेशको राजधानी संविधानतः प्रदेश सभाले तोक्ने हो । अस्थायी राजधानी सरकारले तोक्न सक्ने भन्ने कुरा हो । त्यसको बारेमा हामीले छलफल गरेका हौँ । सहमतिको प्रयास गरेहा हौँ । अस्थायी नै भनिरहँदा पनि देशभर एक प्रकारको तनाव छ । जनता आन्दोलित छन् । यो अवस्थामा अहिलेका प्रतिपक्ष र भोलिका ठूला पार्टीहरुले देखाउनु पर्ने सदासयता, सद्भाव र सहयोग हो, त्यो सरकारले प्राप्त गर्न सकेन । त्यसैले सरकार अहिले असहज स्थितिमा छ । प्रदेश प्रमुख नियुक्तिको तयारी भइसकेको छ ।

० अहिले देशभर आन्दोलनको आगो दन्कियो, र सरकार त्यसैलाई देखेर पछि हट्न लाग्यो भन्न मिल्छ ?
–तर्क राख्ने कुरामा सबै स्वतन्त्र छन् । जब देशमा कुनै राष्ट्रिय इस्यु हुन्छ । संवेदनशील कुराहरु हुन्छन् । जब राष्ट्र नै एकजुट हुनु पर्ने खालका निर्णयहरु गर्नु पर्छ । त्यस्तो बेलामा भोलि सत्ता सम्हाल्न आतूर पार्टीहरुले पनि आफ्नो जिम्मेवारी निभाउनु पर्छ भन्ने हाम्रो आग्रह हो । होइन भने हामी प्रदेश प्रमुख तोक्छौँ । राष्ट्रिय सभाको निर्वाचन गराउँछौँ । निर्वाचन गराएपछि संविधानले भने बमोजिम प्रदेश सभाले राजधानी तोक्छ । अहिले अस्थायी मुकाम भन्नुस् वा अस्थायी राजधानी भन्नुस् त्यसका लागि सरकारले आवश्यक सल्लाह सबै पार्टीहरुसँग गरेको छ । अझै प्रयास जारी छ । समय बाँकी नै छ । अहिले नै प्रदेशको राजधानी नतोक्ने या तोक्ने भन्ने कुराको निचोडमा हामी पुगेका छैनौँ । आवश्यक सरसल्लाह गरेर के गर्नु पर्छ सरकारले उपयुक्त निर्णय लिन्छ ।

० मेरो जिज्ञासा के हो भने, सरकारले अबको मन्त्रिपरिषदबाट अस्थायी राजधानी तोक्छ कि तोक्दैन ?
–निर्वाचन गर्नु नै छ । प्रदेश प्रमुख नियुक्त गर्नु नै पर्ने हुन्छ । प्रदेश प्रमुख कहीँ न कहीँ रहने व्यवस्था हुनै पर्दछ । प्रदेश प्रमुखको एउटा मुकाम रहला । अहिले अस्थायी राजधानी भनिरहँदा खेरिसमेत जुन एउटा माहोल देखा परेको छ । आन्दोलन चर्किएको छ । तनाव छ । यस्तो बेलामा फुकिफुकी पाइला चाल्नु पर्छ । सरकार आफ्नो जिम्मेवारी पूरा गर्न उद्दत छ । प्रदेश प्रमुख न तोकी सुखै छैन । किन भने प्रदेश सभाको परिणाम प्रदेश प्रमुखले बुझ्नु पर्छ ।

० सरकारले गर्छ के, प्रदेश प्रमुख मात्रै तोक्छ, तपाईले भनेको अस्थायी मुकाम पनि तोक्छ ?
–निर्वाचन गर्ने र प्रदेश प्रमुख तोक्ने काम हामी गर्छौँ । अहिले अस्थायी राजधानी हामीले भनिरहँदा पनि त्यसमा सहमति जुट्न नसकेको अवस्था छ । अब सरकारले बिचको बाटो अपनाउँछ ।

० बिचको बाटो भनेको के, राजधानी भन्ने शब्दबाट टाढा रहने हो ?
–बिचको बाटो अपआउँछौँ । सम्मानीय प्रधानमन्त्री ज्यूले यसमा आवश्यक सरसल्लाह गर्दै हुनुहुन्छ । यो मन्त्रिपरिषद्ले गर्ने निर्णय हो । म अहिलेलाई यत्तिनै कुरा राखौँ । सरकार जिम्मेवार छ । चुनाव गराउँछ । प्रदेश प्रमुख तोक्छ । यो कुरामा ढुक्क रहँदा हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ