arrow

ठगी गर्दै बाउन्स चेक दिंँदै, यस्तो छ कानुनी व्यवस्था 

logo
प्रकाशित २०७४ पुष २३ आइतबार
cheque-sample.jpg

काठमाडौँ । आफैंले सापटी दिएको रकम उठाउन हरिबहादुर गिरी र रमेश दुलालले कति गोता खेप्नुपर्‍यो त्यसको कुनै हिसाब छैन । हरि र रमेशले ललितपुरको सातदोबाटोका श्यामकुमार दाहाललाई जनही १०र१० लाख रुपैयाँ दिएका थिए ।

तारन्तारको ताकेतापछि श्यामले उनीहरूलाई चेक दिए । तर जब बैंक गएर चेक साटन खोजियो, तब पो थाहा लाग्यो, श्यामको खातामा पैसा थिएन ।

चेक बाउन्सको फन्दामा परेका हरि र रमेश प्रतिनिधि पात्रमात्रै हुन् । लेनदेनको कारोवार वा कसैको पैसा फिर्ता गर्दा रकम नभएको चेक अर्थात् बाउन्स चेक दिने र मान्छे झुलाउने धन्दा प्रचलनमा छ । 

असारयताको पाँच महिना अर्थात् मंसिरसम्ममा उपत्यकाका तीन जिल्लामा मात्रै चेक बाउन्सका ९० वटा मुद्दा प्रहरीमा दर्ता भएको छ । प्रहरीका अनुसार यस्ता चेक बाउन्सका मुद्दामा करिब १९ करोड रुपैयाँ ठगी भएको देखिन्छ ।

कतिसम्म भने श्याम कुमारले हरि र रमेशलाई चेक दिए र लगत्तै बैंकमा गएर आफनो चेक हराएको र दुरुपयोग हुन सक्ने भन्दै उजुरी दिए । खातामा रकम नभए पनि केही समयपछिको मिति राखेर चेक दिने र चेक हरायो भन्दै आफैले उजुरी गर्ने श्यामको बठ्याइँ खुलिहाल्यो । 

चेक हात पर्ने बित्तिकै हरि र रमेशले बाउन्स गराए । त्यसको केही दिनपछि श्यामले चेक हराएको भन्दै उजुरी गरेपछि उनको पोल खुलिहाल्यो । 

श्यामले २०७३ माघ २ गते र २०७३ पुस १४ गतेको मिति राखेर दुइटा चेक काटेका थिए । बाउन्स चेक दिएर झुक्याएको भन्दै पुस ४ गते प्रहरी परिसर काठमाडौंले श्यामलाई पक्राउ गर्‍यो । 

अहिले प्रहरीले उनीमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान जारी राखेको छ । प्रहरीका अनुसार श्यामले बाउन्स चेकको मुद्दा नपरोस् भनेर नै चेक हराएको नाटक गरेका थिए ।

उपत्यकाको तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै चेक बाउन्स र बैंकिक कसुरसम्बन्धी मुद्दाहरू दर्ता भएको देखिन्छ । पछिल्लो पाँच महिनामा प्रहरी परिसर काठमाडौंमा बैंकिक कसुरका ७९ वटा मुद्दा दर्ता भएका छन् । 

जसमध्ये अधिकांश चेक बाउन्ससँग सम्बन्धित छन् । यही अवधिमा भक्तपुरमा ५ र ललितपुरमा ७ मुद्दा दर्ता भएका छन् । प्रहरी परिसर काठमाडौंमा दर्ता भएका मुद्दामा ७ करोड ६७ लाख ९६ हजार रुपैयाँ बराबरको बाउन्स चेक जारी भएको देखिन्छ । 

त्यस्तै प्रहरी परिसर भक्तपुरमा दर्ता भएको मुद्दामा चेक बाउन्समार्फत ३१ लाख रुपैयाँ ठगिएको र ललितपुरमा १ करोड २८ लाख ५५ हजार रुपैयाँ चेक बाउन्समार्फत ठगी भएको उजुरी छ ।

चेक बाउन्सको मुद्दामा सामान्यदेखि ठूलो आर्थिक कारोवार गर्नेहरूसमेत पीडित बनेका छ्न । दुखजिलो गरेर जीवनयापन गर्दै आएकी धनमाया लामाले चिनेजानेकै भोजराज परियारलाई केही वर्षअघि सापटी भन्दै ४ लाख ८ हजार रुपैयाँ दिएकी थिइन् । 

तर भोजले भनेको समयमा रकम त तिरेनन नै, रकम नै पचाउन अनेकन धम्की दिए । धनमायाले पनि हिम्मत हारिनन् । उनी बारम्बार दौडधुप गरेपछि भोजराजले २०७३ चैत ४ गते साटिने चेक दिए । तर जब धनमाया चेक बोकेर राष्ट्रिय वाणिज्य बैंक पुगिन् तब पो उनले थाह पाइन्, खातामा रकम छैन ।

चेक बोकेर धनमाया कतिपटक बैंक पुगिन् त्यसको कुनै हिसाबकिताब छैन । भोजराजले खातामा रकम राख्ला र निकाल्न पाइएला भन्ने उनको आशा निराशामा परिणत भएपछि उनी प्रहरीकहाँ पुगिन् । प्रहरी परिसर काठमाडौंले अहिले भोजराजलाई पक्राउ गरेर चेक बाउन्स गरेको आरोपमा अनुसन्धान थालिरहेको छ । 

प्रहरीका अनुसार रकम नै नभएको चेक दिने र फरार हुनेको संख्या पनि ठूलो छ । पछिल्लो पाँच महिनामा काठमाडौं प्रहरी परिसरले बैंकिङ कसुरअन्तर्गत २३ जनालाई पक्राउ गरेको छ । ५८ जना फरार छन्, जसमध्ये ठूलो संख्या चेक बाउन्ससँग सम्बन्धित छ ।

त्यस्तै प्रहरी परिसर ललितपुरले बैंकिङ कसुरकै मुद्दामा पछिल्लो पाँच महिनामा ७ जनालाई पक्राउ गरेको छ । २ जना फरार छन् । प्रहरी परिसर भक्तपुरले भने यही मुद्दामा पछिल्लो पाँच महिनामा १ जनालाई पक्राउ गरेको छ भने दुई जना फरार छन् । 

महानगरीय प्रहरी परिसरका एआईजी जयबहादुर चन्दका अनुसार जाली चेक दिएर ठग्नेको संख्या पछिल्ला महिनामा बढिरहेको छ । चन्दको अनुभवमा महिनौंपछिको मिति राखेर चेक दिने र महिनौंसम्म पीडितलाई झुलाइराख्ने प्रवृत्ति देखिन्छ ।

कस्तो छ कानुनी व्यवस्था
चेक बाउन्सको मुद्दालाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ ले परिभाषित गरेको छ । यो ऐनले खातामा रकम नभएको जानीजानी चेक काटी भुक्तानी लिने वा दिने व्यक्तिलाई १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेका छ । 

त्यस्तै विनिमय अधिकारपत्र ऐन २०३४ मा पनि बाउन्स चेकसम्बन्धी केही व्यवस्था गरिएको छ । यो ऐनको परिच्छेद ९ मा भनिएको छ, बैंकमा आफ्नो निक्षेप छैन वा निक्षेप भए पनि पर्याप्त छैन भन्ने जानीजानी कुनै व्यक्तिले चेक काटी कसैलाई हस्तान्तरण गरेमा र त्यसरी हस्तान्तरण गरिएको चेक भुक्तानीका लागि सम्बन्धित बैंक समक्ष प्रस्तुत गर्दा पर्याप्त निक्षेप नभएको कारणबाट बैंकले चेक अनादार भएमा चेक काटने व्यक्तिले चेकबाट उल्लेखित रकम र ब्याजसमेत धारकलाई भराई चेक काटने व्यक्तिलाई तीन महिनासम्म कैद वा तीन हजारसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ । (कान्तिपुर दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ