arrow

लिफ्ट प्रविधिले पुर्‍यायो म्याग्दी नदीको पानी डाँडोमा

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
tap-water.jpeg

म्याग्दी ।बेनी नगरपालिका–२ स्थित खबरामा निर्मित ‘लिफ्ट प्रविधि’को सिँचाइ आयोजना सञ्चालनमा ल्याइएको छ । तरकारी खेतीको पकेट क्षेत्र खबरामा राधाकृष्ण कृषि सहकारी संस्थाले कृषि विकास कार्यालयको अनुदान सहयोग, समुदायको श्रमदान र थप रकमसमेत जुटाएर लिफ्ट सिँचाइ आयोजना निर्माण गरेको हो ।
 
प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले आइतवार सो आयोजना शुभारम्भ गर्दै प्रविधिको प्रयोगले खेर गएको पानीलाई उपयोग गरी सिँचाइमा सहज हुने बताए । करिब एक वर्षको अवधिमा निर्माण भएको सो आयोजनाबाट स्थानीय तरकारी खेतीमा आबद्ध कृषकलाई राहत मिलेको छ ।

कुल  १८ लाख खर्च भएको यस आयोजनामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत जिल्ला कृषि विकास कार्यालयबाट रु दश लाख अनुदान, समुदायबाट रु चार लाख बराबरको श्रमदान र चार लाख ऋण व्यहोरिएको उपभोक्ता समितिका अध्यक्ष चन्द्रबहादुर कार्कीले बताए ।
 
लभ्लीहिलको पुछारमा रहेको हाँडेभिरस्थित म्याग्दी नदी किनारमा दश मिटर गहिरो इनार बनाइएको छ । सो इनारदेखि विद्युतीय उपकरणको सहायताले पानी तानेर २५० मिटर माथि लभ्लीहिलको डाँडामा सिँचाइको लागि पानी पुगेपछि स्थानीयवासी हर्षित भएका छन् ।

इनारदेखि ५०० मिटर ६० एमएमको पाइपबाट लभ्लीहिलमा पुर्‍याइएको पानी रिजर्भ ट्यांकीमा संकलन गरेर वितरण गर्ने व्यवस्था मिलाइएको छ । पानी तान्नका लागि २० हर्स पावर क्षमताको पम्प जडान गरिएको र प्रतिघण्टा १० हजार लिटर पानी तान्न सक्ने क्षमता रहेको सो आयोजनाका प्राविधिक कृष्ण खत्रीले बताए ।

पानी खोल्न र बन्द गर्न खोलामा पुग्नुपर्ने झण्झटबाट मुक्त हुन मोबाइल एप्सको प्रयोग गरिएको छ ।  मोबाइल एप्समा सेटिङ मिलाएपछि अन बटन थिचेको करिब १० सेकेण्डमा पानी आउने र अफ बटन थिचेको करिब ६ सेकेण्डमा पानी बन्द हुन्छ । अहिले लम्लीहिल नजिकै पुर्‍याइएको पानीलाई दारिमपाटासम्म पुर्‍याएर थप विस्तार गर्ने उपभोक्ता समितिले जनाएको छ ।

व्यावसायिक तरकारी खेतीका हिसाबले प्रशस्त सम्भावना बोकेको खबरामा सिँचाइको समस्या समाधानका लागि कृषकले म्याग्दी नदीको पानीलाई आधुनिक लिफ्ट प्रविधिमार्फत गाउँमा पुर्‍याउन सफल भएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ