arrow

बेलहीया नाकाबाट निर्यात बढ्यो

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ पुष २४ सोमबार
belauri.jpg

बुटवल । रूपन्देहीको बेलहिया नाका हुँदै चालु आर्थिक  बर्ष २०७४/७५ को पाँच महिनामा निर्यात बढेको पाइएको छ । भैरहवा भन्सार कार्यालय बेलहियाका अनुसार गत बर्षको सोही अबधिको तुलनामा चालु बर्षको ५ महिनामा निर्यात हुने बस्तुहरू बढेका हुन् ।

यो नाका हुँदै निर्यात हुने बस्तुमा चोकर भुस, पिना, फापर कोदो र अन्य खाद्यान्न, जडिबुटी, रद्धी कागज, काँच र डण्डी ट्युबहरू, सेन्थेटिक यार्न, बोरा झोला तथा अन्य पदार्थको कपडा, रेसाको कपडा, अदुवा, सुठो प्रमुख बस्तु हुन् ।

फापर कोदो र अन्य खाद्यान्न निर्यातमा केही कमि भए पनि अरू सबै बस्तुहरूको निर्यात बढेको भन्सार कार्यालयका सूचना अधिकृत गोपाल खत्रीले बताए । फापर कोदोको मौसम नभएका कारणले केही मात्रामा कमी देखिए पनि अरू सबै बस्तुहरूको निर्यात विगतको तुलनामा धेरै बढेको छ ।

कार्यालयका अनुसार गत बर्षको श्रावणदेखि मंसिर मसान्तसम्म ८५ करोड १४ लाख ७० हजार रूपैयाँ बराबरको खाद्य तथा अन्य बस्तु भारत निर्यात भएको थियो भने चालु आर्थीक बर्षको सोही अबधिमा निर्यात बढ्न गई १ अर्ब ४० करोड ८९ लाख ९१ हजार रूपैयाँ बराबरका बस्तुहरू निर्यात भएका छन् ।

चालु बर्षमा सबैभन्दा बढी सेन्थेटिक यार्न भारततर्फ निकासी भएको छ । चालु पाँच महिनामा २२ लाख ९० हजार ३ सय ८५ केजी सेन्थेटिक यार्न भारत निर्यात भएको छ । जसको मूल्य ३७ करोड ७२ लाख १६ हजार हुन्छ । गत बर्ष यही अबधिमा १६ लाख ७३ हजार ४ सय ९८ केजी बराबरको निर्यात भएको थियो । जसको मुल्य २४ करोड १५ लाख १ हजार रूपैयाँ हुन्छ ।

त्यसैगरी ३१ करोड ७६ लाख ५१ हजार रूपैयाँ बराबरको १ करोड ७९ लाख ७ सय ८४ केजि बोरा झोला र अन्य पदार्थको झोला भारत निर्यात भएको छ । गत बर्ष यही अबधिमा १ करोड ३७ लाख ४४ हजार ७ सय १४ केजि निर्यात भएको थियो जसको मुल्य २२ करोड ७२ लाख १ हजार रूपैयाँ थियो ।

अन्य रेसाको कपडा चालु बर्षको ५ महिनामा ३ करोड ५२ लाख ६८ हजार ८ सय ४४ किलो निर्यात भएको छ । यसको मुल्य २० करोड ६७ लाख ६८ हजार रूपैयाँ छ । गत बर्ष १९ करोड ८२ लाख ४७ हजार रूपैयाँ बराबरको ३ करोड ३ हजार २ सय ९९ केजि निर्यात भएको थियो ।

उता जडिबुटीतर्फ अदुवा र सुठो अत्यधिक निर्यात भएको छ । गत बर्षको ५ महिनामा १ लाख १६ हजार ९ सय १४ केजि बराबरको अदुवा सुठो भारततर्फ निर्यात भएकोमा चालु बर्षको ५ महिनामा ५ सय प्रतिशतले बृद्धी भएको छ । यो बर्ष ७ करोड ३६ लाख १९ हजार रूपैयाँ बराबरको ६ लाख ५ हजार ३ सय १५ केजि अदुवा र सुठो निर्यात भएको हो । गत बर्षको तुलनामा निर्यातमा सबैभन्दा बृद्धी भएको अदुवा र सुठो नै हो ।

अन्य सबै बस्तुको निर्यात बढे पनि फापर कोदो र अन्य खाद्यान्न भने घटेको छ । गत बर्ष यही अबधिमा फापर, कोदो र अन्य खाद्यवस्तु २ लाख २२ हजार किलो निर्यात भएकोमा अहिले घटेर १ लाख ९२ हजार किलो पुगेको छ ।

बस्तुको निर्यात बढ्नु भनेको भारतसंगको ब्यापार घाटा केही परिमाणमा भए पनि कम हुनु रहेको सूचना अधिकृत खत्रीले जनाए । चालु बर्षको ५ महिनाको तथ्यांकले पनि भारततर्फको निर्यात गत बर्षको भन्दा दोब्बर हुने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ