राजनीतिमा व्यक्तिगत इमान्दारी

शोभाकर पराजुली, प्रकाशित मिति : २०७४ पौष २४ सोमबार , २,८३२ पटक हेरिएको

काठमाडौं ।  व्यक्तिगत इमान्दारीको हरेक क्षेत्रमा महत्व छ । राजनीति क्षेत्र भनेको देशरूपी गाडीको जनतारूपी यात्रु लिएको चालक भएको हुनाले इमान्दारीको अझ बढी महत्व छ तर राजनीतिमा इमान्दारहरूको बर्चस्व छ भन्न खोजिएको चाहिँ होइन । व्यक्तिगत स्वार्थ र महत्वाकांक्षामा लिप्त भएर लोकतन्त्र र पार्टीलाई नै बदनाम गराउने राजनीतिज्ञहरूको पनि हाम्रो जस्तो देशमा कमी छैन ।

 यस्ता प्रवृत्तिहरू सत्तामा पुगेर प्रशस्त सम्पत्ति कमाउँछन् । फेरी चुनावमा पैसाको माध्यमले जितेर शक्ति प्राप्त गर्दछन् । यो क्रम चलिरहन्छ । सोझा कार्यकर्ताहरू गरीबी, शिक्षा , रोजगारीको कारणले भ्रष्टबाट पाइने सहयोगका आशा भरोसा समेतले गर्दा बाध्य भएर भ्रष्टहरूलाई नै सहयोग गर्न पुग्छन् । उदाहरणको लागि इमान्दार राजनैतिक कार्यकर्ताको पत्नी, पति, बच्चा, विरामी भएमा उनीहरूसँग पैसा हुँदैन । उनीहरू वाध्यतामा हुन्छन् । राजधानीमा बस्ने सत्तामा पुगेका भ्रष्ट नेताले उनीहरूको उपचारमा आर्थिक सहयोग गरिदिन्छ ।

 कतिपय अवस्थामा चुनावमा पैसा बाँडेर पनि भोट लिइन्छ  भन्ने सुनिन्छ । यसले सबै राजनैतिक दलहरूको साख कमजोर हुन्छ र जनताको राजनीतिप्रति नै घृणा पैदा हुन्छ । यो परिस्थितिबाट मुक्ति प्राप्त भएपछि मात्र राजनीतिले समाजमा सम्मान प्राप्त गर्छ र समाजलाई दिनुपर्ने कुरा दिन सक्छ ।

नेपालका भव्य भवन बनाउने, महँगा गाडीमा चढ्ने, बच्चाबच्चीलाई विदेश पढ्न पठाउने तथा लवाई र साँझको खुवाईबाट नै प्रष्ट रूपमा उनीहरूको पुरानो हैसियत र वर्तमान हैसियत फरक देखिएका नेताहरू त्यो श्रेणीमा पर्छन् । सांसद र मन्त्री हुँदैमा स्वभाविक आम्दानीबाट अकूत धन कमाउन सकिने भए कतिपय मन्त्री तथा सांसद भएकाहरूले पछि सानो रेष्टुरेन्ट, पत्रिका पसल आदि खोलेर बस्ने थिएनन् । जनताले र इमान्दार कार्यकर्ताहरूले यसको मूल्यांकन गर्नैपर्छ । बेइमानलाई पछाडि पार्नैपर्छ । इमान्दारहरू सधैभरी बेइमानीको पछि लाग्नु बेइमानलाई प्रोत्साहन गर्नु हो । तर विकल्प नभएपछि के गर्ने ? अब विकल्प खोज्नुपर्छ । सम्भावित केही विकल्पहरूलाई निम्नानुसार सूचिकृत गर्न सकिन्छ :

– इमान्दार नेता र कार्यकर्ताहरूले आफ्नै क्षेत्रमा व्यवस्थित रूपमा सामुदायिक आधारमा फाइदा नलिने गरी बोर्डिङ्ग विद्यालयहरू चलाउने व्यवस्था गर्नपर्छ । यसले साह्रै संवेदनशील क्षेत्र बच्चा बच्चीको पढाई सम्बन्धी समस्या र बाध्यतालाई हल गर्छ ।

– राजनीतिसँगै वैकल्पिक पेशा चाहे त्यो बोर्डिङ्ग शिक्षक होस् वा अरु नै होस् गर्नुपर्छ ।

– अर्को महत्वपूर्ण कुरा कमसेकम हरेक जिल्लामा राजनीतिज्ञहरूलाई माँया र सम्मान गर्ने चिकित्साकर्मीहरूलाई निश्चित समय दिन अनुरोध गरेर सामाजिक मुनाफारहित स्वास्थ्य केन्द्रको व्यवस्था गरेर स्वास्थ्य सम्बन्धी अप्ठेराहरूबाट मुक्ति पाउन सकिन्छ ।

– यस्तै कार्यहरू गरेर आफ्नो शुभचिन्तकहरूलाई पनि सहयोग गर्दै राजनीतिमा हुनुपर्ने इमान्दारीको उदारहरण बनेर काम गर्दा भ्रष्टहरूको चंगुलमा बाध्यतावश लाग्नु पर्ने अवस्थाबाट मुक्ति पाइन्छ ।

– आर्थिक रूपमा आत्मनिर्भर, पर्न सक्ने अप्ठ्याराहरूका लागि पूर्व तयारी, बच्चाबच्चीहरूको शिक्षाको उचित व्यवस्था र इमान्दारीपूर्वक जनतासँग हेलमेल भएपछि इमान्दारहरूले बाध्यतावश भ्रष्टहरूको पछि लाग्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । यति हुँदाहुँदै पनि चुनावमा भ्रष्टलाई टिकट थुपारिएमा कार्यकर्ता र जनताले विद्रोह गर्छन् नै र इमान्दार नेताहरू सच्चाईका लागि विद्रोहीलाई साथ दिनुपर्ने अवस्थामा पुग्छन् । महामानव बी.पी. कोइरालाले नेपाली भूमिमा आधार नभएका सुकिला कपडा लगाउने भुईफुट्टा वर्गको विरुद्धमा इमान्दार लोकतन्त्रवादी कार्यकर्ताले संघर्ष र विद्रोह गर्नुपर्छ भन्नुभएको आसय त्यही नै हो । विद्रोह र संघर्ष व्यक्तिगत फाइदाको लागि सिद्धान्तलाई तिलाञ्जली दिएर कहिल्यै गर्नुहुँदैन तर राजनीतिलाई पवित्र बनाउन र व्यक्तिगत महत्वाकांक्षा नलिइकन गरिन्छ भने त्यो महानता हो । इमान्दारहरू संगठित नभएसम्म अनुशासित भएका कारणले भ्रष्टहरूको आज्ञा मान्नु बाध्यता जस्तो देखिएला तर समय आउँदा विद्रोह गर्न सक्नुपर्छ । छलफल गरेर निष्कर्ष निकाली त्यसलाई लागू गर्नु अझ उपयुक्त हुनेछ ।

बेइमानी ठूला नेताले गर्ने, मतदाताका आक्रोश र विद्रोहको पीडा ग्रामीण एवं जिल्ला स्तरका नेता तथा कार्यकर्ताले खप्नुपर्ने कुरा अवश्य पनि राम्रो होइन ।
 
राजनीतिमा यिनै कारणले गर्दा नेता र कार्यकर्ताबीचको सम्बन्ध परिभाषित हुनुपर्ने देखिन थालेको छ । नेताहरूको आदेश कार्यकर्ताहरूले मान्नैपर्छ तर त्यो आदेश पार्टीको नीति र जनताको हितसँग सम्बन्धित हुनुपर्छ । यदि त्यसो भएन भने पार्टी र जनताविरोधी नेताको भनाई कार्यकर्ताले मान्न सक्दैनन् र मान्न हुँदैन पनि । कार्यकर्ताले नेतालाई मान्नुपर्ने कारण नेताको इमान्दारी नै हो । त्यो नभएमा कार्यकर्ताको बाध्यता हट्छ । कार्यकर्ताहरू स्वाभिमानी भै दृढ बन्न सकेमा नेता पनि सही निर्णय गर्न बाध्य हुन्छन् । अझ भन्ने हो भने अन्य पार्टीका असल व्यक्तिको प्रशंसा गर्ने र आफ्नै पार्टीका गलतहरूको आलोचना गर्ने क्षमताको विकासले पार्टी पार्टी बीच पनि इमान्दारीको संचार हुन थाल्छ । बहुदलीय व्यवस्थामा एउटा पार्टी मात्र इमान्दार भएर हुँदैन । सबै पार्टीमा इमान्दारी हुनुपर्छ । किनभने मूलभूत रूपमा बहुदलीय व्यवस्थामा अर्को राजनैतिक दललाई सहयोगी सचेतकको र सच्चा सल्लाहकारको रूपमा हेर्ने आँखा विकसित गरिनुपर्छ ।

नेपालको वर्तमान परिवेशमा सिद्धान्तको महानता भन्दा राजनीतिलाई समग्र भ्रष्टाचारबाट माथि उकास्न आवश्यक भएको छ । भ्रष्टाचारको अन्त्यका लागि सर्वदलीय संयन्त्र निर्माण गरिनु आवश्यक भएको छ । सबै प्रकारका सरकारी र सार्वजनिक क्रियाकलापहरूलाई पारदर्शी बनाउने र सर्वदलीय संयन्त्रलाई त्यस्ता कार्यको अनुगमन गर्ने अधिकार समेत दिन आवश्यक समेत भैसकेको छ । बाध्य भएर भन्नैपर्छ– नेपालमा संभवतः भ्रष्टहरूको सर्वदलीय र सर्वपक्षीय साँठगाँठ भएको महसुस हुन्छ ।

 

नयाँ