arrow

प्रबुद्ध समूहसँग प्रचण्डको भेट

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
prabudhha.jpg

काठमाडौं। नेपाल–भारतबीच भएका सन्धि, सम्झौता र सीमा सम्बन्धबारे अध्ययन गर्न बनेको प्रबुद्ध समूहको नेपाली प्रतिनिधि मण्डलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेको छ ।

सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा प्रतिनिधि मण्डलले प्रचण्डसँग भेट गरेको हो । भेटमा समूहले नेपाल–भारत सीमा सम्बन्ध र सन्धि पूनरावलोकनबारे भएको प्रगतिबारे अध्यक्ष प्रचण्डलाई जानकारी गराएको थियो । प्रतिनिधि मण्डलले हालसम्म पाँचपटक द्वीपक्षीय बैठक बसेको र सन् १९५० को सन्धि र सीमा व्यवस्थापनबारे छलफल जारी रहेको अवगत गराएको थियो ।

प्रतिनिधि मण्डलसँगको भेटमा अध्यक्ष प्रचण्डले नेपाल–भारतबीच विगतमा भएका सन्धि, सम्झौतालाई नयाँ आधारमा पूनरावलोकन गर्ने दिशामा आवश्यक भूमिका खेल्न समूहलाई सुझाव दिए । प्रचण्डले भने, ‘गणतन्त्रको घोषणापछि हामी नयाँ युगमा प्रवेश गरेका छौं । विगतमा नेपाल–भारतबीच भएका धेरै सन्धि सम्झौता र मूख्यतः सन् १९५० को सन्धि असमान रहेको छ । तपाईहरुले राष्ट्रिय हितका पक्षमा जुन चासों र जिम्मेवारी बोधका साथ भूमिका खेल्नुभएको छ, यसले नेपालको स्वाभिमानलाई उचो राख्न र नेपाल–भारत बीचको सम्बन्धलाई थप सुदृढ गर्न महत्वपूर्ण योगदान पुग्नेछ भन्ने मेरो विश्वास रहेको छ ।’

‘नेपाल–भारत बीच विगतका भएका असमान सन्धि प्रतिस्थापन गर्दै बदलिँदो परिस्थितिअनुसार नयाँ सन्धि गर्नुपर्दछ’, अध्यक्ष प्रचण्डले भने, ‘खुल्ला सीमानाको व्यवस्थापन हाम्रो चासोंको विषय हो । नेपाल–भारत बीचको सामाजिक–सांस्कृतिक र जनस्तरको सम्बन्धमा हामी सचेत छौं । तर, सीमा व्यवस्थापन गर्दै ढिलो चाँडो हामी सीमा सम्बन्धलाई अरु छिमेकी देशको जस्तै व्यवस्थापन गर्नुपर्छ ।’

भेटमा नेपालका राजनीतिक दलहरु मिल्दा राष्ट्रिय एकता र स्वाभिमान बलियो बन्ने गरेको स्मरण गर्दै अध्यक्ष प्रचण्डले नयाँ सरकार गठनपछि नेपाल–भारत बीचको पारस्पारिक सम्बन्ध पनि थप उचाईमा उठ्ने विश्वास व्यक्त गरे। भेटमा समूहका तर्फबाट डा. भेषबहादुर थापा, निलाम्वर आचार्य लगायतका विज्ञहरु सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ