arrow

प्रधानमन्त्री देउवा र उपेन्द्र यादवबीच भेट, नयाँ सरकार बारे चिन्ता

logo
प्रकाशित २०७४ पुष २४ सोमबार
deuba-yadhav.png

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवा र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । शीतलहर प्रभावित क्षेत्रमा तत्काल राहत पुर्याउने लगायत समसामयिक राजनीतिक विषयमा दुई पक्षबीच वार्ता भयो ।
 
प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा सोमवार साँझ भएको द्विपक्षीय वार्तामा फोरम नेपालका अध्यक्ष यादवले शीतलहर प्रभावित मधेशका जिल्लाहरुमा तत्काल राहत वितरण र उद्दार कार्यलाई प्रभावकारी बनाउन अनुरोध गरेका छन् ।

सप्तरीको क्षेत्र २ बाट निर्वाचित सांसद समेत रहेका अध्यक्ष यादवले प्रधानमन्त्रीसँगको वार्तामा शीतलहर प्रभावित क्षेत्रका जनतालाई न्यानो लत्ता कपडा, आगो बाल्ने दाउरा, औषधिउपचार लगायत राहतका सामाग्रीहरु तत्काल पुर्याउन प्रधानमन्त्रीलाई आग्रह गरेको जानकारी दिए । जवाफमा प्रधानमन्त्री देउवाले शीतलहर प्रभावित क्षेत्रमा राहत वितरण र उद्दार कार्यमा जुट्न तत्काल सम्बन्धित निकायलाई निर्देशन दिने प्रतिबद्धता जाहेर गरेका छन् ।


साथै तराई मधेशको बहुप्रतिक्षित र महत्वाकांक्षी परियोजना हुलाकी सडकले सप्तरीको सदरमुकाम राजविराजको बीचबाट निकिस्ने भएकोले त्यसलाई शहरको छेउबाट निर्माण गर्न फोरम नेपालका अध्यक्ष यादवले प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

राजविराजको बीचबाट सडक बने शहरको संरचना बिग्रिने भएकोले शहरलाई बचाउन राजविराजको छेऊबाट बाइपास सडक निर्माण गर्न यादवले आग्रह गरेका हुन् । उता प्रधानमन्त्री देउवाले राजविराज शहरलाई जोगाउने गरी आगामी मन्त्रिपरिषद्को बैठकबाट हुलाकी सडकबारे निर्णय गरिने आश्वासन दिएका छन् ।

यादवले नयाँ सरकार र प्रदेश सभा गठन लगायतका विषयमा अहिले देखिएको गतिरोध अन्त्य गर्न प्रधानमन्त्री देउवालाई सुझाव दिएका छन् । मुलुकलाई यथाशीर्घ निकास दिनेगरी पहल थाल्न देउवालाई सुझाव दिएको अध्यक्ष यादवले बताए ।

राजनीतिक गतिरोधले गर्दा नयाँ सरकार गठन, प्रदेश प्रमुखको नियुक्ति, प्रदेश सभाको गठन र समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्यको चयन लगायतमा ढिलाई भएकोले मुलुकलाई चाडै निकास दिन प्रधानमन्त्रीलाई सुझाव दिएको यादवले जानकारी दिए ।  

भेटवार्तामा प्रधानमन्त्री देउवा, कांग्रेस उपसभापति रामचन्द्र पौडेल र महेश आचार्य सहभागी थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ