arrow

नक्कली भिसाबाट ३ सयभन्दा बढी कामदार यसरी ठगिए, दुई लाखसम्म असुली

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
manpower-thagi.jpg

काठमाडौं । वैदेशिक रोजगार व्यवसायको अनुमतिपत्र लिएको एक म्यानपावर कम्पनीले नक्कली भिसा देखाएर कामदारहरूबाट ठगी गरेको पाइएको छ । काठमाडौंको सिनामंगलमा रहेको ब्लु स्टार ओभरसिज सर्भिसेज प्रालिले कामदारको मागपत्र नै नभई रकम तीन सयभन्दा बढी व्यक्तिबाट असुल गरेको पाइएको हो ।

विभिन्न व्यक्तिलाई एउटै नम्बरको भिसा उपलब्ध गराएको नयाँ पत्रिकाले फेला पारेको छ । अनिलकुमार शर्मा, मंगललाल योञ्जन र श्रीकृष्ण राईलाई कुबेतको भिसाको छाप लगाइएको फोटोकपी उपलब्ध गराइएको छ । हेभी ड्राइभरका लागि दिइएको तीनैजनाको भिसा नम्बर भने समान ‘२८९८७३८०६’ उल्लेख छ ।

एउटै भिसा नम्बर विभिन्न व्यक्तिको नाममा हुनु गलत भएको वैदेशिक रोजगार विभागका महानिर्देशक राजकुमार श्रेष्ठ बताउँछन् । ‘भिसा नक्कली हो वा होइन भन्ने विषय जाँच नगरी भन्न सकिन्न,’ उनले भने, ‘एउटाको भिसा फोटोकपी गरेर अन्यलाई देखाइएको हुन सक्छ ।’ विभागले उक्त उजुरीमा अनुसन्धान अगाडि बढाइसकेको छ । म्यानपावर सञ्चालकहरू भने फरार छन् ।

प्रतिव्यक्ति ४० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म असुल गरिएको उजुरी प्राप्त भएको विभागकी निर्देशक रमा भट्टराईले जानकारी दिइन् । पासपोर्ट भने विभागले सनाखत गरी सोमबारदेखि सम्बन्धित व्यक्तिलाई उपलब्ध गराउन सुरु गरिसकेको छ ।

एकै गाउँका ३० जना ठगिएखाना र बस्नको सुविधासहित सेक्युरिटी गार्डमा मासिक ५० हजार रुपैयाँभन्दा बढी तलब उपलब्ध गराइदिने भन्दै सुरुमै आफूबाट ४० हजार रुपैयाँ लिएको बाँके खजुरा गाउँपालिकाका अनिलकुमार शर्माले बताए । उनकै गाउँबाट अन्य ३० जनाले समेत सोही म्यानपावरमा पासपोर्ट र पैसा बुझाएका थिए ।

उनीहरू सबैको स्वास्थ्य परीक्षणका साथै अन्तर्वार्ता पनि भइसकेको थियो । म्यानपावरले भिसा आएको जानकारी दिए पनि उनीहरू नेपालगन्जबाट काठमाडौं आए । तर, उनीहरूसहित ३२ जनाको भिसा नम्बर भने एउटै पाइएको पीडितहरूले बताएका छन् ।

सो विषयमा बुझ्न खोज्दा म्यानपावरका अध्यक्ष राम घिमिरेले आफूलाई थाहा नभएको भन्दै सञ्चालक सञ्जय उप्रेतीलाई देखाएर पन्छाउने गरेको पीडित शर्माले बताए । तर, सञ्जय उप्रेतीसँग सम्पर्क गर्न खोज्दा मोबाइल अफ गरेर फरार रहेको चाल पाएपछि शर्मासहित २६ जनाले महानगरीय अपराध महाशाखामा उजुरी दिएका थिए ।

३ सय ७१ थान पासपोर्ट बरामद
विभागमा अपराध महाशाखाबाट समेत गरी म्यानपावर कम्पनीविरुद्ध विभिन्न ३ वटा उजुरी परेका छन् सिन्धुपाल्चोक कदमबासका ओशन गिरीलगायत २६ जनाले शुक्रबार दिएको उजुरीका आधारमा बिहीबार महानगरीय अपराध महाशाखाको टोलीले शनिबार म्यानपावरमा छापा मारेको थियो ।

त्यसक्रममा प्रहरीले विभिन्न व्यक्तिका नाममा रहेका ३ सय ७१ थान राहदानीसहित भिसा इन्ट्री रजिस्ट्रर, स्वीकृति नलिएका डिमान्ड लेटर, आइएमई गरिएका रसिद तथा रकम लेनदेनसम्बन्धी फाइलहरू बरामद गरेको छ । हालसम्म ६० जना पीडित कामदार विभागको सम्पर्कमा आइसकेका छन् । अन्य भने सम्पर्कमा आउनेक्रममा रहेको विभागले जनाएको छ ।

प्रहरीले बरामद गरिएका पासपोर्टसहित अन्य कागजात थप अनुसन्धान तथा कारबाहीका लागि आइतबार वैदेशिक रोजगार विभागमा पठाइसकिएको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए ।

 ‘म्यानपावर सञ्चालकहरू भने अहिलेसम्म पक्राउ परिसकेको अवस्था छैन,’ उनले भने, ‘बाँकी अनुसन्धान तथा कारबाहीको काम विभागले नै अगाडि बढाउनेछ ।’ (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ