arrow

एमाले–माओवादी बैठक : ६ सदस्यीय कार्यदल बन्यो, बाँकी कुरा ओली फर्किएपछि

logo
प्रकाशित २०७४ पुष २५ मंगलबार
balkot1.jpg

काठमाडौं । पहिलो पटक बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समिति बैठकले कार्यदल बनाएको छ । बैठकले राष्ट्रिय सभा र प्रदेश सरकार गठनका लागि कार्यदल बनाएको छ । सरकार र पार्टीको नेतृत्व लगायतका विषयमा सहमति भएको छैन ।

एमाले अध्यक्ष केपी ओलीको निवास बालकोटमा बसेको बैठकमा पार्टी एकता र समसामयिक राजनीतिक परिस्थितिका विषयमा भने छलफल भयो ।

बैठकले पार्टी एकतामा कुनै विवाद र विमति नरहेको भन्दै छिट्टै पार्टी एकता प्रक्रिया टुङ्गाउने निष्कर्ष पनि निकाल्यो । ठोस सहमति भएन । बैठकले पार्टी एकता हुँदैन कि भनेर कल्पना पनि नगर्न कार्यकर्ता र जनतालाई अपील गरेको छ ।

संयोजन समिति बैठकले प्रतिनिधि सभाको पूर्णता, राष्ट्रिय सभाको गठन र प्रदेश सरकार गठनका लागि गृहकार्य गर्न ६ सदस्यीय संयुक्त कार्यदल बनायो ।

कार्यदलमा एमालेका तर्फबाट सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, सुरेन्द्र पाण्डे र माओवादी केन्द्रका तर्फबाट रामबहादुर थापा, वर्षामान पुन र मातृका यादव  छन् ।

पार्टी एकताका लागि वैचारिक र सांगठानिक कार्यदल गठन गर्ने कार्यसूचि रहे पनि थप गृहकार्य गरेर अर्को बैठकमा कार्यदल गठन गर्ने समझदारी भएको माओवादी नेताहरुले बताएका छन् । एमाले अध्यक्ष ओली स्वास्थ्य उपचारबाट फर्किएपछि एकता संयोजन समितिको बैठक बस्ने पनि तय भएको छ । ओली वुधबार नियमिति स्वास्थ्य परीक्षणको लागि थाइल्याण्डको बैंकक जाँदै छन् ।

ओली निवासको बैठकमा अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेताहरु झलनाथ खनाल, माधव कुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा ‘बादल’ र ईश्वर पोखरेल सहभागि भए । बैठक तीन घन्टा बढी चल्यो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ