arrow

गौतमबुद्ध विमानस्थल निर्माणले लियो गति, दैनिक दुई सय कामदार 

logo
आचार्य प्रदीप
प्रकाशित २०७४ पुष २७ बिहिबार
airport-gautam-buddha.png

बुटवल ।  पटक पटकको आन्दोलन र अवरोधकाबीच निर्माण अबरुद्ध हुन पुगेको भैरहवाको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निमार्ण कार्यले पुनः गति लिएको छ । 

गत बर्षको मधेश आन्दोलन, नाकाबन्दी, आयोजना र ठेकेदार कम्पनीको बीचमा वेला वेलामा भएका अवरोधका कारण निर्माण कार्यमा गति लिन नसकेको आयोजनाले नेपाली ठेकेदारलाई विदा गरेपछि चिनियाँ कम्पनी आफैंले प्रर्याप्त जनशक्ति लिएर कामलाई तीव्रता दिएको हो। 

गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको २०७१ माघ १ गते तत्कालीन प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति स्व सुशील कोईरालाले शिलान्यास गरेका थिए । 

तीन बर्ष अर्थात २०७४ पुस मसान्त भित्र निर्माण कार्य सम्पन्न भईसक्नु पर्ने गरी आयोजना र ठेकेदार कम्पनीबीच सम्झौता भएपनि बिभिन्न अवरोधका कारण अहिलेसम्म समग्रमा ३५ प्रतिशत काम मात्र सम्पन्न भएको आयोजनाका प्रमुख ईन्जिनियर ओम शर्माले वताए । 
 
उनले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको निर्माण कार्यले सन्तोजनक रुपमा गति लिएका कारण आगामी एक बर्ष भित्र आयोजनाको सम्पूर्ण काम सकिने दावी समेत गरे ।

उनले भने– ‘३ किलोमिटर लम्बाई रहेको धावन मार्गको निर्माण कार्य अन्तरगत सब बेस लेयर हाल्ने काम शुरु भएको छ।’ धावन मार्गको ३५ प्रतिशत बढि काम सकिनुका साथै  माटो फिलिङ सहित २ फुट बाक्लो प्रि सव वेसको काम सम्पन्न भएको पनि उनले जानकारी दिए। अब वेस र पीचको काम मात्रै बाँकी रहेको बताइएको छ । अग्नि नियन्त्रण कक्षको पहिलो तल्लाको काम पनि भईरहेको छ । 
 
८ तल्ला अग्लो कन्ट्रोल टावरको काम पनि तीव्र गतिका साथ भईरहेको तथा बैशाख भित्र यी सबै भौतिक संरचनाको काम ५० प्रतिशत बढी सकिने ईन्जिनियर विजय शाक्यले वताए । उनले अहिले विमानस्थल निर्माणका लागि डेढ देखि दुईसय जना दक्ष जनशक्तिले काम गरिरहेको जानकारी दिए।

३ हजार मिटर लामो धावन मार्गको दुवैतिर तीनसय मिटर विमान सुरक्षाका लागि रन वे ईण्ड सेफ्टी एरिया ९रेसा० को पनि काम भईरहेको छ । 

विमानस्थल निर्माणका लागि जग्गा अधिग्रहणका लागि परेका जग्गाधनीहरुलाई मुआब्जा दिने काम पनि भईरहेको प्रमुख शर्माले बताए । मुआब्जा वितरणका लागि ७ हजार कित्ता मध्ये १ हजार बढी कित्ताको मुआब्जा वितरण गरिसकिएको र २३ अर्ब रुपैयाँ मुआब्जा बितरण गर्नु पर्नेमा अहिले सम्म ४ अर्बभन्दा बढी बितरण भईसकेको र बितरण कार्यलाई तीव्रता दिईएको समेत आयोजना प्रमुख शर्माले जानकारी दिए।
 
स्तरोन्नती यो विमानस्थल काठमाण्डौको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको बलियो विकल्प बन्ने आयोजनाको दावी छ । अहिलेको गौतम बुद्ध विमानस्थलमा एटिआर, बिचक्राफ्ट जस्ता साना हवाईजहाजहरुको लागि हो भने स्तरोन्नती पछि वाइड बडी विमान पनि काठमाडौंको बिकल्पको रुपमा भैरहवा उतार्न सकिने आयोजना निर्देशक शर्माले बताए।
 
दक्षिण एशियाको पर्यटन प्रवर्द्धनकालागि भौतिक पूर्वाधार आयोजना अन्तर्गत एशियाली बिकास बैंकको अनुदान तथा कर्जामा गौतम बुद्ध विमानस्थल स्तरोन्नति गर्न नेपाल सरकारले चिनियाँ कम्पनी नर्थवेस्ट सिभिल एभिएसन बिमानास्थल निर्माण समूहलाई ग्लोबल टेण्डर मार्फत दिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ