arrow

अरु दिमागले निर्णय लिन्छन्, डा. केसी दिलबाट निर्णय लिनुहुन्छ : सिंह (अन्तर्वार्ता)

‘चुनावका बेला गगनबारे बोलेको कुरा कतै छुपेको छैन, हामीले नै बोल्न भनेका हौँ’

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
avishek.JPG

डा. गोविन्द केसीका सहयोगी डा. अभिषेकराज सिहले प्रधानन्यायाधीशमाथि लागेको आरोप छानबिन हुने भएपछि उहाँले विदामा बसेर वा राजीनामा दिएर सहयोग गर्नुपर्ने बताएका छन् । डा. सिंहले एउटा कर्मचारीमाथि अख्तियारले अनुसन्धान गर्न थाल्दाको मितिदेखि नै ऊ निलम्बनमा पर्छ भने प्रधानन्यायाधीशले पनि त्यो नैतिकता राख्नुपर्ने बताए । हामीले सिंहसँग कुराकानी गरेका छाैँ ।

० डा. गोविन्द केसीको पछिल्लो स्वास्थ्य अवस्था के छ ?
– उहाँको रगतलगायत अन्य परीक्षण गर्न पाएका छैनौं । विगतको सत्याग्रह हेरेर उहाँको स्वास्थ्य अवस्था अनुमान गर्न सक्छौं । शिक्षण अस्पताल, प्रहरी चौकी र त्यहाँबाट अदालत र त्यसपछि वीर अस्पतालको धपडीले गर्दा उहाँको स्वास्थ्य अवस्था कमजोर भएकै हो । उहाँलाई रिंगटा लाग्ने भएको थियो । अरु चाहिँ ठीकै छ उहाँलाई ।

० स्थिति ठीकै छ ?
– बाहिरबाट हेरेर स्वास्थ्य कस्तो छ, भन्न सकिन्न । उहाँको परीक्षण गरेपछि सबै थाहा हुन्छ ।

० अनसन निरन्तर छ ?
– उहाँको अनसन जारी छ, आज बिहीबार चौथो दिन हो ।

० अनसन तोड्न प्रधानन्यायाधीशको राजीनामा आउनुपर्ने होला होइन ?
– उहाँले पहिलेदेखि नै भनिराख्नुभएको छ, सर्वोच्च अदालतको म सम्मान गर्छु, र, त्यहाँ भएका भ्रष्टहरुलाई दण्ड गर्नुपर्छ भन्ने उहाँको माग हो । अदालतमा बयानका क्रममा पनि उहाँले पत्रकार सम्मेलनमा बोलेका कुराबाट अलिकति पनि पछि नहटी माग दोहोर्‍याउनु भयो । तपाईंले बोलेको कुरामा पुनर्विचार गर्नुहुन्छ कि भन्ने प्रश्नमा उहाँले म कुनै भावनामा बगेर बोलेको होइन, गोपाल पराजुली भ्रष्ट, अपराधी र माफिया हुन् भन्नुभयो । उहाँका अधिवक्ताहरुले यो तीनवटै कुरालाई पुष्टि गर्नुभयो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको दुईवटै नागरिकताको प्रतिलिपि झिकाउने र उहाँको एलएलसीको प्रमाणपत्र पनि झिकाउने आदेश दिएको छ । त्यसलगत्तै पछिल्लो पटक उहाँले जुन फैसला गर्नुभएको शशी शर्माको पछिल्लो मुद्दाको मिसिल पनि झिकाउनु भएको छ । अर्थात् उहाँमाथि लागेको आरोपमाथि छानबिन हुने भएको छ । सामान्यतः कसैमाथि आरोप लागिसक्यो भने राजीनामा दिएर वा कार्य सम्पादन नगरी छानबिनका लागि सहयोग गर्नुपर्छ । हामीले बुझेको पनि त्यही हो । सबैतिरबाट आवाज पनि उठेको त्यही हो ।

गोपाल पराजुलीबाहेकका माग पनि डा. केसीले राख्नुभएको छ । अर्थात् अध्यायदेश पास भए पनि लामो समय पनि चिकित्सा शिक्षा आयोग सरकारले गठन गरेको छैन । त्यसैगरी डिन नियुक्तिमा भएको चलखेललगायत यसअघि भएका सम्झौता कार्यान्वयनका विभिन्न कुराहरु छन् । ती मागहरु सरकारसँग जोडिएका हुनाले ती माग पूरा नहुञ्जेल उहाँको अनसन जारी रहन्छ ।

० प्रधानन्यायाधीशलाई राजीनामाको नैतिक दबाब पर्‍यो ?
– डा. केसी र उहाँका कानुनी व्यवसायीले बुझेको त्यही हो । जस्तो एकजना कर्मचारीलाई अख्तियारले मुद्दा चलायो भने उहाँ स्वतः निलम्बनमा पर्छन् । तर प्रधानन्यायाधीश पराजुलीमाथि आफू कार्यरत संस्थामा मुद्दा चलेको छ । अर्थात् उहाँलाई इजलासमा बोलाइएको छ । उहाँ बयान दिन जानुपर्छ भनेपछि उहाँले कसरी कार्य सम्पादन गर्नुहुन्छ । आफूमाथि नै छानबिन हुने ठाउँमा उहाँले कार्यसम्पादन गर्नुभयो भने अनुसन्धान प्रभावित हुनेछ । विदामा बस्ने अथवा राजीनामा दिएर छानबिनलाई सहयोग गर्न उहाँले स्वविवेक निर्णय लिनुपर्छ ।

० आदेशमा डा. केसीले अदालतलाई सम्ममान गरेको भनिएको छ रे हो ?
–आदेशमा के भनिएको छ भने, डा. केसीले आफ्नो प्रेस विज्ञप्तिको बचाउ गर्नु भएन । विज्ञप्तिले जे बोलेको छ । त्यही भाषामा अदालतलाई सम्मान गर्दै छु भन्नु भएको छ । सर्वोच्चमा सही ढंगले न्याय सम्पादन गर्नेलाई सम्मान गर्छु भन्नु भएको पनि आदेशमा उल्लेख छ । तर, भ्रष्टाचार गर्नेहरुमाथि सम्मान रहने छैन र भ्रष्ट न्यायाधीशविरुद्ध मेरो अनसन हो । तिनकाविरुद्ध बोल्छु लड्छु भन्नु भएको छ । कुनै हालतमा पछि हट्ने छैन भन्ने कुरामा डा. केसी अडिक रहनु भएको हो ।

० केसीले राजीनामा नदिएसम्म अनसन नतोड्ने हो ?
–यसमा प्रष्ट कुरा के हो भने, डा. केसी दिमाग भन्दा पनि दिलबाट बढी चल्ने मानिस हो । उहाँले कसैको केही पनि सुन्नु हुन्न । आफ्ना जजिकका दुई तीन जनाको कुरा सुन्नु हुन्छ । निर्णय आफै लिनुहुन्छ । अरुको त कुरा नै सुन्नु हुन्न । कुनै पनि मानिसले कुनै पनि कदम चाल्नु भन्दा पहिला म यो कदम चाल्दा कति सफल हुन्छु ? मलाई के अफ्ठ्यारा पर्छन् । म यसमा सफल हुन्छु कि हुँदैन भनेर कयौँ पटक साच्छन् तर, डा. केसी दिलबाट निर्णय लिएर कार्यान्वयनमा लागिहाल्नु हुन्छ । उहाँ डरानु हुन्न र पछि हट्नु हुन्न ।

० अहिले अदालतमा दुबैजनामाथि छानविन भइराखेको छ, केसीले लगाएका आरोप प्रमाणित भए प्रधानन्यायाधीशले मूल्य चुकाउनु पर्ला, आरोप प्रमाणित भएन भने डा. केसी जेल जान तयार हुनुहुन्छ त ?
–डा. केसीमाथि छानविन भइरहेको छ । तर, अदालतमा भएको यो विषय हो । अर्को कुरा अदालतले नै के कुरा बोलेको छ भने, केसीले पटक–पटक बोल्दा अदालतलाई सम्मान गरेका छन् । भ्रष्टहरुलाई दण्डित गरिनुपर्ने कुरा उल्लेख गर्दै उहाँलाई तारेखमा रिहा गर्न आदेश गर्नु भनेको उहाँलाई लागेको मुद्दा प्रधानन्यायाधीशतिर सोझियो भन्ने कुरा बुझ्नु पर्दछ । डा. केसीको बयानले प्रधानन्यायाधीश छानविनमा तानिएका छन् । फैसला जे होला त्यो डाक्टर केसी मान्न तयार हुनुहुन्छ । तर, अहिले हेर्दा केसीमाथि लागेको मानहानीको मुद्दा प्रधानन्यायाधीशतिर सोझिएको छ ।

० जति सन्देह गोपाल पराजुलीमथि गरियो, त्यतिनै सन्देह गोविन्द केसीमाथि पनि छ, गोविन्द केसी कतैबाट परिचालित छन् भन्ने प्रश्न पनि उठिसके, तपाईले केसी दिमाग हैन दिलबाट निर्णय लिनु हुन्छ भन्नु भो, उहाँले भावनामा जे पनि बोल्दा हुन्छ ?
–अदालतमा तपाई बोलेका कुरामापुनःविचार गर्नु हुन्छ भन्दा ? उहाँले के भन्नु भयो भने, म भावनामा बगेर बोलेको होइन । सत्यसावित गर्दै बोलेको हो भन्नु भएको थियो । तपाईले सोधेको कुरालाई म अन्यथा लिन्न । हामीले आन्दोलन छेडेको ७–८ वर्ष भयो । योबीचमा हामीलाई कसैले विद्यार्थी विदेश पठाउने दलाल भने । उहाँहरुका ति कुराहरु निराधार पुष्टी भए । त्यसबीचमा कसैले काँग्रेसको मान्छे भनियो, त्यो पनि निराधार ठहरियो । एमालेसँग नजिक त कहिले एमाले विरोधी भनियो, त्यो पनि निराधार पुष्टी भयो । कहिले विवेकशील साझाका सदस्य भनियो, त्यो पनि निराधार नै रहयो । कसैले शंका गर्छन् भने हामीले नगर्नुुस् भन्दैनौँ । केसी कही कतैबाट परिचालिन हुनुभएको छैन । उहाँको एउटा मात्रै लक्ष्य गुणस्तरीय स्वास्थ्य शिक्षा सहर केन्द्रीत मात्र नभई दुरदराजमा पनि सबैले समान रुपमा पाउनु पर्छ भन्ने नै हो । डा. केसी अदालतमा बयान दिइरहेका बेला पूर्व प्रधानमन्त्री तथा भावि प्रधानमन्त्रीका रुपमा चर्चामा रहेका एमाले अध्यक्ष स्वास्थ्य जाँचका लागि बैंकक जानु भयो । मिर्गौला प्रत्यारोपणपछिको नियमित जाँचका लागि उहाँ बैंकक धाइरहनु परेको छ । त्यसरी नै नेपालका सबै सर्वसाधारण बैंकक जान सक्छन् ?  अनि सबै उपचारका लागि विदेश जानु पर्छ भन्ने भनाई त केसीको होइन नि । हामी कहीँ कतैबाट परिचालित भएका छैनौँ । हाम्रो एउटै लक्ष्य हो गुणस्तरीय शिक्षा कायम होस् ।

० प्रतिनिधिसभाको चुनावमा भोट माग्नु भो, यो के थियो पार्टीलाई सघाएको कि व्यक्तिलाई ?
–यो कहीँ कतै लुकेको छैन । पूर्व स्वास्थ्यमन्त्री गगन थापाका बारेमा बोल्नु भएको हो । त्यो चुनाव भन्दा झण्डै एक महिना अगाडि बोलिएको हो । उहाँले हामीलाई सोधेर नै बोल्नु भएको र  हामीले सार्वजनिक गर्दा हुन्छ भनेपछि मात्रै उहाँ राजी हुनु भएको हो । हाम्रो अभियानमा उहाँको पार्टीका मान्छे कोही बोल्न नआउँदा साथ दिनु भएको हो । लोकमानसिंह कार्कीको मुद्दा उठाउँदा हाम्रो साथमा बोल्ने मध्ये उहाँ पनि हो । डा. केसी राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्नु हुन्छ । उहाँको विशेषता नै त्यही हो । उहाँ डराउनु हुन्न । आँट गर्नु हुन्छ । उहाँले पार्टी भन्नु हुन्न गुणस्तरीय स्वास्थ्य शिक्षाको लागि लाग्ने जो कोहिलाई सहयोग गर्नु हुन्छ ।

० डा. केसीले फलानोलाई डिन बना, यसलाई निकाल भन्नु हुन्छ, तर आफै डिन बनेर किन आइओएम हाँक्दैनन् भन्ने प्रश्न उठ्यो, के भन्नु हुन्छ ?
–प्रश्न धेरै आउँछन् । उहाँले के भन्नु भएको हो भने, बरिष्ठताका आधारमा डिन बन्नुपर्छ, एउटा कुरा । अर्को कुरा उहाँ एउटा अभियन्ता हो । मेडिकल सोसियल एक्टिभेस्ट हो, कुनै आर्थिक लाभको पदमा बस्दिन भन्ने उहाँको भित्री इच्छा हो । त्यसैले उहाँ आफै डिन बन्न तयार हुनु भएन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ