arrow

महिला फुटबल लिगको उपाधि सशस्त्र प्रहरीलाई 

logo
प्रकाशित २०७४ पुष २७ बिहिबार
sasastra-police.JPG

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् राखेप अन्तर्गत सोह्रौँ राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको उपाधि विभागीय टोली सशस्त्र प्रहरीको एपिएफ क्लबले जितेको छ ।

अन्तिम खेलमा नेपाल पुलिस क्लवलाई ३–१ ले हराउँदै सशस्त्रले उपाधि जितेको हो । एपिएफको जीतमा सावित्रा भण्डारीले दुई गोल गरिन् । सावित्रीले १७ औँ र ७५औँ मिनेटमा दुई तथा सरु लिम्बूले १९ औँ मिनेटमा एक गोल गरे । 

चौँतीसौँ मिनेटमा पुलिसकी नीरु थापाले गोल गरेकी थिइन् । सुपर लिगमा सबै तीन खेल जित्दै एपिएफ ९ अंक जोडेर च्याम्पियन बनेको हो ।
एपिएफले सोमबार आर्मी र मंगलबार सुदूरपश्चिमललाई जितेको थियो । 

यस्तै सुपर लिगमा दुई खेल जितेको आर्मी दोस्रो तथा एक खेल जितेको पुलिस तेस्रो भए । सुदूरपश्चिमले भने सुपर लिगमा कुनै खेल जित्न सकेन ।

समूह चरणमा एपिएफले पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र आर्मीलाई पराजित गरेको थियो । च्याम्पियन एपिएफले रु दुई लाख ट्रपी र पदक, उपविजेता आर्मीले रु एक लाख तथा तेस्रो पुलिसले रु ५० हजार प्राप्त गरे ।

प्रतियोगिताअन्तर्गत एपिएफकी एन्जिल तुम्बापो उत्कृष्ट गोलरक्षक, सावित्रा उत्कृष्ट फरवार्ड तथा जनक सिंह उत्कृष्ट प्रशिक्षक घोषित भए । यस्तै आर्मीका अञ्जली वाइबा उत्कृष्ट डिफेण्डर तथा दीपा राई उत्कृष्ट मिडफिल्डर चुनिए । व्यक्तिगततर्फ उत्कृष्ट हुनेले जनही रु २५ हजार प्राप्त गरे ।

विजेता तथा उपविजेता टोलीलाई युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसी, एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलगायतले पुरस्कार वितरण गरे । 

यही पुस १६ गतेदेखि शुरु भएको प्रतियोगितामा पाँच विकास क्षेत्र तथा विभागीय गरी आठ टोलीको सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ