arrow

बहादुरी देखाउँदै नेपाल प्रहरी तर कहाँ चुक्यो सिलवाल काण्डमा ?

logo
प्रकाशित २०७४ पुष २८ शुक्रबार
nepal-police-Fn.png.png

काठमाडौं । नेपाल प्रहरी गज्जब छ । नेपाल प्रहरीले चाह्यो भने कालोलाई सेतो र सेतोलाई कालो भन्न सक्छ । कामको मामलामा जस्तोसुकै काम पनि गर्न सक्छ । 

लुकेका अपराधलाई बाहिर ल्याउन सक्ने प्रहरीले अपराधका अभियोगीलाई भगाउन पनि सक्छ । 

उदाहरण १–सोमबार (पुस २४ गते) गृहमन्त्रीलाई समेत जानकारी नदिइ आमरण अनसनमा बसेका शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक गोविन्द केसीलाई सर्वोच्च अदालतको आदेश पक्राउ गर्न सफल  भएको प्रहरीको काम तारिफ योग्य भयो । 

आमरण अनसनमा बसेको ब्यक्ति कहाँ भाग्न सक्छ र ? त्यसैले त प्रहरीले पक्रियो । 

अर्को दिन बिहान ९ बजे हाजिर गराउनु भन्ने आदेश पाएपछि प्रहरी तात्यो । 

उदाहरण २– त्यही प्रहरीले पुसको पहिलो साता सर्वोच्चबाटै पूर्व डीआइजी एवं एमालेका सांसद नवराज सिलवाललाई कीर्तेकाण्डमा छानबिन गर्नका लागि पक्राउ आदेश दिँदा वास्ता गरेन । 

पक्राउको नाटक पनि रचियो । तर प्रहरी समाचार लेख्ने अनलाइनलाई कार्वाही गर्नतिर लाग्यो । सिलवाललाई पक्राउ गरेर छानबिन गर्नतिर लागेन । 

उदाहरण ३– माओवादी केन्द्रका पूर्व सांसद बालकृष्ण ढुंगेललाई पक्राउ गरी थुनामा राख्न प्रहरीले आदेश दिए पनि प्रहरीले मानेन । फरार सूचीमा राख्यो । तर जब प्रहरी महानिरीक्षकलाई नै सात दिने चिठी सर्वोच्चले काट्यो तब बालकृष्ण एकाएक पक्राउ परे । 

यी तीन भिन्न प्रकृतिका उदाहरणले प्रहरी प्रशासनप्रति प्रश्न उठेको छ । प्रहरीले चाह्यो भने सबै गर्न सक्छ । चाहेन भने केही पनि गर्दैन । 

प्रहरी प्रशासन कामका लागि दक्ष छ । तर अटेर गर्दा त्यसको क्षति सिंगो मुलुकले भोग्नु परेको छ । 

प्रहरी महानिरीक्षकको होडमा रहेका बेलामा कार्यसम्पादन मुख्यांकनको कीर्ते कागजात पेश गरेको आरोप सिलवालमाथि छ । 

उनीमाथि पक्राउ आदेश जारी गरिँदा यदि उनी मर्यादा पालक हुन्थे भने पूर्व प्रहरी वरिष्ठ अधिकारीको नाताले अदालतमा गएर निष्पक्ष छानबिनको माग गर्न सक्थे । 

सिलवालले त्यसो गरेनन् । उनका जुनियरले उनलाई पक्रने हिम्मत पनि गरेनन् । अनि उनलाई पक्राउ गरेर कसैको फूली बढ्ने सम्भावना पनि तत्काल रहेन । 

प्रहरीले चाहेको भए उनी तत्काल पक्राउ पर्थे । उनी पनि भागेका थिएनन् । तर अदालतले पक्राउ गर्न आदेश दिइसकेको व्यक्ति कसरी विदेश जान सक्यो ? 

त्रिभुवन विमानस्थलबाट त्यति ठूलो सुरक्षा जत्थाले किन रोक्न खोजेन ? 

सामान्य तरीकाले हेर्दा नवराज सिलवाललाई भगाइएको हो । उनी मलेसियामा रहेको बताइन्छ । 

बैंककमा केपी ओली रहेकैले पनि सिलवाल बैंकक पुगेको समेत सिलवाल निकट स्रोत भन्छ । 

उनी तत्काल नेपाल नफर्कने स्रोतको भनाइ छ । उनी त्यहाँबाट अमेरिका जाने मनस्थितिमा रहेको बताइन्छ । 

अमेरिकाको मल्टिपल भिसा भएका उनी एमालेकै अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री नहुन्जेल नेपाल नफर्कने मनस्थितिमा रहेको बुझिन्छ । 

नेपाल प्रहरीले चाह्यो भने उनलाई अहिल्यै नेपाल फर्काएर अनुसन्धान गर्न सक्छ । तर सिलवालले यो काण्डमा सघाएनन् भने उनी पछि पनि त कार्वाहीमा पर्न सक्छन् । 

उनी भाग्नुको मतलव हो उनले कीर्ते गरेका छन् । होइन भने अदातलमा गएर उनले आफ्नो प्रमाण पेश गर्न सक्ने थिए । 

अब ओली प्रधानमन्त्री भएपछि के उनको सांसद पद फिर्ता हुन्छ वा उनी अदालतमा नगइकनै आरोप मुक्त हुन्छन् ? 

के ओली प्रधानमन्त्री हुनुमै सबै गल्ती माफी हुन्छन् ? 

नेपाल प्रहरीको आफ्नै गरिमा छ । गरिमा बचाउनका लागि पनि प्रहरीले निष्पक्ष कदम चाल्नै पर्छ । 

होइन भने स्वार्थ र व्यक्तिगत आर्थिकोपार्जनका लागि सिंगो संस्था डुबाउन लाग्नेलाई पनि कार्वाहीको दायरा फराकिलो पार्नुपर्यो । 

यस्तै यस्तै नियतले प्रहरी रुमलिएको छ । 

यहींनेर चुक्यो सिलवाल काण्डमा नेपाल प्रहरी । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ