arrow

सस्तो मदिराका कारण आक्रान्त बन्दै समाज

logo
गीता कुँवर,
प्रकाशित २०७४ पुष ३० आइतबार
alcohol-bottles-and-glasses.jpeg

अछाम । अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानीले थुपै्र अछामीको जीवन नै बर्बाद हुन थालेको छ । दुर्गम गाउँसम्म सहजै उपलब्ध हुने मदिरा सेवनको कारणले कलिलै उमेरमा थुप्रैको जीवन बर्बाद हुने स्थितिमा पुगी समाज नै आक्रान्त बन्न थालेको छ ।

 करिब २४ वर्षपछि २०६८ चैतदेखि मदिराको खुला बिक्रीवितरण शुरु भएको अछाममा मदिराको सही व्यवस्थापन हुन नसक्दा त्यसबाट नकारात्मक असर देखिन थालेको छ । गाउँगाउँमा सहजै रुपमा उपलब्ध हुने कमसलखालको मदिरा सेवनकै कारणले थुपै्र मानिसको जीवन बर्बाद हुने स्थितिमा पुग्न थालेको छ । पचहत्तर युपीको न्यूनतम रु २५-३० सम्ममा पनि मदिरा उपलब्ध हुन थालेपछि के युवा के वृद्धवृद्धा सबैमा यसको खपत बढेको छ ।

मदिरासेवन अछामीका शरीरमा अर्बुदजस्तै बनेर जरा गाड्न थालेको छ । अत्यधिक मात्रामा मदिरा सेवनकै कारणले स्वयं व्यक्तिको स्वास्थ्य र ज्यानमा त प्रत्यक्ष असर परेको छ नै घरपरिवार र समाजमा झैझगडा बढेको छ ।

प्रहरीको अध्ययनअनुसार समाजमा हुने हत्या, आत्महत्या, कुटपिट, गालीगलोजलगायत अधिकांश घटनाका पछाडि मदिरा सेवन नै प्रमुख कारण रुपमा देखिएको छ । गत आवमा प्रहरीमा परेका निवेदन र उजुरीमध्ये ७० प्रतिशतभन्दा बढी घटना हुनाको पछाडि मदिरा सेवन नै प्रमुख कारणका रुपमा देखिएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए । “कुनै पिर पर्दा होस् या खुशीयाली मनाउँदा होस्, अधिकांशले मदिरा नै सेवन गर्ने पाइएको छ ।” श्रीमान् मदिरा सेवन गरेर घर आएपछि श्रीमतीसँग झगडा हुने र त्यही कारणले महिला हिंसाका घटना बढ्नाका साथै स्वयं व्यक्ति तनावमा आएर आत्महत्या गर्नसम्म पुगेको न्यौपानेले बताए ।

दुर्गम गाउँसम्म ७५ युपीसम्म मदिराको मात्रा भएको ‘कर्णाली सौफी’सहजै उपलब्ध भइरहेको छ ।  २५ देखि ३० सम्ममा पाइने उक्त मदिरा गाउँगाउँमा सहजै उपलब्धताकै कारणले न्यून आय भएका मानिसले सेवन गर्न सक्ने हुँदा यसबाट समाजमा भयावह अवस्था नै सिर्जना भएको मेल्लेख गाउँपालिका–५ का रेवन्त अधिकारीले बताए  ।

कर्णाली सौफीकै कारणले सिंगो गाउँ नै आक्रान्त बनेपछि गत वर्ष तत्कालीन गाउँ परिषद्ले मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाउने निर्णयसमेत गरेको थियो । “कर्णाली सौफी समयमै बिक्रीवितरणमा प्रतिबन्ध नलगाएमा थुपै्र कलिला जीवन यसले निल्ने छ”, अधिकारीले चिन्ता व्यक्त गरे।

गाउँगाउँमा मदिरा सेवनबाट हुने नकारात्मक असर बढ्ने थालेपछि दुई वर्षअघिदेखि नै न्यून गुणस्तर भएको मदिरा बिक्रीवितरणमा प्रतिबन्ध लगाउनुपर्ने आवाज उठ्न थालेको हो । कमसल खालको मादक पदार्थको प्रयोगले अर्बुद र क्षयरोग निम्त्याउने र त्यसबाट गरीबहरु थप समस्यामा पर्ने भएकाले जिल्लाका प्रायःजसो कार्यक्रममा आवाज उठ्न थालेपछि अछाम उद्योग वाणिज्य संघको अगुवाइमा सर्वदलीय बैठकले ५० युपीमाथिको न्यून गुणस्तरको मदिरा बिक्रीवितरणमा रोक लगाउने निर्णय गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ