arrow

लुम्बिनीमा रात कटाउँदैनन् पर्यटक

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ १ सोमबार
Tourists-outside-Mayadevi-Temple-in-Lumbini.jpg

बुटवल  ।  पछिल्ला बर्षहरूमा स्थलमार्ग रूपन्देहीको बेलहिया नाका हुँदै नेपाल भित्रने पर्यटक बढ्दै गए पनि उनीहरूको नेपालमा बसाई भने लम्बिन सकेको छैन। जसका कारण पर्यटकको संख्या बढ्दा पनि व्यवसायी तथा सरकारलाई अपेक्षाकृत लाभ भएको छैन।

 बेलहिया नाका हुँदै भित्रिने भारत तथा तेस्रो मुलुकका पर्यटकको मुख्य गन्तव्य लुम्बिनी हो। तर यहाँ आउने अधिकांश विदेशी पर्यटक आएकै दिन फर्कन्छन् । खासगरी भारतीय पर्यटकहरू लुम्बिनीमा एकरात पनि बस्दैनन् । भारतबाहेक तेस्रो मुलुकबाट आउने पर्यटकहरू पनि एक दुई दिन भन्दा बस्दैनन्। पर्यटक बढे पनि उनीहरूको बसाई नलम्बिनुको मुख्य कारण पर्यटकलाई बसाई लम्ब्याउने खालका कार्यक्रम नहुनु रहेको पर्यटन व्यवसायीको दावी छ।

सिद्धार्थ होटल एशोसिएसन भैरहवाका अध्यक्ष चन्द्रप्रकाश श्रेष्ठले लुम्बिनी आउने सय जना पर्यटकमध्ये सरदरमा पाँच जनाले मात्र यहाँका होटलहरूमा रात बिताउने गरेको बताए। लुम्बिनी विकास कोषका सूचना अधिकृत खगेन्द्र काफ्लेले पनि ८५ प्रतिशत बाह्य पर्यटक आएकै दिन घर फर्कने र बाँकी १० प्रतिशत आ–आफनै देशका बिहार र गुम्बामा बस्ने गरेको जनाए। पाँच प्रतिशतले मात्रै होटलमा बास बस्ने गर्छन्।

पर्यटन व्यवसायी श्रेष्ठले पूर्वाधार निर्माणमा भइरहेको ढिलाइ, अधुरो लुम्बिनी गुरुयोजना तथा लुम्बिनी बाहेकका बुद्धस्थलको प्रचार प्रसारको अभावमा विदेशी दुई–चार घन्टाका लागि लुम्बिनी आउँछन् र सोही दिन फर्कनेको जिकिर गरे।

अझ छिमेकी मुलुक भारतको बाटो हुँदै आउने विदेशीले लुम्बिनी बाहेकका बुद्धस्थल भारतमै रहेको बुझ्ने गरेको पाइन्छ। ‘बेलहिया नाका हुँदै आउने पर्यटकलाई भारतीय टुर प्याकेजमा दुई–चार घण्टाका लागि लुम्बिनी ल्याउने र अन्य बुद्धस्थल भारतमै रहेको गलत जानकारी गराइन्छ । भारतीय टुरिष्ट गाइडबाट हुने गलत प्रचारलाई पनि चिर्न सकिएको छैन’– उनले भने ।
 
लुम्बिनीसँगै बुद्धले २९ वर्ष बिताएको कपिलवस्तुको तिलौराकोट, बुद्ध मावली देवदह, अस्तुधातु रहेको नवलपरासीको रामग्रामलगायत यस क्षेत्रका पर्यटकीय स्थालका बारेमा सही जानकारी दिने व्यवस्थासहितको एकीकृत पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन हुन सकेका छैनन्। त्यस्तै निजी क्षेत्रले पनि पर्यटकलाई भुलाई राख्ने खालका पूर्वाधार निर्माण तथा आकर्षक प्याकेजका कार्यक्रम गरेको देखिँदैन।

अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकृत गिरीराज खनालका अनुसार २०१७ मा बेलहिया नाका हुँदै १ लाख ५० हजार ८ सय ४१ पर्यटक नेपाल भ्रमणमा आएका छन्। यो तथ्यांक भारतीय पर्यटक बाहेकको हो। सन् २०१६ मा यो नाका हुँदै १ लाख ४७ हजार ६ सय ८ जना पर्यटक नेपाल आएका थिए।

सन् २०१७ मा २०१६ भन्दा ३ हजार २ सय ३३ जना बढी पर्यटक नेपाल आएका छन्। सन् २०१३ मा खस्किएको पर्यटक आगमन त्यसपछि निरन्तर बृद्धि भइरहेको छ। सन् २०१४ मा १ लाख १७ हजार २ सय ६३, २०१५ मा १ लाख २० हजार ६ सय ३७ पर्यटक यो नाकाबाट नेपाल भित्रिएका थिए।

त्यो भन्दा पहिला यो नाका हुँदै भित्रने पर्यटकको संख्या निकै कम थियो। १५ वर्षअघि सन् २००२ मा यो संख्या नौ हजार थियो।  त्यसपछिका वर्षमा लुम्बिनी आउने स्वदेशी तथा विदेशीको संख्या बर्षेनि बढ्दो छ। यो नाका हुँदै श्रीलंकन, थाइल्याण्ड, म्यानमार, दक्षिण कोरिया, भियतनाम, चीन तथा युरोपियनलगायतका देशहरूबाट पर्यटक नेपाल आउने गर्छन्।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ