arrow

के हुँदैछ रानीपोखरीमा ? यसो भन्छ कार्यदल

logo
प्रकाशित २०७४ माघ २ मंगलबार
ranipokhari_news.jpg

काठमाडौं । ०७२ साल बैशाख १२ गतेको भूकम्पले तहसनहस पारेको रानीपोखरीको पुनःनिर्माण विवादले काम ठप्प छ । 

बारपाक केन्द्रविन्दू भएको भूकम्पपछि यसको पुनःनिर्माणका लागि दुई वर्षअघि राष्ट्रपति विद्यादेवी भण्डारीले त्यही रानीपोखरी र बीचमा रहेको बालगोपालेश्वर मन्दिरबाट शुभारम्भ गरेकी थिइन् । 

सोही दिन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पनि भब्यताका साथ उद्घाटन गरेका थिए । 

त्यो उद्घाटन देख्दा यस्तो लाग्थ्यो कम्युनिष्टहरु तात्दैनन् तातेपछि काम फत्ते गरेरै छोड्छन् । 

दुर्भाग्य पुनःनिर्माणले गति लिन त सकेन नै त्यही शुभारम्भ गरिएको स्थलमा गाईजात्रे छ । 

रानीपोखरी अहिले खण्डहर मरुभूमि बनेको छ । 

पानीको एक थोपा पनि देखिँदैन । बाँझो खेतजस्तै छ । रातारात बालुवा ओसारिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर एवं एमाले नेता विद्यासुन्दर शाक्यले कृत्रिम पोखरी बनाएर क्याफे सञ्चालन गरी सम्पदा मेट्न नै लागेपछि अहिले काम समेत ठप्प छ । 

एक वर्षअघि बालगोपालेश्वर मन्दिरमा सिमेन्ट, छडलगायत आधुनिक निर्माण सामग्री प्रयोग गरेर सम्पदा मास्न खोजिएको भन्दै पुरातत्व विभागले पुनःनिर्माणमै रोक लगाएको थियो । 

कंक्रिटको प्रयोगले जमिनमुनीको पानीसमेत आउन नपाउने भन्दै पुरातत्व विभागले त्यसमा पूर्ण रोक लगाएको थियो । 

पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीको संयोजकत्वमा बनेको अध्ययन कार्यदलले प्रतिवेदन दिएपछि मात्र काम अघि बढ्ने महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्की बताउँछन् ।

के गर्दैछ त अध्ययन कार्यदल ? 
कार्कीको संयोजकत्वमा बनेको कार्यदलले गत हप्ता नै प्रतिवेदन बुझाउनु पर्ने थियो । तर सकेन । सर्वसाधारणदेखि विज्ञसम्मले अनपेक्षित रुपले थुप्रै सुझाव दिएपछि कार्यदललाई ती सुझावसहितको प्रतिवेदन तयार पार्न कठिन भयो । 

मंगलबार बिहानै हाम्राकुरासंग बोल्दै कार्कीले भने, ‘म अहिले यही काममै व्यस्त छु, आज र भोलिमा हामीले प्रतिवेदन तयार गरिसक्छौं र पर्सी बिहिबार बुझाउँछौं ।’

उनले भने, ‘अधिकांश सुझावकर्ताले प्राकृतिक सम्पदा नमासिने गरी पहिले जस्तो थियो त्यस्तै किसिमको रानीपोखरी निर्माणमा जोड दिनुभएको छ, हामीले उहाँहरुको सुझावलाई समेटेर प्रतिवेदन बनाउँदैछौं ।’

कति पृष्ठको होला त प्रतिवेदन ? संयोजक कार्कीले यसका लागि बिहिबारसम्मै कुर्नुपर्ने बताए । उनले भने, ‘हामी तयार गरेर सकेका छैनौं, टाइप हुँदैछ, ठयाक्कै बताउन त समय लाग्ने भयो, बिहिबारै थाहा हुने भयो ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ