arrow

बर्थडे गिफ्ट ट्वाइलेट 

logo
मोहम्मद सदरुल 
प्रकाशित २०७४ माघ २ मंगलबार
toilet.jpeg

भद्रपुर । झापाको कमल गाउँपालिका–१ निवासी केदार कटुवालको पहिचान अहिले फेरिएको छ भने उनी चर्पीदाताको रुपमा चिनिन थालेका छन् । 

विगतदेखि नै सामाजिक कार्य गर्दै आएका कटुवाल अहिले चर्पीदाताको रुपमा चिनिन्छन् । 

उनले आफ्नो वडाका अतिविपन्न घरपरिवारलाई चर्पी निर्माण गर्ने सामग्री व्यक्तिगत तवरबाट सहयोग गर्नेमात्र होइन, आफ्नो छोराको जन्मदिनमा समेत एक दृष्टिविहीनलाई चर्पी बनाउने सामान हस्तान्तरण गरेका छन् । 

हालैको स्थानीय तहको निर्वाचनबाट वडाध्यक्ष भएपछिको पहिलो काम उनले आफ्नो वडामा रहेका चार विद्यालयका एक–एक विद्यार्थीलाई निजी स्तरबाट छात्रवृत्ति प्रदान गर्ने निर्णयले उनलाई थप सामाजिक काम गर्ने हौसला बढेको पाइन्छ । 

“मैले वडाको पैसाबाट नभई आफ्नै लगानीमा विद्यालयमा छात्रवृत्ति कोष स्थापना गर्ने सोच बनाएको थिएँ”, उनले भने, “तर, गाउँमा खुल्ला दिसामुक्त अभियान चलेपछि छात्रवृत्ति कोष स्थापनालाई केही पर सारेर चार विद्यालयका एक–एक जना विपन्न विद्यार्थीको घरमा चर्पी बनाउनका लागि आवश्यक सामान दिएँ ।” 

चर्पी बनाउनका लागि उनले सिमेण्टका चारवटा रिङ, त्यसको ढक्कन, वाटरसिल प्यान र पाइप दिए । चर्पीको माथिल्लो संरचना तयार गर्नका लागि आफ्नो घरमा बाँस नहुनेलाई बाँस पनि सहयोग गरे । “प्यान जडान गर्नका लागि सिमेण्टसमेत किन्न नसक्नेलाई सिमेण्टसमेत सहयोग गरेको छु”, उनले सुनाए । 

यही पुस २ गते छोरा आगमन कटुवालको जन्मदिनको अवसरमा छोरालाई जन्म दिनको उपहारको बारेमा सोचिरहेका केदारलाई लाग्यो  कुनै एक विपन्नलाई चर्पी बनाउने सामान नै उपहार दिन पाए झनै भलो होला । 

त्यसैले उनले दृष्टिविहीन बज्रबहादुर कार्कीलाई चर्पी बनाउने सामान हस्तान्तरण गरे, त्यो पनि छोराको हातबाट । 

वडाध्यक्ष कटुवालतर्फ संकेत गर्दै बज्रबहादुरले भने, “उहाँकै गाडीमा सामान राखेर ल्याइदिनुभयो, चर्पी बनाउने बाँस पनि उहाँकै घरबाट ल्याएँ ।” 

खुल्ला दिसामुक्त अभियानका क्रममा सञ्चारकर्मीको टोली बज्रबहादुरको घरमा पुग्दा उनले भने, “बाँसको टाटी त आफैँ बनाएँ, अब सिमेण्ट पाएँ भने बाँसको टाटीमा सिमेण्ट लगाएर चिटिक्कको चर्पी बनाउथेँ ।” 

बज्रबहादुरको बोली खस्न नपाउँदै केदारले भने, “बजारको पसलमा आज सिमेण्ट आइसकेको छ, एक बोरा सिमेण्ट ल्याएर चिटिक्कको चर्पी बनाउनु । पैसा मेरो नाममा लेखिदिनु ।” 

केदारको ‘चर्पी सपना’ सकिएको छैन । आफ्नो गाउँपालिकालाई नै खुल्ला दिसामुक्त गरेपछि मात्र वडाको नियमित काममा फर्किने उनको योजना छ । “अझै आठदश जना विपन्नलाई व्यक्तिगत तवरबाट चर्पी बनाउने सामान दिँदा समुदाय खुल्ला दिसामुक्त हुन्छ भने हामीले सहयोग नगरे कसले गर्ने ?” 

“अब गाउँपालिकालाई नै खुल्ला दिसामुक्त घोषणा गर्दैछौँ, शहीद सप्ताहको अवसर पारेर”, सञ्चारकर्मीको टोली गाउँबाट बिदा हुनैलाग्दा उहाँले निमन्त्रणा गर्न पनि भ्याइहाल्नुभयो, “खुल्ला दिसामुक्त घोषणा समारोहमा पनि आउनुपर्छ है ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ