arrow

छ लेन सडकलाई फुलले सजाउने तयारी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ २ मंगलबार
six_lanth_news_.jpg

बुटवल।  बुटवल–बेलहिया सडक छ लेन सडकलाई फूलैफूलले सजाउने तिलोत्तमा नगरपालिकाको अभयानले सडककै मुहार फेरिन थालेको छ। योजनाले मूर्त रूप लिँदै जाँदा सडक छेउमा सुन्दर फूलबारीहरू तयार भएका छन्।

स्थानीय तहमा जनप्रतिनिधि आएपछि नगरसभाबाटै छ लेन सडकलाई पर्यटकीय मार्ग बनाउने खाका तयार भयो। स्थानीय सरकारले कामै गरेन भन्ने गुनासो भइरहँदा तिलोत्तमाका बासिन्दा भने आफैले चुनेका जनप्रतिनिधिसंगसंगै सडक फूलबारी निर्माण र सफाईमा जुटेका छन्।

छ लेन सडक निर्माण भएपनि ‘ग्रिनरी’ क्षेत्र उजाड थियो। त्यही उजाड ‘ग्रिनरी’ क्षेत्र अहिले बाह्रैमासे फूल्ने फुलले ढाकिएको छ। ‘हामीले स्थानीयलाई आग्रह गर्‍यौँ। उहाँहरूले साथ दिनुभएको छ', तिलोत्तमाका नगरप्रमुख बासुदेव घिमिरे भने–‘यो सडक हिन्नेहरूलाई मोहित बनाउने फूलबारी बन्दैछन्।’ छ लेन सडक निर्माणमा दाँया–बाँयाँ र बीच भागमा ‘ग्रिनरी’ क्षेत्र राखिएको छ। सडक निर्माण परियोजनाले रुखका बिरुवा लगाए पनि हुर्किन सकेका थिएनन्। अहिले त्यही क्षेत्रमा साना र झुम्म हुने रुखका विरुवासंग फूलबारी नै बनाइएको छ। नगरपालिकाको साथ पाएपछि स्थानीय बासिन्दाले सडकमै फूलबारी बनाउन डेढ लाख रूपैयाँसम्म खर्च गरेका छन्।

सडकको दायाँ–बायाँ स्थानीय र बीचमा नगरपालिकाले संघ संस्थाहरूलाई फूलबारी बनाउन आह्वान गरेको छ। अहिले तिलोत्तमाका मणिग्रामभन्दा माथिल्लो सडकमा ढकमक्कै फूल फुलिसकेका छन्। ‘आफ्नो घर अगाडिको सडक सफा र सुन्दर हुनु आफैलाई फाइदा हो, स्थानीय पूर्णभद्र तिवारीले भने–‘नगरपालिकाको अभियानलाई साथ दिँदै फूलबारी बनाउँदैछु।’ उनको फूलबारीमा पूर्वमन्त्री तथा सांसद घनश्याम भुसाल, प्रदेश सभा सदस्य लिला गिरीले समेत सोमबार फूल रोपेर सहयोग गरिदिए।

आगामी वर्षसम्म सबै सडकमा फूलबारी बनिसक्ने नगरपालिकाले जनाएको छ। नगर सौन्दर्यका लागि छाडा चौपाया नियन्त्रण अभियान नै चलाइएको छ। उपप्रमुख जागेश्वरी चौधरीले गौशाला निर्माण गरी सडकमा चौपाया नियन्त्रण अभियान थालिएको बताइन्। सडकमा भएका चौपाया गौशाला पुराउनेलाई नगरपालिकाले ५ सय रूपैयाँ दिने योजना बनाएको छ। नगरपालिकाले ‘ग्रिन तिलोत्तमा, क्लिन तिलोत्तमा’ अभियान नै चलाएको छ। अभियानलाई साथ दिन पूर्वमन्त्री भुसाललगायतहरू समेत सफाइमा जुटेका छन्। सरसफाई अभियानमा जनप्रतिनिधिहरूका साथै विभिन्न टोल विकास संस्था, क्लब, आमा समूह, शिक्षण संस्थालगायत स्थानीय बासिन्दा सहभागिता हुँदै आएका छन्।

बुटवलमा पनि अभियान
सडक फूलबारीको अभियान बुटवल उपमहानगरमा पनि शुरु भएको छ। बुटवल उपमहानगरपालिकाले टोल समितिहरूलाई फूलबारी निर्माणमा परिचालन गरेको छ। नगर उपप्रमुख गोमा आचार्यले एक वार्ड एक पार्क बनाउने योजना अनुरूप सडकमा फूलबारी बनाउन थालिएको बताइन्। नगरपालिका, टोल समिति र जनश्रमदानमा पार्कहरू निर्माण हुनेछन्।

बुटवलको वार्ड नम्बर १० ले फूलबारी बनाउने काम शुरु गरेको छ। यसरी बनेका सडक फूलबारीको रेखदेख, मल पानी राख्ने काम नगरपालिकाले गर्ने बताइएको छ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ