लिच्छविकालीन इतिहास खोज्दै एमाले महासचिव शताब्दी पुरुषको निवासमा

प्रकाश सिलवाल, प्रकाशित मिति : २०७४ माघ ३ बुधबार , १,९४४ पटक हेरिएको

काठमाडौँ । “उसबेला बूढानीलकण्ठदेखि शंखमूल–पाटनसम्मलाई एउटै विशालनगर भनिन्थ्यो ।” शताब्दी वाड्यमय पुरुष सत्यमोहन जोशीले नेकपा एमालेका महासचिव ईश्वर पोखरेललाई भने, “लिच्छविकालीन राजधानी मानिने हाँडीगाउँ आसपासका ठाउँमा नेपालको पहिलो प्रामाणिक अभिलेख मानिने प्रस्तर मूर्तीहरु पनि पाइएका थिए । त्यसको उचित संरक्षण गर्न सक्नुपर्छ ।”

जोशीले पछिल्लो पुस्तक ‘नेपाली कलाको रुपरेखा (प्राचीन र मध्यकालीन)’ उपहार दिएपछि महासचिव पोखरेलले कैलाशकुट दरबारको इतिहासबारे चासो राख्दा उक्त दरबार हाँडीगाउँमै भएको आधिकारिक दस्तावेज भने हालसम्म नपरेको जवाफ पाए । प्रायः इतिहास, संस्कृतिका अध्येता र सञ्चारकर्मी पुग्ने जोशी निवासमा बुधवार राजनीतिक नेता पुगेर विभिन्न चासो राखेपछि जोशीले खुशी हुँदै भने, “आज मेरो घर पवित्र भयो ।”

प्रतिनिधिसभा सदस्यको निर्वाचनका क्रममा काठमाडौँ निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवार बन्दा इतिहास, धर्म र संस्कृतिसम्बन्धी गरेका विकासका प्रतिबद्धता पूरा गराउने क्रममा संस्कृतिविद् जोशीसँग नवनिर्वाचित सांसद पोखरेलले बुधवार करिब दुई घण्टा भलाकुसारी गरेका थिए ।

नेपालको इतिहासको स्वर्णकाल मानिने लिच्छविकालका राजा अंशु वर्मा र मानदेवले हाँडीगाउँबाटै शासन चलाएको मानिन्छ । दुई दशकअघि मालीगाउँमा स्थानीयवासी रामभक्त खड्काले घर बनाउन जमिन खन्दा संवत् १०७ का राजा जय वर्माको ढुंगाको मूर्ति फेला परेको र हाल त्यसलाई छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको जोशीले जानकारी दिए । त्यसपछिको अभिलेखमा संवत् ३८७ मा राजा मानदेवले आफ्ना पिता धर्मदेवको स्मृतिमा लाजिम्पाटको धोबीचौरमा विष्णु विक्रान्तको मूर्ति बनाएको भेटिएको छ ।

महासचिव पोखरेलले निर्वाचन घोषणापत्रमा “लिच्छविकालीन राजधानीका रूपमा वैभवपूर्ण इतिहास बोकेको हाँडीगाउँको विकासलाई विशेष जोड दिइने र हाँडीगाउँको पञ्चधाराको पुनःनिर्माण, टोखालाई ऐतिहासिक र सांस्कृतिक नगरीका रूपमा विकास गरिने” उल्लेख गरेका थिए ।

यस्तै विष्णु–बूढानीलकण्ठ (नारायणस्थान), टोखा चण्डेश्वरीलगायत अन्य सम्भव स्थानमा धार्मिक, सांस्कृतिक पर्यटकीय पूर्वाधार निर्माण र प्रवद्र्धन कार्यलाई व्यवस्थित गरिने तथा धार्मिक–सांस्कृतिक गन्तव्यका रूपमा प्रवद्र्धन गरिने उनको प्रतिबद्धता छ । क्षेत्रका धार्मिक आस्थाका चैत्य, गुम्बा, मस्जिद, चर्च तथा पुरातात्विक महत्वका मठ, मन्दिरको संरक्षण र विकास गरिने पनि उनले प्रतिबद्धता व्यक्त गरेका थिए ।

हाँडीगाउँवासीले लिच्छविकालीन शैलीको कैलाशकुट दरबार बनाउने इच्छा गरेकाले आफूले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको सुनाएपछि संस्कृतिविद् जोशीले “चाहेमा गर्न सकिने” जनाउ दिए ।

धर्मपत्नी मीरा ध्वजू, एमाले केन्द्रीय सदस्य सूर्य थापासहित पुगेका महासचिव पोखरेलले जोशीका जीवनमा उकाली ओराली र उनले गरेका लोक सांस्कृतिक अध्ययन, प्रकाशनबारे जिज्ञाशा राख्दा जोशीले रोचक शैलीमा संस्मरण सुनाएका थिए ।

जोशीले आफूले मदन पुरस्कार पाएको कर्णालीको लोक संस्कृतिसम्बन्धी र चीनमा बस्दा माओत्सेतुङका कविताको आफूले गरेको अनुवादको पुस्तक घरभित्रबाट खोजेर ल्याए देखाए । ‘अरनिकोकृत श्वेतचैत्य’ र अन्य कृति पनि देखाए । महासचिव पोखरेलले पनि आफूलाई सिकारु लेखक भन्दै ‘माघ १९’ र ‘पूर्वको रातो तारा’ दुई पुस्तक जोशीलाई उपहार दिए ।

तुल्सीलाल, मनमोहन अधिकारी, सिद्धिलाल सिंहलगायत कम्युनिष्ट नेतासँगका दुःखदायी जीवनीका सन्दर्भ जोशीले सुनाएपछि महासचिव पोखरेलले प्रतिज्ञा गर्दै भने, “हो, त्यसबेलाका नेताले धेरै दुःख पाएका थिए । हामीले पनि दुःखको धर्ती छाड्नु हुँदैन, त्यसको जमिनमा टेकेर अघि बढ्नुपर्छ ।”  रासस

नयाँ