arrow

अनुराधा कोइरालाको नागरिकताको दुष्प्रचार र यथार्थ

logo
हाम्रा कुरा
प्रकाशित २०७४ माघ ३ बुधबार
anuradha_(2).jpg

काठमाडौं ।  वुधबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर ३ मा अनुराधा कोइरालालाई प्रदेश प्रमुख तोकेको छ । अनुराधा कोइराला समाजसेवी हुन्। माइती नेपाल संस्थामार्फत् उनले बेचिएकी चेलीको उद्दार गर्दै उनीहरुलाई सहयोग गर्दै आएकी थिइन्। तर साढे दुईदहकदेखि निरन्तर क्रियाशिल समाजसेवी अनुराधा कोइरालाको नागरिकताबारे भ्रम सिर्जना गर्न खोजिएको छ।

नेपाली महिला तथा बालबालिकामाथि हुने हिंसाविरुद्ध उदारणीय र साहसिक काम गरेको भन्दै थुप्रै राष्ट्रिय तथा अन्तराष्ट्रिय पुरस्कारबाट सम्मानित कोइरालाको योगदानलाई समेत अपमानित गर्ने गरी यस्तो भ्रम फैलाउन खोजिएको भन्दै अनुराधाका शुभचिन्तकहरुले समेत दु:ख व्यक्त गरेका छन्।

कोइरालासँग वंशजकै आधारमा नेपाली नागरिकता रहेको र उनले त्यो नागरिकता प्रधानमन्त्री कार्यालयमा प्रस्तुत गरेको प्रधानमन्त्री कार्यालयले स्पष्ट पारेको छ। एउटा ट्वीटको भरमा समाजसेवीको अपमान गर्ने काम मिडियाबाट भएकोमा दु:ख व्यक्त गर्दै सत्यतथ्य बुझेर मात्र सूचना दिन आग्रह गरिएको छ। अनुराधाले लिएको वंशज नागरिकता यहाँ प्रस्तुत गरिएको छ।

यसबारेमा अनुराधाले जागिरको क्रममा आफ्नो परिवार भारतमा रहे पनि आफ्नो पुर्खा नेपाली भएको र आफूसँग बंशजको नागरिकता रहेको बताइन्। उनको प्रश्न थियो, जागिर वा अध्ययन क्रममा विदेश गएका सबै नेपालीलाई हामीले विदेशी भन्न मिल्छ ? अनुराधाले आफू अध्ययनको क्रममा १८ वर्ष भारतमा रहे पनि पचास वर्ष नेपालमै बिताएको बताउँदै भनिन्, ‘जीवनको पचास वर्ष मैंले यहीं बिताए। आफ्नो परिवार र निजी जीवनलाई समेत परवाह नगरी अनेक चुनौती र जोखिम मोलेर महिला बेचबिखनविरुद्ध म निरन्तर लडाइ लडे तर आज केही व्यक्ति र समूहहरु मलाई यसरी यस्ता निराधार हल्ला र भ्रम फिजाएर दण्डित गर्न खोज्दैछन्। मलाई निकै दु:ख लागेको छ।’

बंशजको आधारमा नागरिकता रहेको प्रमाणित हुँदाहुँदै पनि अनुमानका भरमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै माइती नेपाल परिवारले खेद व्यक्त गरेको छ। अनुराधाले बशंजको आधारमा नागरिकता लिएकी छिन्। प्रदेश प्रमुख बन्ने अवसरबाट विमुख गराउने एउटा स्वार्थी समूहको डिजाइनमा यस्तो हल्ला चलाउने र भ्रम फिजाउने काम भएको छ।

शिक्षकको जागिर छोडेर २५ वर्षअघि अनुराधा समाजसेवाको यात्रा थालेकी थिइन्। साढे दुई दसकअघि अनुराधाले आफ्नै डेरामा जन्माएको माइती नेपाल आज देशकै एउटा उदाहरणीय सामाजिक संस्थाका रुपमा स्थापित भएको छ। जोखिममा रहेका हजारौं महिला तथा बालबालिकाका लागि आश्रय तथा आसाको केन्द्र बनेको छ।

निकै अप्ठ्यारो र अभावबीच मानवबेचबिखनविरुद्ध एउटा साहसिक र जोखिमपूर्ण यात्रा थाल्ने निधो गरिन् अनुराधाले । विभिन्न शक्ति केन्द्रको समेत संरक्षण र अपराधिक गिरोहको संलग्नतामा भइरहेको यो धन्दाविरुद्धको यो लडाइ सजिलो थिएन । स्रोत साधनको कमी, अपराधिक गिरोहको निशाना, कमजोर संस्थागत संरचना, अविश्वास र असहयोगी राज्य संयन्त्र, अनि सानो साथ, अनुराधाको यात्रा साच्चिकै कठिन थियो । यो यात्रामा अनुराधा र माइती नेपालले चुनौती, जोखिम र समस्या पलपलमा भोग्‍नुपर्यो तर उनी कहिल्यै विचलित भइनन् । निरन्तर डटेर लागिन् । उनको अदम्य साहस र इच्छाशक्ति नै माइती नेपालको पुँजी र उर्जा थियो र आज पनि छ । जसले यात्रालाई निरन्तर अगाडि बढायो ।

मानव बेचबिखनविरुद्ध अनुराधाले प्रदर्शन गरेको अदम्य साहस र उनको अनवरत संघर्षको देश विदेशमा प्रशंसा भइरहेको छ । नेपालबाट सिएनन हिरोको अवार्ड पहिलोपटक उनले नै हात पारिन् । भारतको निकै प्रतिष्ठित सम्मान पद्माश्री पुरस्कार पाउने अनुराधा नै पहिलो नेपाली हुन् । उनले अरु थुप्रै अन्तराष्ट्रिय सम्मान र पुरस्कार प्राप्त गरेकी छिन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ