arrow

सिलवाल 'छोटी नाका'बाट नेपाल आएको सूचनापछि तात्यो प्रहरी

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
navaraj-silwal.jpg

काठमाडौंं । बुधबार प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी प्रमुखलाई पत्र लेख्दै प्रतिनिधिसभा सदस्यमा ललितपुर १ का लागि एमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालको ‘खोतजलास’ गर्न भनेको छ । अहिलेसम्म विदेशमा रहेका उनलाई सातै प्रदेशको प्रहरी प्रमुखलाई पत्र लेख्नुको तात्पर्य के भन्ने प्रश्न पनि उठ्न थालेको छ । 

तर, प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार अहिले पूर्व डिआईजी सिलवाल सडक मार्ग (छोटी नाका)बाट नेपाल आईसकेको भन्ने सूचना पाएपछि प्रधानकार्यालयले पत्र पठाएको हो । प्रधानकार्यालय स्रोतका अनुसार आफ्नो कार्यक्षेत्र बाहिर गएर काठमाडौं प्रहरीले सिलवाललाई पक्राउ गर्न नसक्ने भएकोले सातै प्रदेश प्रमुखलाई परिपत्र गरिएको हो ।  

प्रहरी महानिरीक्षक बन्न किर्ते कार्यसम्पादन मूल्यांकन पेस गरेको अभियोगमा सिलवाल छानबिनमा तानिएका छन् । कार्यसम्पादन मूल्यांकनमा किर्ते भएको बारे सर्वोच्च अदालतले छानबिन थाल्न आदेश दिएलगत्तै महानगरीय प्रहरी परिसर, काठमाडौंमा उनीविरुद्ध मुद्दा दर्ता भएको थियो ।

मुद्दामा सर्वाेच्चले तत्काल सिलवाललाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाउन भनेपछि प्रहरी परिसर काठमाडौंले उनलाई अनुसन्धानको लागि पक्राउ गर्न सूचना जारी गरेको थियो । सूचना जारी गरेसँगै सिलवाल मुलुक बाहिर गएपछि अहिलेसम्म पनि सिलवाललाई पक्राउ गर्न सकेको छैन । प्रधानकार्यालयबाट जारी पत्रमा ‘मुलुकी ऐन किर्ते कागजको महलअन्तर्गतको सरकारी कागज किर्ते मुद्दा अनुसन्धानको सिलसिलामा केही बुझ्नुपर्ने भएको हुँदा खोजतलास गरी यस कार्यालयमा अविलम्ब उपस्थित गराइदिनुहुन अनुरोध छ ।’ भन्ने ब्यहोरा उल्लेख गरिएको छ । 

यसअघि प्रहरी परिसर काठमाडौंले पुस १८ मा सिलवाललाई उपस्थित गराउन भन्दै प्रहरी परिसर, ललितपुरका नाममा पत्र काटेको थियो । ललितपुर प्रहरीले सिलवालको ठेगानामा उनी नभेटिएको, तर खोजी जारी रहेको जवाफी पत्र पठाएको थियो ।

अदालतले दोषी प्रमाणित नगराएसम्म इन्टरपोलको सहयोगमा विदेशबाट झकाउनको लागि पनि त्यति सहज नभएकोले प्रहरीले विदेशमा रहेका सिलवाललाई पक्राउको प्रक्रिया अघि बढाएको थिएन । इन्टरपोलले अपराधीमात्रै समात्ने र सिलवाल अपराधी नभई अभियुक्त मात्रै रहेकोले उनलाई समात्न प्रहरी ईन्टरपोलमा नगएको प्रहरी प्रधान कार्यालय स्रोतले जानकारी दियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ