arrow

रातारात हराएको रानीपोखरीको बालुवाबारे अब त केही बोल्लान् मेयरसा'प ?

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
ranipokhari_news.jpg

काठमाडौं । गत पौष १३ गते रानीपोखरीमा सम्पदाको विवाद चलिरहँदा रानी पोखरी भित्र रहेका १ नम्बरी बालुवा भने रातारात तस्करी हुने गरेको आरोप सहितको समाचार हाम्राकुरा डटकममा प्रकाशित भएपछि स्थानीयहरुले समेत यस विषयमा खोजी गरेका छन् । बुधबार काठमाडौं महानगरपालिकाले रानीपोखरीको विषयमा बहस गर्नको लागि आयोजना गरेको सार्वजनिक सुनुवाईको क्रममा बोल्दै त्यहाँ उपस्थित विज्ञहरुले रानीपोखरीको बालुवाको विषयमा समेत मेयरमाथि सवाल उठाएपछि यो विषय झनै पेचिलो बन्न पुगेको छ । 

काठमाडौं महानगरपालिकाले रानीपोखरी क्षेत्रमा खटाएका एक कर्मचारीले नाम नबताउने शर्तमा दिएको जानकारी अनुसार त्यतिबेला नै डोजरले खनिरहेको रानीपोखरी क्षेत्रमा झण्डै ४ ईन्च गहिराईसम्मको बालुवा रातारात हराउने गरेको तथ्य सार्वजनिक भएको थियो। तर त्यतिबेला महानगरका जिम्मेवार पदाधिकारीहरुले भने यो कुरा स्वीकारेका थिएनन्।

यो पनि पढ्नुहोस् : रानीपोखरी भित्र यस्तो रहेछ चलखेल, हराएको बालुवाको रहस्य के ?

रानी पोखरी भित्रको बालुवालाई यस भन्दा अघि रानीपोखरीमा राख्दा नै उच्च गुणस्तरको बालुवा मानिएको छ । त्यतिबेलासम्म नै झण्डै २० लाख बराबरको बालुवा तस्करी भईसकेको भन्ने सूचना आएपछि त्यहाँ धेरै स्थानीयको समेत चासो बढेको थियो । सोही चासो बुधबारको बैठकमा पोखेका छन् । 

संरक्षण अभियानसँग जोडिएका शैलेश शाक्यले रानीपोखरी जिर्णोद्वार क्रममा पानी सुकाएपछि त्यहाँको गुणस्तरीय कालो माटो, बालुवा र मल्लकालीन इँटा अन्तै ओसारिएको बताए। ‘रानीपोखरीबाट झिकिएको कालो माटो, बालुवा र मल्लकालीन इँटा कहाँ–कहाँ ओसारियो, त्यसको खोजबिन हुन्छ कि हुँदैन ?’ भन्ने प्रश्न शाक्यको थियो । 

आफैंले आयोजना गरेको सो कार्यक्रममा मेयर र उपमेयर भने उपस्थित भएका थिएनन् । त्यहाँ उपस्थित भएका थिए भने मेयरले यसको जवाफ त्यहिँ नै दिने थिए होला । तर, उनी त्यहाँ नभएकोले सो प्रश्नको जवाफ उनले सार्वजनिक स्थानमा दिन्छन् कि दिँदैनन् भन्ने कुरा महत्वपूर्ण बनेर आएको छ । आफैंले आयोजना गरेको कार्यक्रममा उठेका प्रश्नको उत्तर दिएनन् भने मेयर शाक्य आफैंमा झनै आलोचनाको पात्र बन्ने पनि निश्चित नै छ । 

यो पनि पढ्नुहोस् : राती राती कहाँ जान्छ रानीपोखरी भित्रको 'नम्बरी' बालुवा ? 

हाम्राकुरामा आएको बालुवा हराएको विषय वास्तवमा त्यही आरसीसी पर्खाल बनाउन ठेकेदारले नै तस्करी गर्ने गरेको भेटिएको समाचार पछि सार्वजनिक भएको थियो । रातीराती रानीपोखरीबाट बालुवा बाहिर लैजाने र त्यही बालुवालाई नम्बरी बालुवा ल्याएको देखाएर कर्मचारीहरुकै मिलेमतोमा तस्करी गर्ने गरेको भेटिएको हो । सोही मेसोमा केही बालुवा बाहिर पनि बेचिएको भेटिएको थियो। यसबारे महानगरपालिकाका मेयरलाई समेत जानकारी भएपनि उनले केही बोल्ने नगरेको आरोप समेत लाग्ने गरेको थियो । यही आरोपलार्इ पुष्टि गर्नेगरी सार्वजनिक सुनुवार्इका क्रममा विज्ञहरुले नै प्रश्न उठाउन थालेपछि मेयरलार्इ यस विषयमा बोल्नको लागि थप दबाब परेको हो ।  


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ