arrow

राष्ट्रियसभामा काँग्रेस रणनीति : जोसँग मिलेर भएपनि अधिकतम सिट हाँसिल गर्ने

logo
प्रकाशित २०७४ माघ ४ बिहिबार
congress-flag.jpg

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले आगामी राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको अधिकतम सिट हासिलका लागि रणनीति बनाउने भएको छ । बिहीबारदेखि शुरु भएको पार्टीको केन्द्रीय समिति बैठकले राष्ट्रियसभाको निर्वाचनमा कसरी बढीभन्दा बढी सिट हासिल गर्ने भन्नेबारे बहस चलाएको हो । 

काँग्रेसले वाम गठबन्धनबाहेकका राष्ट्रिय जनता पार्टी (राजपा)लगायत अन्य साना राजनीतिक दलसँग चुनावी तालमेल गरेर जाने विषयमा पनि धारणा बनाउने छ । सरकारले यही माघ २४ गते राष्ट्रियसभाको सदस्य निर्वाचनका लागि मिति घोषणा गरेको छ । राजपालगायत कम सिट भएका दलसँग पनि सहकार्य गरेर अधिकतम सिट हासिल गर्नेगरी रणनीति बनाउने सम्बन्धमा केन्द्रीय समितिमा छलफल भएको केन्द्रीय सदस्य गुरुराज घिमिरेले जानकारी दिए । 

प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाको सभापतित्वमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा शशांक कोइराला, उपप्रधानमन्त्री एवं पार्टी नेता विजयकुमार गच्छदारलगायत पार्टी नेताहरू उपस्थित थिए । बैठकमा करिब तीन दर्जन सदस्यले आआफ्नो धारणा राख्नुभएको थियो । बोल्ने अधिकांश सदस्यले प्रदेशसभा र प्रतिनिधसभा सदस्य निर्वाचनमा पार्टीले बेहोरेको परिणामबारे नेतृत्वको आलोचना गरेका थिए । उनीहरुले पार्टी सभापतिको कमजोरीले पार्टीलाई कमजोर बनाएको भन्दै आपत्ति जनाएका थिए । 

राष्ट्रियसभाको निर्वाचन रणनीति बनाउने सन्दर्भमा बोलाइएको बैठकमा नेताहरुले नेतृत्वको कडा आलोचना गर्नमै अधिकाँश समय खर्चेका थिए । केन्द्रीय सदस्य घिमिरेका अनुसार आज बोल्ने अधिकांश सदस्यले नेतृत्वप्रति आलोचना गरेका छन् । यसअघि बैठकका विषयमा जानकारी दिँदै काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्य निर्वाचनमा पार्टीको तयारी, उम्मेदवार चयन प्रक्रिया, निर्वाचनमा अन्य दलसँगको सहकार्यका साथै समसामयिक राजनीतिक विषयमा छलफल जारी रहेको बताएका थिए । 

हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि काँग्रेस केन्द्रीय कार्यसमिति बैठक पहिलोपटक बसेको हो । उक्त निर्वाचनमा पार्टीले अपेक्षा गरेअनुसार परिणाम नआएपछि पार्टीभित्र नेतृत्वको आलोचना हुनाका साथै केन्द्रीय समिति र महासमिति बैठक बोलाउनुपर्ने माग उठ्दै आएको छ । गत मंसिर १० र २१ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा मुलुकको ठूलो दल काँग्रेस पहिलो स्थानबाट दोस्रो स्थानमा पुगेको छ । केन्द्रीय समितिको बैठक भोलि बिहान ११ बजे पुनःबस्नेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ