arrow

२ दिन बसेको कांग्रेस बैठकले गर्‍यो ३ निर्णय (निर्णयसहित)

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
congress-flag.jpg

काठमाडौं । नेपाली कांग्रेसको २ दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको वैठक २ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । पार्टी सभापति एवं प्रधानमन्त्री शेरवहादुर देउवाको अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकले ३ बुँदे निर्णय गर्दै सम्पन्न भएको हो । बिहीबारदेखि प्रारम्भ केन्द्रीय कार्यसमितिको बैठकमा सभापति देउवाले बैठकको प्रारम्भमा नै ३ वुँदे निर्णय गरेका थिए । 

बैठकमा सभापति देउवाले राखेको ३ बुँदे प्रस्ताव 
१. “नेपाली कांग्रेसको नेतृत्वमा निर्माण भएको संविधान कार्यान्वयनको एउटा महत्वपूर्ण चरण नेपाली कांग्रेसकै नेतृत्वमा पुरा भएको छ । संविधान निर्माणपछि अन्ततः तराई–मधेशमा उत्पन्न समस्यालाई समाधान गरि, निर्वाचनको प्रकृयामा सवै पक्षलाई सहभागी गराउन सक्नु कांग्रेस नेतृत्वको सरकार र सिंगो कांग्रेस पार्टीको सफलता हो भन्ने मेरो ठहर छ । लामो संक्रमणकाल अन्त्य गर्न प्राप्त सफलताका लागि प्रधानमन्त्री एवं पार्टी सभापतिको हैसियतले पार्टीका सम्पूर्ण नेता कार्यकर्ता र साथीहरुमा बधाई ज्ञापन गर्न चाहन्छु ।

२. निर्वाचनमा पार्टीले आशातीत सफलता प्राप्त गर्न सकेन । यस्तो परिणामका पछिल्तीर हाम्रा अन्य जे जे कारण होलान, ती सवैका सन्दर्भमा समय लिएरै व्यापक रुपले गम्भीर समिक्षा÷छलफल एवं अन्तरकृया गर्न जरुरी छ । सभापतिका नाताले सम्पूर्ण साथीहरुलाई म खुला ढंगले समीक्षामा सहभागी हुन आग्रह गर्दछु । निकट भविष्यमा पार्टीको महासमितिको वैठक वस्नेछ । राज्यको नयाँ संरचना अनुसार पार्टीको विधानमा संशोधनका साथै नयाँ रक्त सञ्चार हुने गरि पार्टीको आगामी रणनीति तय गर्न उक्त महासमितिले नीतिगत र वैधानिक दिशा निर्देश गर्नेछ । मुलुकको संविधान अनुरुपको पार्टी संरचनामा अत्यावश्यक हेरफेर गर्न पार्टीको विधान संशोधन हामीले गर्नु छ । पार्टीका सवै संगठनात्मक संरचना र तह तथा भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाहरुलाई थप सुदृढ, गतिशील र सशक्त बनाउनका लागि नयाँ योजना र कार्यक्रमहरुका साथ हामी अघि बढ्ने छौ ।

३. यही माघ २४ गतेका लागि निर्धारित राष्ट्रियसभा निर्वाचनको उम्मेदवारी, मनोनयन दर्ता यही माघ १० गते हुन लागेको सन्दर्भमा, हामीले तत्कालै उम्मेदवारी चयन र चुनावको तयारीमा केन्द्रीत हुनु पर्ने छ । अतः साथीहरुबाट यसमा केन्द्रीत रहेर प्राप्त हुने महत्वपूर्ण रायसुझाव अनुरुप हामी अघि वढनेछौ । तत्काल केहि दिनमै केन्द्रीय कार्यसमितिको फेरी अर्को वैठक वोलाई पुनःलामो छलफल र वहस गरिने 
छ ।”

बैठक निर्वाचनमा प्राप्त परिणामको प्रारम्भिक समीक्षा, नविन ढंगले अघि बढ्ने संकल्प र तत्काल राष्ट्रिय सभा निर्वाचनमा केन्द्रीत रहने निर्णयका साथ आज समाप्त भएको छ । 

बैठकमा नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्यहरु— प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि, चित्रलेखा यादव, पूर्णबहादुर  खड्का, डा. रामशरण महत, अर्जुननरसिंह के.सी., बलबहादुर के.सी., महेश आचार्य, प्रदीप गिरी, बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत, दिलेन्द्रप्रसाद बडू, एन.पी.साउँद, उमाकान्त चौधरी, भीष्मराज आङ्देम्वे, डा. शेखर कोइराला, आनन्दप्रसाद ढुंगाना, दीपक गिरी,  नविन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त, अजयकुमार चौरसिया, धनराज गुरुङ, महेन्द्र यादव, शंकर भण्डारी, किशोरसिंह राठौर, गगनकुमार थापा, बद्री पाण्डे, जीवन परियार, सिता गुरुङ, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, किरण यादव, सरिता प्रसाई, हरिप्रसाद नेपाल, अतहरकमाल मुसलमान, विशेष आमन्त्रित सदस्य विजयकुमार गच्छदार, आमन्त्रित सदस्यहरु— बालकृष्ण पाण्डेय, हसन अन्सारी र नरेन्द्रकुमार चौधरीले आफ्नो धारणा राख्नु भएको थियो । वैठकले देहाय बमोजिम निर्णय गरेको छ । 

केन्द्रीय कार्यसमितिको निर्णयः
१. दशकौंसम्मको अथक संघर्ष–यात्राका आरोह–अवरोह र चुनौति पार गर्दै अत्यन्त कठिन साधना र समर्पणको फलस्वरुप प्राप्त उपलब्धीलाई जगैदेखि संस्थागत र सुदृढ गर्ने अवसर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको यो निर्वाचनले दिएको छ । यी निर्वाचनहरुले नेपालको नयाँ संविधानलाई पूर्ण रुपमा कार्यान्वयन गर्ने बाटोमा लगेको छ । समावेशी लोकतन्त्र, सम्प्रभु जनताको गणतन्त्र एवं समता र सामाजिक न्यायमा आधारित लोकतान्त्रिक समाजवाद र समृद्ध नेपाल निर्माणको बलियो आधारशिला खडा गर्ने काम निर्वाचनले गरेको छ । संविधानको सफल कार्यान्वयनबाट जनतालाई सुशासन र आर्थिक समृद्धि प्रत्याभूत गर्न एवं मुलुकलाई स्वाधीन, स्वाभीमानी र समुन्नत बनाउँदै लोकतान्त्रिक संस्कार र संस्कृतिमा आधारित समतामूलक एवं समृद्ध नेपाल बनाउन तीनै तहको निर्वाचन कोषेढुंगा सावित भएको छ । सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरुले अत्यन्त उत्साह, संयम र धैर्यताका साथ आफ्नो मत दिनु भएको छ । निर्वाचनमा जनताको साथ, सहयोग र समर्थनले नेपाली कांग्रेसलाई थप प्रेरणा मिलेको छ । 

केन्द्रीय कार्यसमितिको यो बैठक निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण जिम्मेवारी पुरा गरी संविधान कार्यान्वयनका लागि निर्वाह गरेको नेतृत्वदायी भूमिकाका लागि सभापति एवं सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा रहेको वर्तमान सरकारलाई हार्दिक धन्यवाद प्रकट गर्दछ । साथै, यस राष्ट्रिय जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने निर्वाचन आयोग, निर्वाचन सफल बनाउनमा अहोरात्र खटि उल्लेखनीय सहयोग पु¥याउनु हुने राष्ट्र सेवक कर्मचारीहरु, सुरक्षा निकाय, राजनीतिक दलहरु, पत्रकारहरु, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु लगायत उत्साहजनक सहभागिता जनाई मतदान गर्नु हुने सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा नेपाली कांग्रेस हार्दिक धन्यवाद ज्ञापन गर्दछ । 

२. राष्ट्रियसभा  निर्वाचनको उम्मेदवार चयनका लागि केन्द्रीय कार्यसमितिमा आएका सुझावहरुलाई ध्यानमा राखी पार्टीमा महत्वपूर्ण योगदान दिएका साथीहरुलाई उम्मेदवार बनाउने । 

३. आगामी केन्द्रीय कार्यसमितिको निर्वाचन समिक्षा बैठकमा प्रस्तुत गर्नका लागि पार्टीका गाउँ, नगर, क्षेत्र, जिल्ला कार्यसमितिले सम्बन्धित तहको बैठकमा भएको समिक्षा तथा निर्णय सहित र प्रदेशसभा र प्रतिनिधिसभाका प्रत्यक्ष तर्फका पार्टीका उम्मेदवारले एक महिनाभित्र केन्द्रमा लिखित प्रतिवेदन पेश गर्नका लागि निर्देश गर्ने । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ