arrow

केन्द्रीय समितिमा गगनले भने, ' महासमिति वैठक लगत्तै महाधिवेशन  '

'देउवा पौडेल लगायतका नेताहरुलाई सुझाव अब स्वघोषित अवकास लिनुस'

logo
प्रकाशित २०७४ माघ ५ शुक्रबार
gagans.JPG

काठमाडौं। नेपाली काँग्रेसको वैठक दुई दिन बसेर ३ बुँदै निर्णय गर्दै सकिएको छ। तर यो निर्णय हुनुअघी केन्द्रीय समितिमा धेरै छलफल र वहश भएको छ। विभिन्न नेताहरुले आफ्ना कुरा राखेका छन्। 

नेपाली काँग्रेसका नेता गगन थापाले केन्द्रीय समितिमा आफ्ना धारणा राख्दै पार्टी सभापति वरिष्ठ नेता लगायतको पुस्ता र समुहले नै अब कार्यकारी जिम्मेवारीमा बस्दैनौ भनेर घोषणा गर्न ढीलाइ गर्न नहुने बताए। 

सी क्लासमा पुन स्वागत छ
काँग्रेसले चुनावमा व्यहोरेको पराजयको जिम्मेवारी सबैले बराबरी लिनुपर्छ भन्ने तर्क केहि साथीहरुले गर्नुभएको छ। तर यो बराबर भन्ने कुरा हुन सक्दैन। किनभने हामीले कहिल्यै एक अर्कालाई बराबर मानेकै छैनौं। हामी यहाँ सबै राणाकालिन विभेदको संस्कारबाट बाहिर निस्कनै सकेका छैनौ। 

राणाहरुले जनतालाई अर्कै दर्जाका ठाने। आफै राणाहरुमा पनि क्लास विभाजन गरेका थिए। हाम्रो केन्द्रीय समितिमा पनि यहि खालको व्यवहार भइ आएको छ। 

हुनत यहाँ हामी सबै राणा नै हौ। तर हामी यहाँ एउटै श्रेणी वा क्लासका छैनौ। कोहि ए क्लास, कोहि बी क्लास र कोहि सी क्लासका राणा जस्ता छौ। हामीहरुलाई शुरु देखिनै सी क्लासका राणा जस्तो निर्णायक तहबाट टाढै राखिदै आइएकै हो। त्यहाँसम्म पुग्न हरेकपटक जवर्जस्ती गर्नुपर्छ।

संसदको चुनाव अघी टिकट वाड्ने बेलामा हामीबीचमै रहेका सी क्लासकै साथीहरुलाई वालुवाटार भित्र वैठकमा सहभागि हुने अवसर दिइयो। नियम, कानुन, विधि विधान र प्रक्रिया सबैलाई मिचेर भित्र बोलाउँदा उहाँहरु पनि आफूहरु पनि सी क्लासबाट ए क्लासमा बढुवा भए झै गरि हौसिएर जानुभयो। 

बालुवाटारको भित्री वैठकमा पुगेपछि मात्र उहाँहरुलाई थाहा भयो की उहाँहरु पनि ए क्लासको हैन रहेछ वाहिरबाट भित्र सम्म मात्र लगिएको रहेछ। त्यहाँ आफ्नो हैसियत बी क्लासको मात्र भएको धेरै नेताले संसदको टिकट वितरणमा थाहा पाउनुभयो। 

वालुवाटारमा चेत खुलेपछि उहाँहरु यतिखेर अहिले विधान विपरित भएको संसदीय वोर्ड मान्दैनौ। यसलाई विघटन गरौ भन्दै आउनुभएको छ। 

ढीलो भएपनि चेत खुलेर फर्कनुभएका यहाँहरुलाई सी क्लासमै स्वागत गर्न चाहन्छौ। 

महासमिति वैठक लगत्तै महाधिवेशन  
महासमितिको वैठक बोलाउने कुराबाट भाग्न कोहि पनि सक्दैन यो तत्काल वोलाउनुपर्छ। तर यो महासमितिको वैठक केहि नेताहरुको व्यवस्थापनका लागि मात्र सिमित गर्न खोजियो भने त्यो दुर्भाग्य हुन्छ। त्यो कुरा हामी मान्दैनौ।

महासमितिको वैठकले सिद्धान्तको पूनर्व्याख्या गर्ने, संगठनको संरचना नयाँ बनाउने मात्र हैन नयाँ सपनाको लागि नेपाली काँग्रेस हो भन्ने कुरा स्थापित गर्नुपर्छ। 

विगतका विभिन्न चरणका आन्दोलन, संविधान जारी गर्ने लगायतका काम गर्ने एउटा यूग नै समाप्त भएको  छ। अब काँग्रेस सानोतिनो कुरामा अलमलिन सक्दैन। 

काँग्रेस महासमिति वैठक सानोतिनो कुरामा अल्झिएर बस्न सक्दैन। संविधान निर्माणपछि अब काँग्रेसले जनतालाई स्पष्ट रुपमा सपना देखाउन सक्नुपर्दछ। त्यो सपनाको लागि काँग्रेस हो भन्ने कुरा स्थापित गर्नुपर्छ। यसका लागि महासमिति वैठक बोलाउनुपर्छ। 

महासमिति वैठकले पार्टीलाई तुरुन्त महाधिवेशनमा लिएर जानुपर्छ। अब हामी नियमित महाधिवेशन कुरेर बस्न सक्दैनौ। त्यो कुरेर बस्यौ भने अर्को ठूलो दुर्घटना हुन्छ। 

सभापति देउवा सहित हामी तदर्थ भइसक्यौ
अब हाम्रा सबै समिति तदर्थ समिति हुन। अब एक किसिमले शेर बहादुर देउवा नेतृत्वको यो समिति पनि तदर्थ समिति हो। हामीलाई निर्वाचित गर्ने निकाय नै अब छैन। त्यसकारण पनि हामी महाधिवेशनमा नगइ विकल्पै छैन। 

तपाईहरुको यूग सकियो
नेपाली काँग्रेसका सभापति, बरिष्ठ नेताहरुप्रति हाम्रो अपार श्रद्धा र सम्मान छ। उहाँहरुको योगदानप्रति प्रश्न गर्ने हाम्रो हैसियत नै छैन। हामीले त्यस्तो प्रश्न गर्नु न्यायपूर्ण पनि हुन्न। 

यो निर्वाचन हार्‍यौ त्यसकारण तपाइहरुले छोड्नुस भन्ने कुरा हामीले भनेको नै होइन। तपाइहरु युगपुरुष जस्तै हो। तपाइहरु पञ्चायत विरुद्ध क्रियाशिल हुनुभयो। योगदान पुर्‍याउनुभयो। 

पञ्चायतबाट काँग्रेसलाई जोगाउनुभयो। राजावादी र कम्युनिष्टहरुबाट जोगाएर यहाँसम्म ल्याउनुभयो। संसदिय व्यवस्था र संविधानलाई यहाँसम्म ल्याउनुभयो। तपाईहरुबाट देश र जनताले धेरै पाएको छ। तपाइहरुसँग देश नै ऋणी छ। तर अब त्यो युग सकियो। 

कुरा एजको होइन एजेण्डाकै हो तर कुरा युगको पनि हो। यहाँसम्म आइपुग्दा तपाइहरुले पनि बुझ्नुपर्छ अब तपाइहरुको युग सकियो। अब यो नयाँ युगमा फेरि पुरानै धङधङी राखेर संसदीय दलको नेतामा उठ्ने फेरि चुनाव लड्ने कुरा नगर्नुस।

अब हामी कार्यकारी निकायमा पनि बस्दैनौ भनेर तपाइहरुले छोड्ने बेला आइसकेको छ। तपाईहरुको पुस्ता र समुहले नै अब कार्यकारी जिम्मेवारीमा बस्दैनौ भनेर घोषणा गर्नुपर्छ। स्वघोषित अवकास लिनुपर्छ। यसले तपाइहरु पार्टी र देशलाई नै फाइदा हुन्छ। प्रजातन्त्रलाई पनि फाइदा हुन्छ। तपाइहरुप्रति सम्मान राखेर यो कुरा भनिरहेको छु। 
(थापाले केन्द्रीय समितिमा राखेका धारणाको सम्पादित अंश)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ