arrow

आइजी साप, गोविन्द केसी पक्रिन लगाएको जाँगर रेसम चौधरी पक्रिन किन चलेन ?

logo
अश्रु किरण,
प्रकाशित २०७४ माघ ६ शनिबार
Prakash-Aryal-resham-chaudhary1.jpg

काठमाडौं। २०४४ चैत २९ गते प्रहरी निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका झापा चन्द्रगढीका लक्ष्मण न्यौपानेलार्इ टीकापुर घटनामा विभत्स हत्या गरेको २९ महिना वित्नै लाग्दा सोही दिन नेपाल प्रहरीमा प्रवेश गरेका दाङका प्रकाश अर्याल नेपाल प्रहरीको प्रमुख बनेको १० महिना पूरा भइसकेको छ।

नेपाल प्रहरीका अन्य अधिकारीहरुलार्इ चुस्त सेवाका लागि प्रोत्साहन गर्नुथियो भने सोही समय वा त्यसकै भोलिपल्ट प्रहरीमाथि आक्रमण गर्ने आक्रमणकारीलार्इ कानूनी कठघरामा ल्याउनुपर्ने थियो। तर, घटनाको २९ महिनासम्म पनि मुख्य योजनाकार प्रहरीलार्इ खुलेहाम चुनौती दिँदै सञ्चारमाध्यममा अन्तर्वार्ता दिँदै हिँड्दा पनि प्रहरीले उसलार्इ समात्न नसक्दा सिंगो नेपाल प्रहरीको नै मनोवल गिर्दै छ।

नेपाल प्रहरीको महानिरीक्षक बनेर आएसँगै महानिरीक्षक अर्यालमाथि धेरैले केही सुधारबादी कामको आशा राखेका थिए। जसमध्ये टीकापुर घटनाका दोषी सबैलार्इ कारबाही गर्नु पनि एक थियो। यस बाहेक सांगठनिक सुधार र यसभित्रका समस्याहरुको समाधानको अपेक्षापनि अर्यालबाट धेरैले गरेका थिए। तर, नियुक्तिको १० महिना सकिँदै गर्दा अर्यालबाट त्यस्ता अपेक्षित कुनैपनि काम सम्पादन हुन सकेको देखिँदैन।

न्यौपानेमाथि भएको भाला आक्रमण सम्झिएर अहिले पनि काठमाडौंका प्रहरी जवान समेत बेला बेलामा झस्किने गरेका छन्। पैसाको अभावले राती राती ट्याक्सी चलाउने नेपाल प्रहरीका जवानहरु अहिले पनि पूरा रात सुत्न पाउने गरेका छैनन्। यस्तो अवस्थामा प्रहरीभित्र सुशासनको नारा नारामै सीमित हुनु स्वभाविक नै कुरा हो।

२०७२ साल भाद्र ८ गते थरुहट आन्दोलन क्रममा कैलालीको टीकापुरमा घटेको यो आततायी घटना सम्झिएर प्रहरीका धेरै अधिकारीहरु खुल्ला हृदयले कार्यक्षेत्रमा खटिन सकिरहेका छैनन्। त्यो विभत्स घटनाका खलपात्रलार्इ पक्राउ गर्न किन सकिरहेको छैन ? थारुहरुले यस आन्दोलनमा उठाएको मुद्दा जायज हुँदाहुँदै पनि आन्दोलनमा केही शक्तिले देखाएको उग्र रुपका कारण त्यति ठूलो घटना घटेको थियो। राजनीतिक रुपमा यो विषय नित्तान्त राजनीतिक मुद्दा भएपनि मानवीय हिसावले र एउटा प्रहरीको ठाउँमा उभिएर हेर्दा यो क्ष्यम्य मुद्दा होइन। सर्वव्यापी नियम अनुसार पनि राज्यमा हिंशात्मक आन्दोलन कहिलै स्वीकार्य हुँदैन। 

यस अघि पनि बम आक्रमणको घटना, गौचन हत्याका दोषी लगायतका मुद्दामा नेपाल प्रहरीले आफ्नो क्षमता देखार्इसकेको छ। चर्चित बनेको रानीबारी हत्याकाण्ड लगायतमा पनि प्रहरीको कदम प्रशंसनीय बनेको छ। समाजमा गुण्डागर्दी गर्दै जाने कैयौंलार्इ कारबाही गरिसक्दासम्म नेपाल प्रहरीले चाहेको खण्डमा जस्तासुकै अपराधीलार्इ पनि कारबाही गर्न सक्ने क्षमता देखाइसकेको छ। तर, प्रहरी बालकृष्ण ढुंगेलको मुद्दासम्म आइपुग्दा प्रहरी आलोचनाको शिकार बन्न पुगेको छ। अदालतले दोषी ठहर गरेका ढुंगेललार्इ आफैं विरुद्द मुद्दा नपरुन्ज्याल सार्वजनिक कार्यक्रममा सहभागी हुँदा समेत पक्राउ गर्न नसकेको प्रहरीले मुद्दा परेलगत्तै पक्राउ गरेर कारागार चलान गर्‍यो। यस घटनाले नेपाल प्रहरी जस्तासुकै अपराधीलार्इ पनि पक्राउ गर्न सक्षम छ तर, अन्तिम अवस्थासम्म पनि प्रकाउ गर्न डराउने गरेको देखिन्छ।

अहिले नेपाल प्रहरीले पूर्व डिआइजी नवराज सिलवाललार्इ पक्राउ गर्नको लागि राज्यको सारा स‌ंयन्त्रलार्इ सक्रिय गरार्इएको छ। यो पनि प्रहरीले अनुसन्धानको लागि आवश्यक छ त्यो अर्को ठाउँमा छ। तर, त्यस्तै सक्रियता राष्ट्रले दोषी ठहर गरिसकेको अपराधी पक्राउ गर्न तर्फ प्रयोग नगर्दा सिंगो प्रहरी संगठनप्रति नै आम नेपाली सश‌ंकित बन्न थालेका छन्। सिलवाल नेपाल आएको सूचना पाउनेबित्तिकै सातै प्रदेशका प्रहरीलार्इ पक्राउको लागि पत्र लेख्नेसम्म काम गरिसकेको छ। 

अझ नेपाल प्रहरीको छवि झनै सर्वोच्च अदालतले आदेश दिएको दुर्इ घण्टामा सत्याग्रहमा बसेका डा गोविन्द केसीलार्इ पक्राउ गर्न जाँदा खस्किएको छ। उनलार्इ पनि सर्वोच्चको आदेश अनुसार प्रहरीले पक्राउ गर्नु नै थियो। तर केसी पक्राउको लागि प्रहरीमा देखिएको सक्रियता रेसम चौधरी पक्रिनको लागि खै ? भन्ने प्रश्न जो कोहीले पनि प्रहरी नेतृत्वलार्इ सोध्ने गरेका छन्। 

पछिल्लो १० महिनामा नेपाल प्रहरीका महानिरीक्षक प्रकाश अर्यालले राजनीतिक चक्रब्यूहमा फसेर न त सांगठनिक सुधारकालागि केही गर्न सके न त प्रहरी संगठनले भविष्यमा समेत सम्झिने काम गर्न नै सकेका छन्। अरु त परैको कुरा टीकापुर घटनाको क्रममा प्रहरी संगठनमाथि भएको त्यो आक्रमणले चर्काएको नेपाल प्रहरीका इमान्दार अधिकारीहरुको मनमा मल्हम लगाउन समेत सकेका छैनन्।

रेसम चौधरी टीकापुर हत्याकाण्डमा मुख्य योजनाकारका रुपमा राज्यले दोषी ठहर गरेका अभियुक्त हुन्। उनी अहिले नेपालको सीमा पारीबाट नेपाली मिडियामा अन्तर्वार्ता दिँदै आएका छन् भने अहिले प्रतिनिधिसभाका निर्वाचित सांसद् पनि हुन्न। यी यावत मुद्दाका बाबजुत पनि उनले चुनाव जित्नु त्यो उनको स्थानीय स्तरमा रहेको लोकप्रियताको कुरा छुट्टै होला। तर, उनी राज्यको आँखामा एउटा दोषी ठहर भइसकेका अपराधी पनि हुन्। 

आफ्नै एसएसपीलार्इ मार्ने आदेश दिएका चौधरीलार्इ २९ महिनासम्म पनि पक्राउ गरेर कारबाही गर्न नसक्ने एउटा कुनै प्रहरी अधिकारीले आफू गैरकानूनी काम गर्ने स‌ंगठनको सदस्य भनेर गर्भ गर्न सक्ने ठाउँ कहाँ छ। यो प्रश्न जो कोही प्रहरीले महानिरीक्षक प्रकाश अर्यालमाथि तेर्स्याउने गरेका छन्। 

प्रहरी सूत्रका अनुसार अहिले चौधरीलार्इ पक्राउ गर्नको लागि प्रहरीका कुनैपनि इकाइबाट प्रयास भएको छैन। अदालतले दोषी ठहर गरिसकेका उनलार्इ इन्टरपोलको सहायता लिने हो भने बढीका एकसाता भित्र पक्राउ गर्न सकिने प्रहरीकै अधिकारीहरु बताउँछन्। यस्तो अवस्थामा सीमाको सय मिटर पारी बसेर नेपाल प्रहरीलार्इ चुनौति दिने चौधरीलार्इ पक्राउ गर्न नसक्नु आइजी अर्यालको ठूलो कमजोरी हो भन्न सकिन्छ। 

त्यस्तै स‌ंगठन भित्रको प्रशासनिक व्यवस्थापन, प्रहरी अधिकारीहरुको बृत्ति विकास, प्रहरीको सेवा सुविधा लगायतका विषयमा प्रहरी महानिरीक्षक अर्यालको उदासिनताकै बीच उनी विदा हुने दिन आइसकेको छ। अहिले नवराज सिलवाल र गोविन्द केसीलार्इ समात्न आदेशदिनेहरुले त्यत्रो ठूलो काण्डका मुख्य आरोपीलार्इ भने किन कानूनी कठघरामा ल्याउन सकिरहेका छैनन् ? आम नागरिकको प्रश्न हो यो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ