arrow

कुलमानले खोले ‘सेज’वालाको पोल : ‘दुई वर्षसम्म कुनै सेज सञ्चालनमा आउँदैनन्, लेखेर राख्नुस्’

'कुलमानसँग संवाद'

logo
प्रकाशित २०७४ माघ ६ शनिबार
kulman-1-696x464.jpg

नेपाल विद्युत प्राधिकरणलाई प्राधिकरणकै कारण सरकारको आर्थिक क्षेत्रको नमूना प्रोजेक्ट असफलताको मुखमा पुगेको आरोप लागेको छ । सरकारले उद्योग व्यवसायीहरुलाई विशेष सुविधा दिने उद्देश्यले ५ वर्ष अघि सुरु गरेको विशेष आर्थिक क्षेत्रको अवधारणा २ वर्षदेखि विजुलीकै कारण रोकिएको भन्न थालिएको छ ।

यति सम्म की, सरकारले पटक–पटकको निर्देशन दिए पनि प्राधिकरणले सेजभित्र विजुली दिन सकेन भन्ने चर्चा बढी नै भयो । प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङको क्षमता माथिनै प्रश्न उठाउन थालियो । मुलुकको प्राथमिकतामा रहेको क्षेत्रमा समेत प्राधिकरणले २ वर्षसम्म लाईन समेत जोड्न नसक्नुले के कारणले प्राधिकरण पन्छिन खोजी रहेको छ भन्ने विषयमा शंका समेत गर्न भ्याए, कतिपयले ।

सरकारले भैरहवासहित १९ स्थानमा सेज बनाउँदै छ । तर, २ वर्षअघि नै सबै संरचनाहरु तयार भईसकेको भैरहवामा प्राधिकरणले विजुली नदिँदा १९ उद्योगीहरु हात बाँधेर बस्न बाध्य भएकोसम्म सुन्नमा आएको छ । यसै विषयमा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग चन्द्र धामीले गरेकाे कुराकानी-

० भैरहवा सेजले विजुली नपाएको वा तपाईहरुले नदिएको के हो ?
–पहिलो कुरा विद्युत् प्राधिकरण हात बाँधेर बसेको होइन । विद्युत प्राधिकरणले जैकोटीबाट सेजसम्मको ३३ केभी प्रसारण लाईन डबल सर्किट बनाउनु पर्ने हो । पहिले भरौलिया भन्ने ठाउँबाट सिंगल सर्किट लाने भनेको रहेछ । क्यापासिटी पुग्दैन भनेर हामीले फेरि क्यापासिटी अपग्रेड गरेर डबल सर्किट बुटवलको जैकोटीबाट सेजसम्म ट्रान्समिसन लाइन लाने भनेर कार्यक्रम अघि बढायौँ । दुईटा कार्यक्रम छ । एउटा एडीबीको सहयोगमा काम भइरहेको छ । हाम्रो कारणले कुनै काम रोकिएकै छैन । मुख्य कुरा जैकोटीदेखि सेजसम्म लाँदा करिब ५ किलोमिटरको जंगल क्षेत्र पर्ने भएकाले त्यसमा केही समस्या आएको छ । चार किलोमिटरमा जनताले अलिकति पोट उठाउन दिएका छैनन् । त्योबारेमा हामीले त्यो क्षेत्रका जनप्रतिनिधिलाई राखेर कुरा गर्दै छौँ । त्यो समाधान हुन्छ । हाम्रो तर्फबाट हुने कामहरु गतिमै छन् । यो काम चैतभित्र (बढीमा ३ महिना)मा सकिन्छ । हामीलाई त्यही खबर प्राप्त भएको छ । तीन महिनामा हामी सम्पन्न गरिसक्छौँ । यो हाम्रो पाटो भयो । यो कामले उद्योगीहरु हात बाँधेर बस्नु परिरहेको भन्ने कुरा सत्य होइन ।

० सत्य कुरा के हो त ?
–यो के हो भने ? हामीले इन्जिनियरहरुलाई पठाएका छौँ । सेजभित्र विद्युतप्राधिकरणको कार्यक्षेत्रभित्र पर्ने भनेको ट्रान्समिसन लाईन लाने हो । त्यो लाइन लगिसकेपछि त्योभित्र एउटा सब–स्टेशन बनाउनुपर्छ । त्यो सब–स्टेशन सेजले नै बनाउने हो । ३३ वाइ ११ को सब–स्टेशन बनाउनु पर्छ । अहिलेसम्म उहाँहरुले टेण्डर पनि गर्नु भएको छैन । टेण्डर गरेर त्यो काम सम्पन्न हुनलाई उहाँहरुलाई डेढ वर्ष लाग्छ । अहिलेसम्म टेण्डर गरेकै छैन । सबै उद्योगीहरु हात बाँधेर बसेको पनि हामीले देखेनौँ । कुनै पनि संरचना बनेको छैन । प्लट छुट्याएर दिएको छ । न उद्योगको स्थापना भएको छ । न कुनै केही संरचना स्थापना भएर बसेको छ । हामीले सबै हेरेका छौँ । विद्युत प्राधिकरणलाई दोष लगाएर हामीले लाइन नपाएको हुनाले गर्न सकेनौँ भन्दै दोष दिने एउटा पाटो भयो । तर, त्यो भित्र हामीले तीन महिनामा लाइन दिँदाखेरि एक वर्षसम्म पनि कुनै पनि उद्योग संञ्चालनमा आउने अवस्था छैन ।

० उहाँहरुबाटै ढिलाई भइरहेको छ भन्ने खोज्नु भा हो ?
–हामीलाई दोष दिएर उम्किने बाटो मात्रै भएको छ ।

० उहाँहरुले केही पनि गर्नु भा छैन ?
–सब–स्टेशनको टेण्डर नै भएको छैन भने अरु के काम भएको होला । उहाँहरुलाई सोध्नु भयो भने पनि हुन्छ । उद्योगीहरुलाई हामीले लाइन दिन्छौ भनिसकेपछि फटाफट एमओयू गरेर उद्योग स्थापना गर्नुस् भन्दा पनि त समय लाग्ला नि त !

० तपाईहरुले सब–स्टेशनसम्म विजुली मात्रै पुर्‍याइदिने हो ?
–हामीले त्यो सब–स्टेशनसम्म ३३ केभी लाइन पुर्‍याइदिने हो । त्यो भित्र उहाँहरुले सब–स्टेशन बनाउनु पर्छ । हामीले बल्कमा विलुजी बेच्ने हो । सब–स्टेशन चैँ नबनाउने अनि विद्युत् जोडेको छैन, केही गर्न सकिएन भन्ने ? हर्दै जानुस् । तीन महिनामा हामी विजुली दिन्छौँ तर, डेढ वर्ष कुनै पनि सेज आउनेवाला छैनन् । म तपाईहरुलाई लेखेर दिन्छु ।

० डेढ वर्ष कुनै पनि सेज सञ्चालनमा आउनेमा आशा नगरे भो ?
–पक्रिया त उहाँहरुले पनि फलो गर्नु पर्ने होला नि । टेण्डर गर्नु पर्दैन सब–स्टेशनको ? सामान बनाउनु पर्दैन । टेण्डर गर्नलाई नै प्रक्रिया ६ महिना लाग्छ । सामान बनाउँदा, डेलीभरी गर्दा, ट्रान्फर्मर बनाउँदा र अन्य संरचना बनाउँदा पनि आठ–दश महिना त लाग्छ नै ।

० टेण्डर गराएपछि काम कसले गर्ने हो ?
–सब–स्टेशनको टेण्डरको हामीसँग सम्बन्ध हुँदैन । उहाँहरुले टेण्डर गर्नुभएपछि ठेकेदारमार्फत काम सम्पन्न गर्ने हो ।

० तपाईहरुले प्राविधिक कुरा पनि हेर्नु हुन्न ?
–प्राविधिक रुपमा केही परीक्षण गर्न दिएको भन्ने सुनेको छु । प्राविधिक रुपमा के–के गर्नुपर्छ भनेर चेक गरेर पनि हामीले दिइसकेका छौँ । हाम्रोतर्फबाट हामीले त्यो गर्नु पर्ने काम होइन । भए, पनि हाम्रो प्राविधिकले सब–स्टेशन कस्तो बनाउनु पर्छ ? भनेर उहाँहरुले भरखरै खाका दिनु भएको छ । विद्युत प्राधिकरणलाई देखाएर आफु उम्किने बाटोमात्रै भएको छ । उहाँहरु तातिएको खै त ?

० तपाईकै कमजोरीहरु देखिन थाले भन्ने कुरा पो आउन थाले त ?
–म आउनासाथ त्यहाँको जुन ट्रान्समिसन लाइन थियो । भरौलियाबाट लाने भन्ने ट्रान्समिसन लाइन । सिंगल सर्किट, त्यो बनाउने भनेर राखेको रहेछ । त्यो लाइन बनाएको भए त्यो सेजमा पावर नै पुग्दैन थियो । किन भने एउटा लाइन त ओभरलोड  नै भइसकेको थियो । त्यो लाइन बनाउनुको अर्थ छैन भनेर मैले त्यो लाइनै परिवर्तन गरेर डबल सर्किट लाइन बनाउने भनेर पुरै स्टिमेट नै फेरे । पछि जैकोटीबाट छुट्टै फिडर डबल सर्किटको फटाफट काम भइरहेको छ । हाम्रो दुई वटा कन्ट्याक्टर लागिरहेको छ । वनको कारण रोकिएको छ । वनको लागि हामीले कुरा गरिरहेका छौँ । जनताले रोकेको चार किलोमिटरमा हामीले जनप्रतिनिधि र सेजलाई पनि भनेका छौँ सहजिकरणको लागि । चार किलोमिटरमा पोल गाड्न दिएको छैन हामी छलफलमा छौँ । हाम्रोतर्फबाट कहीँ पनि काम रोकिँदैन । हाम्रो लाइन पुग्छ । तर, म त भन्छु घटीमा डेढ वर्ष र बढीमा २ वर्षसम्म पनि त्यो सेज आउँदैन ।

० विजुलीकै कारण रोकिएको चैँ होइन ?
–मेरोमा लाइन आएको छैन, त्यही भएर मैले केही पनि गरेको छैन भनेर भन्न पाइन्छ । त्यो त प्यारलल्ली गर्नु पर्‍यो नि । सब–स्टेशन बनाउनु पर्‍यो । १९–२० जना उद्योगी आउने भनिएको छ । नाप नक्सा केही पनि छैन । कसैले एउटा टहरो बनाएको होला । हामीले गएर हेरेका छौँ । प्लटिङ गरेको छ त्यति मात्रै हो । कुनै पनि ठाउँमा उद्योग स्थापना भएको छैन ।

० प्राधिकरणलाई मात्रै दोष आयो, उसो भए ?
–प्राधिकरणलाई दोष लगाउने काम मात्रै भयो । हाम्रो तर्फबाट सबै बल लगाएका छौँ । कुनै कसर बाँकी राखेका छैनौँ । राजनीतिक पार्टीलाई भन्ने, मन्त्रालयलाई भन्ने । वनले काम गर्न दिएन भने, हामीले मात्रै गरेर भएन । त्यति हुँदा पनि हामीले पोल गाडेर सक्काएका छौँ । तार तान्ने बेलामा केही समस्या आएको छ । त्यो समाधानको लागि हामीले माथिल्लो स्तरमा पनि भन्दै छौँ । उद्योग मन्त्रालयमा पनि भनेका छौँ । सबैतिर भनेका छौँ । एउटा निकायलाई दोष लगाएर आफु उम्किने बाटो खोज्नु ठिक होइन यो ।

० तपाईले गाली नखाने र उहाँहरुले काम गर्ने बाटो के ?
–टेण्डर नै भएको छैन । नेपालमा टेण्डर हुनलाई, ठेकेदार नियुक्त हुनलाई घटीमा ६ देखि ८ महिना लाग्छ । काम गर्नु भन्दा टेण्डर गर्न गाह्रो छ । टेण्डर भइसकेपछि पनि त्यो ठेकेदार कस्तो पर्छ ? कहिले के सामान ल्याउँछ, के उत्पादन गर्छ । उत्पादन गरेर चाइनाबाट नेपाल ल्याउनु पर्ने होला । कहिले ल्याउने, कहिले जडान गर्ने ? उद्योगीले कहिले उद्योग राख्ने र त्यसपछि सेज सञ्चालन गर्ने । जग्गामात्रै प्लटिङ गरी राखेर विद्युत् प्राधिकरणलाई दोष दिन पाइन्छ ? हाम्रो काम त सेजसम्म लगेर जोड्ने हो । हाम्रो एउटै मिटर हुन्छ । उहाँहरुलाई हामीले बल्कमा बेच्ने हो । बालाजुमा गरेको औद्योगिक क्षेत्रमा जुन घरमा जान्छ त्यो उहाँहरुले नै सञ्चालन गर्ने हो । हामी हाम्रो बल बुँता लगाइरहेका छौँ । अब नेपालमा लाइन बनाउन त्यति सजिलो छैन । जग्गाको कुरा छ, वनको कुरा छ । यहाँ सेज किन भएन ? भन्दा विद्युत् प्राधिकरणले विजुली दिएन भन्न सजिलो छ । यो तरिका भएन ।

० त्यहाँ काम गरिदेउ भनेर सरकारले दबाब दिएको छ ?
–दबाब दिएको भन्दा पनि मिटिङ भएको छ । हामीलाई यो कुरा थाहा थिएन । म योजना आयोगमा मिटिङमा बसेको छु, उद्योग मन्त्रालयमा मिटिङमा बसेको छु, यो हाम्रो हेरक मिटिङको एजेण्डा बनेको छ । हामीले बारम्बार उहाँहरुलाई हाम्रो समस्या पनि भनेका छौँ र कामको स्पीड पनि भनेका छौँ । म आउनासाथ त्यो लाइन बनाएको भए सकिन्थ्यो । सिंगल सर्किटलाइन । त्यो लाइन बनाउनुको अर्थै थिएन । त्यो लाइन ओभरलोड हुन्थ्यो । सेजलाई पावर पुग्दैन थियो । पछि डलब सिर्किटको स्टिमेट बन्यो र काम भइरहेको छ । वनले अवरोध गरेन भने चाँडै सकिन्छ । हामीले चाडैँ सक्काएर पनि काम छैन । हामीले उहाँहरुको भित्र गएर पनि हेरेका छौँ, म पनि पुगेर हेरेको छु । त्यहाँ जग्गाको प्लटिङ मात्रै छ । मलाई लागेको थियो सब–स्टेशनको टेण्डर भएको होला, तर त्यो पनि रहेन छ । डेढ दुई वर्ष अगाडि उहाँहरुले केही ल्याउनै सक्नु हुन्न । हाइड्रोपावर आएन भनेर हात बाँधेर हुन्छ ? लाइन आएपछि सब–स्टेशन पनि त तयार हुनु पर्छ नि !

० यो कुरा सरकारलाई सुनाउनु भयो ?
–यो कुरा डिटियलमा मलाई थाहा थिएन । मैले ठाउँ ठाउँमा भनेको छु । उहाँहरुले यो कुरा बुझ्नु पर्दछ । अब सरकारलाई पनि भन्छु, सबैलाई भन्छु । डेढ दई वर्षसम्म सेज सञ्चालन हुँदैन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ