arrow

असनले मुक्तिको सास फेर्‍याे तर लालबहादुरको ढाड सेकियो !

logo
यमुना भण्डारी,
प्रकाशित २०७४ माघ ७ आइतबार
asan-news.png

काठमाडौं । अहिले भोटाहिटीबाट असन चोकसम्म चार पाङ्ग्रे सवारी दुबैतिरबाट छिर्न पाउँदैनन् । चार पाङ्ग्रे सवारीलाई निकै सास्ती छ, अचेल । नरदेवीबाट भेँडासिंह हुँदै ईन्द्रचोकसम्म जान मात्रै पाउँछन् । तर, त्यही बाटो फर्किन पाउँदैनन् । कम्ता दुःख छैन गाडीवाललाई । जस्तो पहिले गाडीले बाटो मिच्दा हिँड्नेलाई दुःख हुन्थ्यो । त्यस्तै मर्का परेको छ, गाडीवाललाई ।  

सवारीहरु टेंगलबाट बांगेमुढा हुँदै भेँडासिंह हुँदै ईन्द्रचोकसम्म जान मात्र पाउने र क्षेत्रपाटीबाट ठहिटी हुँदै नघः ल र बांगेमुढा भेँडासिंह हुँदै ईन्द्रचोकसम्म जान मात्र पाउँछन् । ईन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेँडासिंह, ज्याठाबाट त्यौडा, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन र ईन्द्रचोकबाट बटुसम्मको बाटोमा चारपांग्रे सवारी प्रवेशलाई रोक लगाउने भनिएको छ ।

असनमा व्यापार गरेर बस्नेहरुले भने मुक्तिको सास फेरेका छन् । त्यसै त सुनाउँदैन थिए होला, १८ वर्ष देखि लुगाको व्यापार गरिरहेका राजेश जैसवाल । उनले भने, ‘सवारी साधन प्रवेशमा रोक लगाएदेखि खुबै सजिलो भएको छ ।’ उनले आफुहरुले मुक्तिको सास फेरेको बताउँदै यो यस्तै अस्तव्यस्त रहेका अन्य ठाउँमा पनि गरियोस्, भने ।

हामी सामान विहानै ल्याउँथ्यौँ, उनले अगाडि भने, ‘हामीलाई केही फरक परेको छैन ।’ अहिले १० देखि ५ बजेसम्म भीडभाड हुने उनले सुनाए । चार पाङ्ग्रे मात्रै होइन, दुई पाङ्ग्रेलाई पनि रोक लगाउनु पर्छ, उनले अगाडि भनेका छन्, ‘दुई पाङ्ग्रेका कारण दिनहुँ झगडा, दुर्घटना भइरहन्छ ।’ हामीलाई कुनै प्रकारको घाटा छैन । भरियाले पहिले पनि विहानै सामान आेसार्थे, अहिले पनि विहानै ल्याइदिहाल्छन्, महानगरले जे गरेको छ, त्यो राम्रो र सबैको हितमा छ, उनले भनेका छन् ।

चार पाङ्ग्रे नछिर्ने भएपछि भरियालाई खुला त भयो । तर, ढाड सेकिएको  बताउँछन्, लालबहादुर थापा । उनले भारी बोक्न थालेको १५ वर्ष भइसक्यो । दोलखाका उनी अहिले असनमै भेटिन्छन् । उनले व्यापारी राजेश भन्दा फरक कुरा राखे । उनले भनेका छन्, ‘मलाई असर परेको छ । टाढाबाट सामान ल्याउनु परेको छ । भित्रसम्म गाडी आउँदैन । चोकबाट सामान ल्याउँदा ल्याउँदा गाडीले हान्ला भन्ने पिर लाग्छ ।’ भारी बोक्दा दुरी निकै टाढा हुने भएकाले निकै गाह्रो हुन्छ ।

भारी बोकेको दाम उही पुरानै छ, उनले भने, ‘कसैले पाँच–दश रुपैँया बढी दिन्छन् । तर, सबैले दिँदैनन् ।’ फाइदा छैन । उनको भनाईमा गाडी भित्रैसम्म आउनु पर्दछ । उनी महानगरले गरेको यो कार्यप्रति सन्तोष छैनन् । गुनासो गर्दै भने, ‘टाढाबाट सामान बोकेर ७ तला माथि चढ्दा मुटु फुट्ला झैँ हुन्छ । हाम्रो पेशा जोखिममा परेको छ ।’

किनमेलमा निस्किने उपभोक्तालाई भने खुसी नै लागेको छ । किनमेलमा निस्केकी यशोदा भण्डारी पनि असनमै भेटिइन् । उनले भनिन् , ‘महानगरले यो काम पहिले नै गर्नु पर्ने थियो । हामीलाई आहोर–दोहोर गर्न सजिलो भएको छ । अहिले धेरै समय खर्चिनु पर्दै । सामान किनमेल गर्न सजिलो पनि भएको छ । पहिले दिनभर नै समय खर्च हुन्थ्यो ।’

ठेलमठेल भीडबाट निस्कनै हम्मे हुने, उनले अगाडि भनिन्, ‘दुर्घटनाको डर पनि थियो । त्यहीँ गाडी हिँड्दा पैदल हिड्नेलाई निकै असजिलो हुन्थ्यो । तर, अहिले खुकुलो भएको छ । निकै सजिलो पनि ।’ यसरी नै अस्तव्यस्त भएका अन्य ठाउँलाई पनि मुक्त गरिनु पर्दछ ।

काठमाडौं महानगरपालिकाका सूचना अधिकारी बसन्त आचार्यले भित्रि सडकमा सरोकार राख्ने वडा अध्यक्षकै पहलमा यो काम भएको बताउँछन् । उनले भने, ‘यो भित्रि सडकबारे चिन्ता गर्ने वडाअध्यक्षहरुकै सक्रियतामा भएको हो । हामीले नगर प्रहरीलाई भूमिका दिएका छौँ । यसको प्रभावकारीता जनप्रतिनिधिकै हातमा छ ।

हाम्राकुराले जनप्रतिनिधि निर्वाचित भइसकेपछि २०७४ जेठ २९ सोमबार ‘जनप्रतिनिधिलाई उपभोक्ताको प्रश्नः ढुङ्गे युगमा रहेको असनको मुहार नफेर्ने ?’ शीर्षकको समाचार प्रकाशन गरेको थियो । अहिले महानगरले जनप्रतिनिधिकै पहलमा सवारी प्रवेशको नियमन हुन लागेको बताएको छ । यसलाई जनप्रतिनिधिले कहिलेसम्म कायम राख्न सक्लान् ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ