- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालीमा एउटा भनाइ नै छ कि ‘प्रहरीसंग निकट रहनु पनि खतरा टाढा रहनु पनि खतरा ।’ अर्थात् निकट भइए गोप्य खुल्दा खोरमा परिने चिन्ता र टाढा भए पनि अपराधीको शैलीमा निगरानीमा परिने खतरा ।
यसलाई सकारात्मक ढंगबाट हेर्ने हो भने प्रहरीले चाह्यो भने जस्तासुकै निकट वा टाढा भएका अपराधीलाई समात्न सक्छ भन्ने हो ।
तर प्रहरीको चाहना के छ भनेर पत्तो लगाउन भने जरुरी छ ।
अहिले त्यस्तै भइरहेको छ । प्रहरीले पूर्व डीआइजी एवं एमालेका सांसद नवराज सिलवाललाई भेट्टाउन सकेको छैन । उनी फरार छन् ।
कुनै पनि सोधपुछका लागि पक्राउ गर्न खोज्दा फरार व्यक्ति यसै पनि दोषी भइसक्यो । नवराज सिलवाल दोषीको कोटीमा पर्छन् ।
उनलाई पक्राउ गर्ने नाममा प्रहरीको शक्ति पनि खर्च भएकै होला । अर्थात् उनले राज्यको स्रोत पनि खर्च गरिदिएका छन् ।
तर सिलवाल तत्काल पक्राउ पर्ने स्थिति भने देखिँदैन । किनकि प्रहरी संगठनले चाहेको वा नचाहेको अझै निक्र्योल हुन सकेको छैन ।
कार्यसम्पादन मूल्यांकन किर्ते गरेको अभियोगमा सिलवाल तानिएका छन् । तर उनलाई पक्राउ गर्न प्रहरी आइतबार पनि खुवै लागेको भनिन्छ ।
उनी मलेसियामा भएको बताइयो । अमेरिका पनि उडे भनियो । अनि नेपालमै आएको पनि भनियो । उनले ट्वीट पनि गरेर आफू सकुशल रहेको सन्देश दिए ।
त्यो सन्देशमा सरकारलाई गाली गरिएको थियो । त्यो गाली केवल एमालेको कोटाबाट बनेको सांसदको भन्दा माथिको गाली थिएन ।
तर सरकार वा राज्यले कुनै दोषी विपक्षीको हो वा पक्षको भनेर र सोध्दैन ।
ललितपुर क्षेत्र १ बाट एमालेबाट प्रतिनिधिसभा सदस्य निर्वाचित सिलवालले अनलाइन सञ्चार माध्यमलाई आफू भट्टेडाँडामा जनताका प्रतिनिधिबीच रहेको र प्रहरीकै वरिपरि रहेको बताएको जानकारी प्रहरीले पाएपछि आइतबार मात्र प्रहरी परिसर ललितपुरबाट १ सय ६५ जनाको टोली उक्त क्षेत्रमा परिचालित भएको बताइन्छ ।
सिलवाल पक्रन असफल भएपछि प्रहरीले यसलाई नियमित परिचालन भनेको छ । अर्कातिर सिलवाल रहन सक्ने सम्भावित घर वरिपरि निगरानी गरिएको भनिएको छ ।
अपराधीहरु कसरी लुक्छन् भन्ने सूत्र जानेका सिलवाललाई प्रहरीले सजिलै पत्तो लगाउन भने सक्ने छैन । किनकि उनी यतिबेला दोस्रो भूमिकामा छन् । पहिलो भूमिका सिलवालले कुसलता पूर्वक निभाएरै डीआइजी भएका हुन् ।
यहां सिंगो प्रहरी संगठनको इज्जत दाउमा छ । आखिर के चाहन्छ प्रहरी संगठन । प्रहरी संगठनले चाह्यो भने इन्टरपोल लगाएरै पनि सिलवाललाई पक्रन सक्छ ।
प्रहरी त्यही संगठन हो जसले माओवादी केन्द्रका अपराधी नेता बालकृष्ण ढुंगेललाई पक्राउ नगरी बस्यो । तर जब सर्वोच्च अदालतले एक हप्ताभित्र हाजिर हुन प्रहरी प्रमुखलाई चिठी काट्यो तब हप्ता दिनमै ढुंगेल पक्राउ परे ।
अहिले ढुंगेल खोरमा छन् ।
प्रहरीले निर्धालाई सजिलै पहुँच बनाउँछ । एउटा सत्याग्रही जो आमरण अनसनमा बसेर देशको विसंगति र बेथिति रोक्न लागिपरेको छ उसलाई गृहमन्त्रालयकोसमेत जानकारी बिना पक्राउ गर्न सक्छ ।
डा गोविन्द केसी यसको शिकार भइसकेका छन् । तर अपराधी दीपक मनाङ्गेलाई पक्राउ गर्दैन । प्रदेश सांसद हुँदा उल्टै सुरक्षा दिन्छ । अनि अहिले फेरि फरारको कोटीमा राख्छ ।
प्रहरी संगठनले आफ्नै सुरक्षा अधिकृतहरु मरेको घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई पक्राउ गर्न सक्दैन । प्रश्न धेरै खडा भइसकेका छन् ।
यत्ति हो प्रहरी संगठनको भरोशा अझै मरेको छैन । यसको गरिमा केही प्रहरी अधिकृतले मर्न दिएका होलान् । सबै त्यस्ता कदापी छैनन् ।
एउटा सुरक्षा जिम्मेवारी पाएको निकायले पटक पटक परीक्षा दिइरहेको सुहाउँदैन । तसर्थ कर्तव्य पालनामा कहीं कतै नचुकोस् ।
नवराज सिलवाल पनि यदि अपराध नगरेको भए तत्काल सार्वजनिक हुनु राम्रो । अपराध गरेकै भए कार्वाही भोग्न तयार भएको राम्रो ।
लुकेर न हिजो समाधान भएको थियो न आज होला । सत्य त सत्य नै हो । सत्यको सामना गर्नु वेश । अपराधलाई राजनीतिक लेपन किन लगाउनु ।