arrow

डोल्पाली सांसदलाई स्वर्गबाट शिशुको चिठी, यो हृदयविदारक चिठी

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
letter-dolpa.jpg

डोल्पा । डोल्पाको दुर्गम क्षेत्रमा पर्ने मुड्केचुला गाउँपालिकाका उप–प्रमुख सबिता रोकायलाई आइतबार सुत्केरी व्यथाले च्याप्यो । उनी प्रशव बेदनाले निकै छट्पटाएकी थिइन् ।

अस्पतालमा डाक्टरले दिएको २० दिनको म्याद अगावै सुत्केरी व्यथाले च्यापेपछि उनीमा उच्च रक्तश्राव भयो । रगत धेरै बगेकाले रोकाय र पेटभित्रको शिशुको ज्यान जोखिममा पर्‍यो ।

रोकायलाई जिल्ला बाहिर भएपनि उपचारका लागि लैजानै पर्ने भयो ।

डोल्पामा राम्रा तथा सुविधायुक्त प्रसुति गृह छैन । प्रायःजसोले सामान्य अवस्थामा पनि जिल्ला बाहिर नै विरामी उपचारार्थ लैजानुपर्ने वाध्यात्मक अवस्था छ ।

गर्भवती आमा र शिशुलाई जोगाउन हेलिकोप्टरमार्फत नै भएपनि उपचारार्थ जिल्ला बाहिर पारिवारिक निर्णय भयो । पाँच लाख रुपैयाँको लागतमा हेलिकोप्टरको बन्दोवस्थ मिल्यो र उपचारको लागि उनलाई पोखरा लगियो ।

पोखराको मणिपाल अस्पतालमा उपचार गराइसकेपछि आमाको ज्यान जोगियो । तर, शिशुलाई बचाउन नसकेको चिकित्सकहरुले बताए ।

त्यसैको तीन चार घण्टापछि स्वर्गबाट एउटा चिठी आयो डोल्पाली सांसदको नाममा ।

डोल्पाका माननिय सांसदलाई नजन्मदै मरेकी चेलीको चिठी यस्तो छः
                                                                                                  मिति – ७ माघ २०७४

प्रदेश सांसदहरुले सपथ ग्रहण गर्ने सुनौलो दिन ।

मलाई थाहाँ छ तपाईले आजमात्रै प्रदेश ६ को राजधानी सुर्खेतमा आफ्नो पद तथा गोपनयितको शपथ ग्रहण गर्नु भएको छ ।

यो शुभदिनको अवसरमा म हजुरलाई एउटा दुःखद् खवर सुनाउन गइरहेकी छु । यसअघि सांसदले डोल्पाको खासै विकास गर्न सकेनन् । सिवाय आफू बन्ने बाहेक अरु केही गरेनन् भनाइ छ । अहिलेसम्म डोल्पामा राम्रो उपचार हुने अस्पतालको अभावमा आज म जन्मन नपाउँदै स्वर्गारोहण हुनुप-यो ।

मेरी ममतामयी आमा अहिले पोखरामा मर्नु न बाँच्नुको दोसाँधमा हुनुहुन्छ । यसअघि डोल्पामा म जस्तै जन्मन नपाउँदै थुप्रै शिशु र जन्माउन नसक्दा बेलैमा उपचार नपाएर कति आमाको ज्यान गयो तपाईलाई अवश्य पनि थाहा नै होला । अब तपाईहरु डोल्पाली जनताको भोटबाट सांसद पदमा निर्वाचित हुनुभएको छ ।

तपाईले पनि उहिलेका सांसद जस्तो आफू मात्र बन्ने नभई डोल्पाको विकासमा इमान्दारिताका साथ काम गरिदिनुहोला । ता‘की डोल्पामा अबका दिनमा कुनै पनि शिशु म जस्तै र कुनै पनि आमाहरु सुत्केरी व्यथाले च्याप्दा उपचार नपाएर छट्पटिएर मर्नु नपरोस् ।

सबै डोल्पाली सुखी, खुसी, शिक्षित, सम्बृद्ध र स्वस्थ बन्न र रहन सकुन् । अब तपाईहरुले आफ्नो व्यक्तिगत, पारिवारिक र पार्टीगत स्वार्थ भन्दा माथि उठेर जनप्रिय तथा लोकल्याणकारी काम गरेर देखाउनुहुन्छ भन्ने आसा र भरपूर विश्वास राखेकी छु ।

उहीँ तपाई कि डोल्पाकी नजन्मदै मरेकी चेली
हाल स्वर्गलोकबाट ।

अहिले यो चिठी सामाजिक सञ्जालनमा भाईरल भइरहेको छ । कसले लेखेको हो ? भन्ने कुनै विश्वासिलो स्रोत खुलेको छैन ।

त्यस्तै, आइतबार प्रदेश राजधानीको माग राखी देशका विभिन्न ठाउँमा सडक अवरुद्ध गरी आन्दोलन भइरहेको थियो । काठमाडौँमा रहेका प्रदेश सांसदहरु आफ्नो प्रदेशको अस्थायी राजधानीमा पुगेर सहजरुपमा पद तथा गोपनियताको शपथ गर्ने अवस्था थिएन ।

जमिनको प्रतिकुल अवस्थालाई छिचोल्दै प्रदेश सांसदहरु नेपाली सेनाको हेलिकप्टर चार्टर गरेर शपथ ग्रहण स्थल पुगेका थिए भने यता डोल्पामा हरेक वर्ष सुरक्षित प्रसुतिको अभावमा थुप्रै महिलाहरुले अकालमै ज्यान गुमाउनु परेको पीडा घाम जत्तिकै छर्लङ्ग छ । (नयाँ पत्रिका दैनिक)



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ