arrow

गौचन र तिवारी हत्याका अभियुक्त गुम्बे पक्राउ

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
gauchan_sab.png

चितवन ।  निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचन र युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा संलग्न रहेको अभियोगमा श्याम लामा गुम्बेलाई प्रहरीले सोमबार साँझ यहाँ पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले मुख्य गोली हान्ने गुम्बेलाई पक्राउ गरेको सिआइबीका प्रमुख प्रहरी नायब महानिरीक्षक पुष्कर कार्कीले बताए । अभियुक्त गुम्बेलाई भरतपुर महानगरपालिका वडा नं ६ गीतानगरबाट पक्राउ गरिएको हो ।

कार्कीले गौचन र तिवारीको दुवै घटनामा निज लामा संलग्न भएको बताए । केही दिनयता सिआइबीको टोलीले लामाको पिछा गर्दै आएको थियो । गीतानगरको भित्री बस्ती क्षेत्रबाट गुम्बेलाई पक्राउ गरिएको हो । कार्कीले अपराधीलाई सिआइबीले छाड्दैन भन्ने कुरा कामले पुष्टि गरेको बताए  ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले सोमबार साँझ अबेर निजलाई पक्राउ गरी सिआइबीले राति नै लामालाई काठमाडौँ लगेको बताए । देशकै मध्यभाग भएकाले आपराधिक क्रियाकलापपछि अन्यत्र जान सहज होस् भन्नाका लागि अपराधी लुक्न चितवन आउने गरेको थापाले बताए ।

गौचन हत्याकाण्डका प्रमुख योजनाकार समीरमानसिंह बस्नेतसहित अन्यलाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । व्यवसायी गौचनको गत असोज २३ गते काठमाडौँ शान्तिनगरमा गोली हानी हत्या भएको थियो । उनलाई मोटरसाइकलमा आएका व्यक्तिले गाडीमा गोली प्रहार गरेका थिए ।

तिवारीको रुपन्देही र नवलपरासीको सिमानामा पर्ने खैरहनी भन्ने स्थानमा गत वर्ष पुसमा गोली प्रहार भएको थियो । देब्रे कोखामा गोली लागेका उनको रुपन्देही देवदह मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ