arrow

काठमाडौमा रेलको नामै नलिऔँ, मेट्रोको कुरा गरौँ : उपाध्याय (अन्तर्वार्ता)

रेल इन्जिनियर नहुँदा हामीलाई केही फरक पर्दैन

logo
प्रकाशित २०७४ माघ ९ मंगलबार
rel.JPG

पछिल्लो समय रेलको चर्चा धेरै हुन थालेको छ । रेल विभाग पनि गठन भएको छ । तर विभागमा आवश्यक जनशक्ति र रेल इन्जिनियर छैनन भन्ने गुनासा आउन थालेका छन् । दक्ष्य जनशक्तिको अभावमै अहिले निर्माणाधीन रेलमार्ग अलपत्र परेको छ भन्ने समाचार सार्वजनिक हुन थाले । हामीले रेल विभागका प्रवक्ता प्रकाशभक्त उपाध्यायलाई के रेल विभाग अहिले काम गरिरहेको छैन ? भनि सोधेका छौँ ।

० रेल विभागमा जनशक्ति छैन ?
– मेरो भनाइँबाट समाचार सम्प्रेषण भएको हो । तर फरक ढंगले समाचार बाहिर आए । मैले जनशक्तिको अभाव छ भनेको हो । यसको अर्थ कामै भएको छैन, चुप लागेर बसेको छ, सारा कुरो अलपत्र परेका छन् भन्ने होइन । जनकपुर–जयनगर रेल निर्माण विभागमा इञ्जिनियरको अभावले अलपत्र पर्‍यो भन्ने समाचार गलत हो । किनभने जनकपुर–जयनगर रेल्वे लाइन नेपालका लागि भारत सरकारले बनाइदिएको हो । भारत सरकारकै प्राविधिक, आर्थिक सहयोगमा निर्माण भइरहेको हो । नेपालको रेल विभागमा एकजना इन्जिनियर नहुँदा पनि त्यो परियोजनालाई केही फरक पर्दैन । हो, नेपालमा रेलसँग सम्बन्धित मान्छेहरुको कमी छ । नेपाल सरकार आफैले बनाउने कार्य सञ्चालन गर्दा ती मान्छेको खोजी गर्नुपर्छ भन्ने कुरा सत्य हो ।

० इञ्जिनियर नहुँदा फरक किन नपर्ने ?
– त्यो परियोजना भारत सरकारले तयार गरेर नेपाललाई हस्तान्तरण गर्ने हो । त्यसकारण त्यहाँको निर्माणमा नेपालका इञ्जिनियर प्रयोग हुँदैन । भारत सरकारका आफ्ना इञ्जिनियर त्यहाँ काम गरिरहेका छन् ।

० समाचार गलत भए, सत्य कुरा भनिदिनुस् ?
– अब नेपाल सरकारले आफ्नै बजेटमा वा हामीले आफ्नो तयारी पूरा गरेर रेगमार्ग निर्माण गर्नका लागि तदारुकताका साथ लाग्ने हो भने हामीकहाँ प्राविधिक जनशक्तिको कमी छ । ती जनशक्तिको हामीले सिर्जना गर्नुपर्छ । दरबन्दी हामीले सिर्जना गरिरहेका छौं । लोकसेवा आयोगमार्फत् माग गरेर नयाँ जनशक्तिको रेगरुट गर्नुपर्ने आवश्यकता छ । पहिला नेपालमा रेलमार्ग नभएकाले रेलसम्बन्धी अध्ययन गरेका इन्जिनियरहरु थिएनन् । अहिले विभिन्न देशमा गएर अध्ययन गरेका नेपाली इञ्जिनियर रहेछन् । रेल विभागले पनि दुईजना इञ्जिनियरलाई मास्र्टस गर्न चीन पठाएको छ । चीन सरकारको प्रतिनिधि मण्डलले नेपाल भ्रमण गर्दा नेपालका सिभिल इञ्जिनियरलाई चीनमा तालिमका लागि अनुरोध गरेका छौं । तालिम दिने प्रकृयामा हामी काम गरिरहेका छौं । अर्थात् जनशक्तिको अभाव छ, उत्पादन गर्नुपर्छ ।

० सिभिल र रेल इञ्जिनियर बेग्लाबेग्लै हुन् ?
– रेल इञ्जिनियर भनेर बेग्लै हुँदैन । सिभिल इञ्जिनियरलाई तालिम दिएर रेल इञ्जिनियर बनाउने हो । सिभिल इञ्जिनियरकै हाँगबिगामा पर्छ रेल इञ्जिनियर । सिभिललाई एक वर्ष तालिम दिइयो भने उसले बेसिक विज्ञान जानेको हुन्छ । त्यो विज्ञानलाई सडक वा रेलमा कार्यान्वयन गर्ने भन्ने हो । त्यसकारण त्यो ठूलो कुरो होइन । अर्थात् ६ महिना, वर्ष दिनको तालिमले आवश्यक जनशक्ति उत्पादन गर्न सकिन्छ ।

० कहिले जनशक्ति उत्पादन गर्ने ?
– इञ्जिनियर उत्पादन गर्ने काम चलिरहेको छ, यता काम पनि चलिरहेकै छ । रेलमार्ग निर्माणका लागि स्लिपरभन्दा तलको काम हाइवे इञ्जिनियरिङसँग मिल्दोजुदो हुन्छ । हाइवे इञ्जिनियर हामीसँग प्रशस्त छन् । तत्काल हामी स्लिपर विच्छाउने अवस्थामा हामी पुगेका छैनौं । अहिले हाइवे इन्जिनियरिङको काम गर्दै जाने, रेल इञ्जिनियर उत्पादन गर्दै जानुपर्छ ।

० जोगवनी–बुधनगर–विराटनगरको काम एक वर्षअघि नै सकिनुपथ्र्यो होइन ?
– पथ्र्यो, नसकिनुको कारण स्थानीय एक व्यक्तिले मुआब्जासम्बन्धी चित्त नबुझेर अदालतमा मुद्दा हाल्नुभएको छ । हामी अदालती प्रकृयामा छौं । अदालतमा हाम्रो मुद्दा विचाराधीन छ । अदालतको फैसलापछि त्यो जे गर्नुपर्ने हो, त्यो हुन्छ ।

० मुआब्जा विवाद किन आयो ?
– सबैलाई चित्त बुझ्यो, एकजनालाई बुझेन, उहाँ अदालत जानुभयो । त्यही मूल्य र त्यही मान्यतामा अरुलाई चित्त बुझ्यो उहाँलाई बुझेन ।

० वथना–जोगवनी र जनकपुर जयनगर रेलमार्ग दुवै भारतले बनाउने हो ?
–दुबै भारतले नै बनाउने हो । भारत सरकारले तयार गरेर दिने हो । जोगवनीको मुद्दाका कारण काम रोकिएको छ भने, जनकपुर–जयनगरको काम चलिरहेको छ ।

० यो त भइराखेको काम भयो, काठमाडौं उपत्यकाको मेट्रो रेल सम्भाव्यताको कुरा कहाँ पुग्यो ?
– उपत्यकाको मेट्रो रेलको सम्भाव्यता अध्ययन भइसकेको छ ।
० काम सुरु कहिले होला ?
–काम सुरु उपत्यकाको मेट्रोको हकमा, सम्भाव्यता अध्ययन गरेर अहिले सबै रिपोर्टहरु लगानी बोर्डमा छ । लगानी बोर्डले पीपीमा काम गर्नको लागि लगानीकर्ताको खोजी गरिरहेको छ । लगानी बोर्डले लगानी खोजेर कसलाई काम दिने भन्ने कुरा टुंगो लगाएपछि प्राविधिक रुपमा यो काम हेर भनेर हामी कहाँ आउला ।

० उपत्यकामा मेट्रो कुद्ने मार्ग भूमिगत हुने हो ?
–यहाँ ठूला जटिल प्राविधिक समस्याहरु छन् । विश्वका ठूला सहरहरुमा कुल क्षेत्रफलको १५ प्रतिशत यातायातको लागि छट्याइएको हुन्छ भने, हामी कहाँ काठमाडौंमा ५–६ प्रतिशत मात्रै सडकको लागि क्षेत्रफल छुट्टिएको छ । त्यो क्षेत्रफलका मुनिपट्टी विजुलीका तार, टेलिफोनका तार, ढलदेखि लिएर खानेपानीका पाइप एकै ठाउँमा कोचेर राखिएको छ । सडक माथिबाट आकाशे मार्ग बनाउनको लागि पीलरको फाउन्डेशन राख्नको लागि त्यही सडकको प्रयोग हुने भयो फेरि । त्यही सडकको प्रयोग गर्दा तारलगायतले जटिलता आउँछ । त्यही सडकमाथि यातायातका साधन लग्नु त्यति सहज छैन । निर्माण गर्न अतिनै कष्टपूर्ण हुन्छ । भएकै सडक व्यवस्थित गर्न नसकेर धुलाम्य काठमाडौंमा बस्न बाध्य छौँ । फेरि त्यही कार्य गर्नु जायज हुँदैन । काठमाडौंमा यदी रेलका कुरा गर्ने हो भने रेलको नामै नलिऔँ अब मेट्रोको कुरा गरौँ । काठमाडौंमा मेट्रो मात्रै सञ्चालन गर्न उपयुक्त हुन्छ । मेट्रोको लागि अण्डर ग्राउण्ड गर्ने हो ।

० अण्डर ग्राउण्ड भनेको ढलभन्दा मुनि जाने ?
–ढल, विजुलीका पाइपभन्दा ५०–६० मिटर तल जाने नि !

० त्यति गर्न सकिन्छ त ?
–सकिन्छ ।

० खर्च धान्न सकिन्छ ?
–खर्च केही बढ्ता लाग्ला । नसकिने भन्ने कुरा हुँदैन ।

० काठमाडौंमा मेट्रोको मात्रै सम्भावना छ भन्नु भो है तपाईले ?
–जटिलताका कारणले मेट्रो बनाउनु उपयुक्त हुन्छ ।
० अनि नेताहरुले भनेको जस्तो, चुच्चे रेल, झुण्ड्याउने रेल आउँदैन ?
–मैले तपाईलाई समस्याहरु बताए । समस्या हुँदाहुँदै पनि ल्याउँछौँ भने त आउला । ल्याउँछु भनेपछि आउला तर, कहिले आउला ? जुन् जटिलता मैले भने, सडक विस्तारको देखि उदाहरण दिए नि, नदीमा भेल आएको देख्दा देख्दै मस्यो भने कि पार गरिएला कि बगिएला । भनेको अर्थ जोखिम हुन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ