arrow

भन्सार कार्यालयमा राजश्व चुहावटमा कमी

logo
प्रदीप आचार्य,
प्रकाशित २०७४ माघ ९ मंगलबार
Department_Customs.jpg.jpeg

 बुटवल। भन्सार जाँचपासका लागि विकास गरेको प्रणाली एस्युकुडा वर्ड बेलहिया भन्सार कार्यालय रुपन्देहीमा लागू भएपछि राजश्व चुहावट कम भएको छ ।

जाँचपास प्रणालीलाई सूचना प्रविधिमा आधारित बनाउन दश महिना अघि भन्सार जाँचपासका लागि स्वचालित प्रणाली सञ्चालनमा ल्याइएको हो । यो प्रणाली लागू भएपछि काममा जवाबदेही, पारदर्शिता र राजश्व संकलनमा बृद्धि भएको बेलहिया भन्सार कार्यालयका प्रमुख भुपालराज शाक्यले जानकारी दिए ।

केन्द्रिय सर्भर काठमाडौंमा रहने र सबै ठाउँबाट अवलोकन गर्न मिल्ने भएपछि सूचना आदान प्रधान र भन्सारमा हुने अबैध कृयाकलापहरु कम भएको कार्यालयको दाबी छ ।  स्वचालित प्रणाली सञ्चालनका लागि दु्रत गतिको इन्टरनेटको आवश्यकता पर्दछ । तर भन्सार बिभागले इन्टरनेटमा सुधार नगर्दा बेलाबेलामा सर्भर डाउन हुँने र काममा अवरोध आउने गरेको भन्सार एजेण्ट संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले बताए ।

एस्युकुडा वर्डको प्रयोगबाट निकासी तथा पैठारीकर्ताले घरबाटै इन्टरनेटको माध्यमबाट भन्सार घोषणा गर्न तथा जाँचपास सम्बन्धी क्रियाकलाप गर्न सक्दछन् । उनीहरुले सम्बन्धित भन्सार कार्यालयमा डिजिटल प्रणाली मार्फत डिजिटल हस्ताक्षर गरी  मालवस्तुको घोषणा गर्न सक्ने, आवश्यक कागजातहरु स्क्यान गरी संलग्न गर्न सक्ने छन् ।
 यो प्रणालीले नेपालको भन्सार प्रशासनलाई कागजरहित भन्सारको रुपमा रुपान्तरण गर्न मद्दत पुगेको छ ।

जसबाट अन्तराष्ट्रिय व्यापारको लागत र समय घटी व्यापार सहजीकरणमा टेवा पुगेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७४।७५ मा ८१ अरव ४३ करोड ७७ लाख राजश्व संकलनको लक्ष्य राखेकोमा पुष मसान्तसम्म ३३ अरव चार करोड ९८ लाख राजश्व संकलन गरेको छ ।

यो राजश्व असुलि लक्ष्यको ८८ प्रतिशत हो । दैनिक चार सय देखि पाँच सयसम्म मालबाहक गाडि आउने यो नाकाबाट हरेक दिन १७ करोड बढी राजश्व संकलन हुँदै आएको छ ।    

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ