arrow

राष्ट्रिय सभा उम्मेदवारी दर्ता हुँदै, बिहान १० देखि अपरान्ह ४ बजेसम्मको समय

logo
प्रकाशित २०७४ माघ १० बुधबार

काठमाडौँ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सातवटै प्रदेशमा बुधबार उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगले उम्मेदवारी दर्ताको तयारी पूरा भइसकेको जनाएको छ । 

दलहरु अन्तिम तयारीमा रहेका छन् । 

आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि सबै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा ल्याएर काम थालेको हो । 

प्रदेश १ को विराटनगर, २ को जनकपुर, ३ को पाटन, ४ को पोखरा, ५ को दाङ, ६ को सुर्खेत र प्रदेश ७ को दिपायलमा निर्वाचन अधिकृतको कार्यालय खोलिएको हो । 

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बुधबार बिहान १० देखि अपरान्ह ४ बजेसम्म सम्बन्धित प्रदेशको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताको व्यवस्थापन मिलाइएको बताए । 

निर्वाचक मण्डलबाट एक प्रस्तावक र एक समर्थक लिएर योग्यता पुगेका जोसुकै व्यक्ति राष्ट्रिय सभा सदस्य उम्मेदवार हुन पाउने कानुनी प्रावधान छ । राष्ट्रिय सभा निर्वाचक मण्डलमा प्रदेशसभा सदस्य तथा स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख र उपप्रमुख छन् ।

प्रदेशसभा सदस्य ५ सय ५० र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष १ हजार ५ सय ६ समेत गरी कुल मतदाता २ हजार ५६ छन् । 

राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट ८ सदस्य चुनिने छन् । संविधानअनुसार उक्त संख्यामा कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यक तथा अन्य तीन जना हुनेछन् । 

राष्ट्रिय सभा सदस्यको निर्वाचनमा एकल संक्रमणीय तथा बहुमतीय दुवै प्रणाली अपनाइनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ