arrow

दुई तर्फी सिक्वाईन्स मिलाएर आर्थिक सल्लाहकारमा सुरज बैद्यको लविईङ

logo
अश्रु किरण,
प्रकाशित २०७४ माघ १० बुधबार
Suraj-Baidhya-copy.jpg

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज बैद्य अहिले सरकारको आर्थिक सल्लाहकारको लागि दौडधुपमा रहेको चर्चा चल्न थालेको छ। बाम गठन्धनको सरकार बन्ने निश्चित भईसकेको अवस्थामा प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा मनोनीत हुनको लागि बैद्यको दौडधुप सुरु भएको चर्चा चल्न थालेको हो।

एमाले निकट पूर्व अध्यक्षहरुलाई समेटेर पूर्वअध्यक्ष परिषद् गठन गरेका उनले परिषद्लाई भर्याङ बनाएर आर्थिक सल्लाहकारको बाटो तताएको आरोप पनि लाग्न थालेका छन्। उनको यसैको लागि भावी प्रधानमन्त्रीका सम्भावित उम्मेदवार केपी ओलीसँगको भेट समेत बढाएका छन्। उनी अहिले आफू खाँटी एमाले रहेको देखाउन तर्फ उद्दत रहेको पनि स्रोतले जनाएको छ।

बाम गठबन्धनलाई भारतसँग कुराकानी गराउनको लागि पुलको काम गरेको भनेर समेत नाम जोडिएका बैद्यलाई आर्थिक सल्लाहकार बनाउनको लागि भारतबाट समेत दबाब आउने देखिएको छ। अहिले नेपालका लागि भारतका राजदूत मञ्जिव पूरीकी धर्मपत्नी र बैद्यकी धर्म पत्नीभारतको एउटै कक्षामा पढ्ने साथी समेत रहेकोले त्यही माध्यमबाट बैद्यले बाम गठबन्धन र भारतको बीचमा सेतुको काम गरेको विषय यस अघि नै चर्चामा चलिरहेको थियो। 

यता पूर्व अध्यक्ष परिषद्को सहयोग र छिमेकी मुलुक भारतको समेत दबाब गरी दुबै सिक्वाईन्स मिलाएर अहिले बैद्य आफैं पनि सल्लाहकारका लागि लविईङमा लागेको चर्चा चल्न थालेको हो। कतिपयले अहिलेको चेम्बर र महासंघबीचको विवादलाई पनि यही विषयसँग जोडेर चर्चा गर्ने गरिएको छ। देउवा र आरजु राणा निकट मानिएका भवानी राणाले नेतृत्व गरेको महासंघलाई असहयोग गरेर खाँटी एमाले बन्ने दाउ पनि पूर्व अध्यक्ष परिषद्का सदस्यहरुको देखिन्छ । परिषद्मा खाँटी एमाले देखिन नचाहनेहरुलाई नराखिनुले यसलाई पुष्टि गरेको छ। 

गत महिना जुन दिन केपी ओली रसुवागढी पुगेका थिए। त्यसको दुई दिन अघि उनलाई भारतीय जनता पार्टीका महासचिवले निवास बालकोटमा नै गएर भेट गरेको समाचार यस अघि नै सार्वजनिक भएको थियो। यस अघि नै भारत सरकारको विदेश मन्त्रालयले नेपालमा बाम गठबन्धनको सरकारसँग मिलेर काम गर्न भारत तयार रहेको बताउँदा धेरैलाई भारतले फेरि नाटक गर्यो भन्ने आशंका भएको थियो। तर, त्यो अभिव्यक्ति नाटक नभई यथार्थ रहेको विश्वास पनि त्यो भेटमा ओलीलाई गराउने प्रयास भएको थियो। 

ओलीसँगको भेटका क्रममा भाजपा महासचिवले भारत जसरी पनि बाम गठबन्धनकै नेतृत्वमा सरकार बनाउनु पर्ने पक्षमा रहेको सन्देश सुनाएका थिए । तर, उनले ओलीकै नेतृत्व भारतले स्वीकार्ने कि नस्वीकार्ने भन्ने सवालमा खासै कुरा खोलेनन् । तर, भारत गठबन्धन नफुटी दुबैको सहमतिमा नै सरकार बनाउने पक्षमा रहेको सुनाएपछि ईश्वर पोखरेल लगायत आफ्ना भित्री घेराका सहयोगीहरुसँग छलफलको लागि ओली रसुवागढी पुगेका थिए। 

रसुवागढी नै किन रोजे त ओलीले भन्ने जिज्ञासामा उनी निकट स्रोतले भन्यो रसुवागढी पुग्दा जनतामा चिनियाँ सेन्टीमेन्ट बढेर जान्छ र राष्ट्रवाद पनि जागेर आउँछ। भारतीय महासचिवसँग भेटेको कुरालाई गुपचुप राख्नको लागि नै ओली आफ्ना सहयोगीहरुलाई लिएर रसुवा गढी पुगेका थिए। 

स्रोतका अनुसार अहिले भारत र बाम गठबन्धन र विशेष गरी ओलीसँगको पुलको काम नेपाल उद्योग वाणिज्य महासंघका एक पूर्व अध्यक्षले गरिरहेका छन्। ती अध्यक्षकी श्रीमती र अहिले नेपालका लागि भारतीय राजदूत मञ्जीव पुरीकी श्रीमती भारतमा अध्ययन गर्दाको एउटै क्लासमेट भएको नाताले त्यही सम्बन्ध बढ्दै जाँदा ती अध्यक्ष अहिले नेपालमा बाम गठबन्धन र भारतबीचको पुलको भूमिकामा छन्।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ